काठमाडौं । आम रूपमा बिजुलीका बल्वहरु धेरैमा डेढ दुई वर्ष टिक्छन् । तर यो दुनियाँमा एउटा यस्तो बल्ब पनि छ, जुन ११९ वर्षदेखि निरन्तर बलिरहेको छ । अहिलेसम्म यो बल्ब फ्युज भएको छैन ।
यो अनौठो बल्बलाई सेन्टेनियल भनेर चिन्ने गरिन्छ । क्यालिफोर्नियाको लिभरमोर शहरको दमकल केन्द्रमा राखिएको यो बल्बलाई शेल्भी इलेक्ट्रोनिक्स कम्पनीले निर्माण गरेको थियो ।
सन् १९०१ मा पहिलोपटक यो बत्ती बालिएको थियो । त्यसबेला देखि यो बल्ब बलिरहेको छ र फ्यूज पनि गएको छैन ।
तर सन् १९३७ मा बिजुलीको तार फेर्नका लागि पहिलोपटक यो बल्वलाई बन्द गरिएको थियो । तार फेरिसकेपछि यो बल्ब पुनः बालियो ।
त्यस्तै सन् २०१३ मा एक्कासि यो बल्ब आफैँ बल्न छाड्यो । धेरैले यो बल्व फ्युज गएको भन्ने ठाने । तर पछि चेकजाँच गर्दा बिजुलीको तारमा खराबी भएर बत्ती नबलेको पत्ता लाग्यो । अर्थात् यो ऐतिहासिक बल्बको फ्युज गएको थिएन ।
यो बल्बले सबैभन्दा धेरै टिक्ने बिजुलीको बल्वको रूपमा गिनिज बुकमा नाम समेत लेखाइसकेको छ ।
यो अद्वितीय बल्ब अमूल्य छ । त्यसैले सदैव सीसीटीभी क्यामराको निगरानीमा यसलाई राखिएको छ ।
चार वाट क्षमताको यो बल्ब चौबीसै घण्टा बलि नै रहन्छ । सन् २००१ मा यसले आफ्नो एक सयौँ जन्मदिन धुमधामसँग मनाएको थियो । त्यस क्रममा संगीत पार्टीको पनि आयोजना गरिएको थियो ।
यो बल्ब अहिले आकर्षणको केन्द्र बनेको छ र यसलाई हेर्नका लागि टाढा टाढाबाट मानिसहरु आउने गर्दछन् । कहिलेकाही त मानिसहरुको ठूलै भीड लाग्दछ, मानौँ त्यहाँ चर्चित म्युजियम नै छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया