काठमाडौं । कोेरोना भाइरसका कारण आयात, निर्यातमा समस्या भएर ग्यास अभाव हुन्छ भन्ने खबर मात्रै फैलिँदा पनि काठमाडौंका ग्यास डिपोहरुमा लाइन लाग्न थालेको छ । एकजनाले ५ वटासम्म ग्यास भराइरहेका छन् । पहुँच नहुने, समयमा डिपोमा नपुग्नेहरु त जिल्लै ।
यता नुन, चिनी लगायत खाद्य वस्तुको अवस्था पनि उस्तै छ । एउटै परिवारले १० पोकासम्म नुन भण्डारन गर्दा बाँकी ९ परिवारको खाना अलिनो रहन सक्छ भनेर सोचिँइदैन । हाम्रो उपभोक्ता चेतले अरुलाई जेसुकै होस् तर, आफू चाहिँ ‘सेफसाइड’मा रहनुपर्छ भन्ने सिकाउँछ ।
त्यसैले, अक्सर नेपाली बजारमा ‘अभाव’ आइपुग्नु अघि नै अभाव भइसक्छ । मानिसको चेतनाको अभावले गर्दा ।
एकातिर उपभोक्ता ‘मै खाऊँ, मै लाऊँ, सुखशयल वा मोज म गरुँ, म बाँचु, मै नाँचु अरु सब मरुन् दुर्बलहरु’ भन्ने होडबाजीमा लागिरहेका वेला अर्कोतिर व्यापारीको पनि छुट्टै मेला लागेको छ । नाफाको मेला । देशको सङ्कटलाई पैसा लुट्ने अवसरका रुपमा लिने व्यापारीहरुको प्रवृत्ति बुझ्न नाकाबन्दी र भूकम्पका घटना नै काफी छन् ।
बजारमा ‘स्वार्थ’को खेल चलिरहेका वेला एकजना यस्तो व्यक्ति छन् जसले आफ्नो घर कोरोना भाइरस संक्रमित वा संक्रमणको आशंकामा रहेकाहरुलाई राख्नलाई निशुल्क प्रदान गर्ने भएका छन् ।
हो, लालचन्द्र गौतमले काठमाडौंको कुलेश्वरस्थित आफ्नो ३ तले घर ‘क्वारेन्टाइन’का रुपमा प्रयोग गर्नलाई विना शुल्क उपलब्ध गराउने निर्णय गरेका छन् ।
उनले सरकार तथा गैरनाफामूलक संस्थाले आफ्नो घरलाई अस्थायी रुपमा अस्पतालका रुपमा परिणत गर्न चाहेको अवस्थामा पनि विना पैसा घर उपलब्ध गराउने समेत बताएका छन् ।
आफ्नो फेसबुक वालमार्फत् उनले यो जानकारी दिएका छन् ।
आफ्नो घरको तस्वीर पोस्ट गर्दै उनले लेखेका छन्, ‘यो हाम्रो कुलेश्वरमा भएको घर हो । हाल खाली छ र मर्मतसम्भार भइरहेको छ किनकी हामीले यसलाई बेच्न लागेका छौं । हामीले यसलाई कोरोना भाइरस विरुद्ध लड्न प्रयोग गर्ने निर्णय लियौं । यदि कोही नेपाली वा विदेशीले यसलाई आइसोलेसनका रुपमा प्रयोग गर्न चाहनुहुन्छ भने हामीले तपाइलाई यो घर निशुल्क उपलब्ध गराउन पाए अत्यन्तै खुशी हुनेछौं । घर ३ तलाको छ जसका २ वटा बेडरुम पूर्णरुपमा तयार छन् भने २ भान्सा कोठा, ३ वटा खाली बेडरुम सँगैै २ वटा बैठक कोठा पनि छन् । मलाई थाहा छ नेपाल सरकारको रातारात नयाँ अस्पताल बनाउने अवस्था छैन त्यसैले यदि नेपाल सरकार वा गैरनाफामूलक संस्थाले घरलाई अस्थायी अस्पतालको रुपमा परिणत गर्न चाहनुहुन्छ भने म यो घर विना पैसा दिन तयार छु । त्यस दौरान लाग्ने बिजुली, पानी लगायतको खर्च पनि म आफैले उठाउनेछु । नेपाल कोरोना भाइरस मुक्त भएपछि मात्रै यो घर किन्न इच्छुकलाई बेच्नेछु । सम्पर्क गर्न चाहनेले फेसबुक इनबक्समा मेसेज गर्नुहोला ।’
उनको यो पोस्टले फेसबुकमा खुब चर्चा कमाएको छ । पोस्टमा हजारौं लाइक छन् र यो हजारौं पटक शेयर भएको छ । उनलाई साथीभाइ तथा चिनजानमा रहेकाले मात्र नभएर अपरिचित व्यक्तिलेसमेत धन्यवाद दिइरहेका छन् ।
लाल चन्द्र गौतमको पाइला पछ्याउँदै अर्का व्यक्तिले समेत आफ्नो घरलाई ‘क्वारेन्टाइन’को रुपमा प्रयोग गर्न निशुल्क उपलब्ध गराउने निर्णय लिएका छन् । गोयल ग्रुप नेपालका कार्यकारी निर्देशक चिराग गोयलले सिफलस्थित आफ्नो खाली घर कोरोना विरुद्ध लड्न विना पैसा प्रदान गर्ने निर्णय गरेका हुन् ।
‘एक विदेशीले नेपालमा ‘आइसोलेसन’मा बस्न चाहेको तर, होटेलमा बस्नलाई पैसा नभएको र आइसोलेसनमा बस्नलाई कुनै ठाउँ नपाएको पोस्ट देखेपछि हामीले त्यस्ता व्यक्तिलाई क्वारेन्टाइन अवधि अर्थात् १४ दिनसम्म निशुल्क हाम्रो घरमा बस्न दिने निर्णय गरेका छौं,’ उनले आफ्नो फेसबुक वालमा लेखेका छन् ।
भलै नेपालमा कोरोना संक्रमणको कुनै घटना पुष्टि भएको छैन तर, विश्वका १ सय ६० वटा भन्दा बढी देशको सीमा नाघिसकेको यो महामारी नेपाल आउँदैन भन्न सकिने अवस्था छैन ।
यदि लाल चन्द्र र चिरागले फेसबुकमा लेखेको कुरा साँचो हो भने उनीहरुले चालेको कदम वास्तवमै प्रशंसनीय छ । र, यस कार्यमार्फत् उनीहरुले ठूलो परोपकार गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया