काठमाडौं – गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट फैलिएको कोरोना भाइरस ‘कोभिड १९’विश्वव्यापी महामारीको रुप लिएर फैलिरहेको छ । यता चीनमा कोरोना भाइरस ‘कोभिड–१९ नियन्त्रणोन्मुख छ भने युरोप र अमेरिकामा अझ आक्रामक रुपमा फैलिइरहेको छ ।
कोभिड–१९ अहिले विश्वका १६० भन्दा बढी देशमा फैलिइसकेको छ । बुधबार बिहानसम्म कोभिड–१९ को संक्रमणबाट ७ हजार ९ सय ८७ जनाको मृत्यु भइसकेको छ भने एक लाख ९८ हजार ४ सय २द्द जना संक्रमित भएका छन् । संक्रमितमध्ये करिब ८० हजार भने निको भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । निको हुनेहरुमा चिनियाँ नै धेरै रहेका छन् । पछिल्लो २४ घण्टामा चीनमा थप ११ जनाको मृत्यु भएको छ भने थप १३ जनामा संक्रमण देखिएको छ । बुधबार बिहानसम्म चीनमा ३ हजार २ सय ३७ को मृत्यु भएको छ भने ८० हजार ८ सय ९४ संक्रमित भएका छन् । चीनमा निको हुनेको संख्या करिब ६८ हजार रहेको छ ।
चीनले केही दिनअघि नै कोारोना महामारीतर्फउन्मुख भएको बताएको छ । युरोपेली मुलुक इटालीमा भने दिनप्रतिदिन संक्रमण फैलिइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३४५ जनाको मृत्यु भएको छ भने थप ३ हजार ५ सय २६ मा संक्रमण देखिएको छ ।
बुधबार बिहानसम्म इटालीमा मात्रै कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५ सय ३ पुगेको छ । त्यस्तै इटालीमा संक्रमितको संख्या ३१ हजार नाघेको छ ।
इटालीमा निको हुनेको संख्या भने करिब ३ हजार रहेको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रणका लागि चीनले एक विषेशज्ञ टोली इटाली पठाएको छ ।
त्यस्तै मंगलबार इटालीपछि स्पेनमा सबैभन्दा बढी १९१ जनाको मृत्यु भएको छ । थप एक हजार ८ सय ८४ मा संक्रमण देखिएको छ । बुधबार बिहानसम्म स्पेनमा मृतकको संख्या ५३३ पुगेको छ भने संक्रमितको संख्या ११ हजार ८ सयभन्दा बढी रहेको छ ।कोरोनाका कारण त्यहाँका सार्वजनिक यातायात, विद्यालय, सिनेमाघर, व्यायमशाला लगायत होटल रेष्टुरेन्टसमेत बन्द रहेको त्यँहाका अधिकारीहरुले जनाएका छन् ।
इरानमा पनि थप १३५ जनाको मृत्यु भएको छ भने थप एक हजार ७ सय ७८ जनामा संक्रमण देखिएको छ । इरानमा यो समाचार तयार पार्दासम्म ९८८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १६ हजार नाघेको छ ।
४ दिन अघि इटलीमा एकै दिन २ सय ५० जनाको मृत्यु भएको थियो जुन अहिलेसम्मकै उच्च हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा फ्रान्समा २७, अमेरिकामा २३, नेदरल्यान्ड्समा १९, बेलायतमा १६, जर्मनीमा ९, स्विजरल्यान्डमा ८, दक्षिण कोरियामा ६, क्यानडामा ४, मलेसिया, इजिप्ट, इन्डोनेसिया र सान मारिनोमा २–२ जना तथा अस्ट्रिया, स्विडेन, जापान, पाकिस्तान, पोल्यान्ड, इराक, भारत, लेबनान, टर्की, अल्जेरिया, मोरक्कको र युक्रेनमा एक–एक जनाको मृत्यु भएको छ । वेस्ट भर्जिनिया राज्यले मंगलबार पहिलो संक्रमण पुष्टि गरेसँगै अमेरिकाका ५० वटै राज्यमा कोभिड–१९ को संक्रमण देखिएको छ । मंगलबार वेस्ट भर्जिनियाका गभर्नर जिम जस्टिसले राज्यमा पहिलो संक्रमित भेटिएको पुष्टि गरेका थिए । बुधबार बिहानसम्म अमेरिकामा मृतकको संख्या १०९ पुगेको छ ।
संक्रमितको संख्या ६ हजार ४ सय ६८ पुगेको छ । अमेरिकामा मंगलबार मात्रै थप २३ जनाको मृत्यु भएको छ भने थप एक हजार ८ सय ५ जनामा संक्रमण देखिएको छ । कोरोना भइरसको संक्रमण बढ्दै गएपछि विद्यालयहरु बन्द गरिएको छ । सार्वजनिक पार्क खोलीएका छैनन् । धेरै मानिसहरु सेल्फ क्वारेन्टाईनमा बसेका छन् । _ एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया