काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले कालोबजारीविरुद्ध नेपाल प्रहरी कठोर भएर अगाडि बढ्ने बताएका छन् ।
महानगरीय प्रहरी वृत्त लैनचौरले आज आयोजना गरेको ‘अपराध नियन्त्रणमा स्थानीय प्रहरी र नागरिकको भूमिका’ विषयक अन्तर्किया कार्यक्रममा उनले कोभिड–१९ को त्रास देखाएर केही व्यापारीले कालोबजारी गरेको भन्दै त्यसका विरुद्ध नेपाल प्रहरी लाग्ने विश्वास व्यक्त गरेका हुन् ।
“विपद्का बेला सहयोगका साथ अगाडि बढ्नुपर्नेमा केही व्यवसायी र विचौलिया अत्यावश्यक सामग्रीलाई कृत्रिम अभाव खडा गर्न लागेका छन्, त्यस्ता व्यापारीविरुद्ध प्रहरीले निर्दयी भएर कारवाही अगाडि बढाउँछ”, डिआइजी पोखरेलले भने । एक नेपालीले अर्कौ नेपालीलाई ठग्ने प्रवृत्तिको अन्त्य गरिने उनको भनाइ थियो ।
उनले ठमेललाई शान्त र सुरक्षित बनाउन स्थानीय समुदायको सहकार्यमा प्रहरी अगाडि बढ्ने बताए । सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यलाई पूरा गर्न नेपाल प्रहरी लागिरहेको उनको भनाइ थियो । नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले अपराधमुक्त समाज निर्माणका लागि स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहेको बताए ।
काठमाडौं महानगरपालिका–१७ का वडाध्यक्ष नवीन मानन्धरले प्रहरीसँग सहकार्य गरेर समाजमा हुने अपराध नियन्त्रणका लागि स्थानीय सरकारले प्रहरीलाई सहयोग गर्ने विश्वास व्यक्त गरे । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष राजुमान डङ्गोल, समाजसेवी देवेन्द्र रिमाल, संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङलगायतले समाजमा हुने अपराध नियन्त्रणमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही अवसरमा अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति तथा सङ्घसंस्थालाई सम्मानसमेत गरिएको थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया