कोरोनाबाट बच्न सरकारको निर्णय : सिनेमा हल, जिम र डान्स बार बन्द गर्ने !

काठमाडौं – कोरोना भाइरस ‘कोभिड १९’ का कारण विश्व त्रसित छ । छिमेकी मूलुक चीनबाट गत डिसेम्बर अन्तिम साता फैलिएको कोरोना आजको दिनसम्म एक सय ६७ देशमा फैलिसकेको छ । नेपालमा भने फैलिएको छैन । एक जनामा दुई साताअघि कोरोना देखिएर उपचारपछि घर गइसकेका छन् । विश्व मानचित्रको नक्सामा नेपालमा हरियो रङ नै छ । यसको अर्थ हुन्छ संक्रमण फैलिएको छैन । अर्थात् सुरक्षित ।

निकै ढिलो गरी साबधानी अपनाएको आलोचना खेपेको सरकारले अहिले निकै होसियारी अपनाउदै रणनीतिक ढंगले देश र नागरिकलाई कोरोनामुक्त बनाउन लागेको देखिन्छ ।

यसैबीच सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णय गरेको छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले आज बुधबार ३० अप्रिलसम्मलाई बन्द गर्ने निर्णय गरेको हो ।

यस भाइरसको प्रकृति निकै संक्रमक भएका कारण हाच्छ्यु गर्दा, खोक्दा, श्वासप्रश्वास गर्दा सजिलै सर्ने भएकोले पनि निकै सचेतना अपनाउन जरुरी छ ।

सरकारले नागरिकलाई कामका बेला बाहेक भिडभाडमा नजान, घुमफिरको लागि यात्रा तय नगर्न तथा उपभोग्य वस्तुको खपत सन्तुलित र सावधानीपूर्वक गर्न भनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?