एसईई स्थगित भएर बसेका परीक्षार्थीलाई मनोविश्लेषकको सुझाव : यसरी पढौँ

काठमाडौं । यस वर्षको एसईई परीक्षा स्थगित भएको छ । कोरोना भाइरस(कोभिड १९)को सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बिहीवार हुने भनिएको परीक्षा स्थगित गरिएको हो ।

यसअघि बुधवार उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले विश्व विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय लिएतापनि एसईई भने सञ्चालन हुने जनाएको थियो । तर, समितिले बुधबार दिउँसो गरेको निर्णयलाई सच्याउँदै साँझ परीक्षा स्थगित गर्ने नयाँ निर्णय गरेको थियो ।

यो निर्णयका कारण फेरि एसईईको परीक्षा तयारी शुरु बाटै गर्नुपर्ने जसमा करोडौं खर्च हुने त निश्चित छ साथै विद्यालय, विद्यार्थी, अभिभावक, शिक्षक सबैमा एउटा अन्यौलता पनि पैदा गरिदिएको छ ।

स्थगित परीक्षा फेरि कहिले हुने भन्ने कुराको टुङ्गो लागिसकेको छैन । जसले गर्दा विद्यार्थीहरुको तयारीमा प्रत्यक्ष असर पर्ने भएकाले उनीहरुको मनोविज्ञानमा पनि अन्यौलता सिर्जना भइ ‘साइड इफेक्ट’ हुन सक्ने अनुमान गरिएको छ ।

परीक्षा स्थगित हुनुले दुर्गम भेगका विद्यार्थीहरुलाई झनै अप्ठेरोमा पारेको छ । १२ घण्टासम्म हिउँ पन्छाउँदै सदरमुकाम आइपुगेका परीक्षार्थीहरु थप अन्यौलता र भय बोकेर घर फर्किएका छन् । परीक्षा अवधिभरको लागि परीक्षा केन्द्र पायक पर्ने गरी कोठा भाडामा लिएर बस्नेहरुमा पनि घर फर्कने कि बस्ने अन्यौलता पैदा भएको छ । कतिले ऋण लिएर परीक्षा केन्द्रसम्मको यात्रा तय गरेका हुन्छन् । यस्तो अवस्थामा सरकारले हतारमा एकदिन अघि मात्रै लिएको परीक्षा स्थगनको निर्णयले प्रभाव पार्ने भयो नै ।

तर, यसका बावजुत महामारीको सम्भावित संक्रमणको जोखिमबाट बच्न गरिएको यस निर्णयमा साथ दिएर आफ्ना छोराछोरी र विद्यार्थीको मनोबल गिर्नबाट बचाउने जिम्मेवारी अभिभावक र शिक्षकको पनि हुन जान्छ ।

सामाजिक सञ्जालमा कतिपय विद्यालयका प्रधानाध्यापक, शिक्षकले समेत सरकारको निर्णयको खिल्ली उडाउँदै हलुका किसिमका पोस्टहरु गरेकोले विद्यार्थीहरुले परीक्षाको तयारी भन्दा पनि सरकार र उसको निर्णय नै भारी परेको अनुभूति गर्न सक्छन् । वा कोरोनाको महामारी फैलिसकेको हो कि भन्ने आशयका टिकाटिप्पणीले परीक्षाको दबावमा रहेका विद्यार्थीहरुमा भय समेत थपिएको नकार्न सकिन्न ।

कोरोनाको त्रासका बीच परीक्षा दिँदा विद्यार्थीको मनमा यसै पनि डर हुने नै थियो,’ मनोविश्लेषकहरु भन्छन्, ‘तर, तयारी पूरा गरेर परीक्षा दिन ठिक्क परेका विद्यार्थीहरु एकाएक परीक्षा रोकियो भनेको सुनेपछि केही हतोत्साहित पक्कै पनि हुन्छन् ।’
उनीहरु सुझाव दिनछन्, ‘यो समयलाई आक्रोश वा गुनासोमा बिताउने भन्दा पनि विद्यार्थीहरुले यसलाई अवसरका रुपमा सदुपयोग गर्न सक्नुपर्छ ।’

आखिर जे हुनु थियो भइहाल्यो कम्तीमा अबको समय खेर फाल्ने भन्दा पनि ‘रिभिजन’का लागि राम्ररी प्रयोग गर्न सकिने मनोविश्लेषक बताउँछन् ।

‘भीडभाडबाट टाढा रहने, सार्वजनिक स्थानमा अत्यावश्यक अवस्था बाहेक नजाने बरु छुटपुट पाठ दोहो¥याएर अध्ययन गर्ने, लेखेर तयारी गर्ने र सेल्फ क्वारेन्टाइनमा बसेर मज्जाले तयारी गर्न सकिन्छ ।’

विद्यार्थीले यसरी सदुपयोग गर्न सक्छन् यस समयलाई :

रिभिजन

प्राय विद्यार्थीहरुले यसवेलासम्म त सबै विषयका सबै पाठहरु राम्ररी पढिसकेका हुन्छन् । त्यसैले अबको समय भनेको ‘रिभिजन’का लागि उपयुक्त हुन्छ । मस्तिष्कलाई धेरै दबाव नदिइ बिहान, बेलुकाको समय आफूले पढिसकेका पाठहरुलाई फेरि सरसर्ती हेर्दा, पढ्दा पढेको कुरा बिर्सिइँदैन ।

पुराना प्रश्नपत्रको अध्ययन

परीक्षा तयारी गर्दा विद्यार्थीले सधैं ध्यानमा राख्नुपर्ने कुरा हो, पुराना प्रश्नपत्रको अध्ययन । यसले परीक्षाको फरम्याट कस्तो हुन्छ भन्ने मात्र प्रष्ट पार्दैन उत्तर कसरी दिने वा कस्ताकस्ता प्रश्नहरु बढी महत्वपूर्ण छन् भन्ने जान्न सहज हुन्छ । कुन प्रश्नलाई कति समय दिने भन्ने पनि यसले सहयोग पु याउँछ । यस्तै प्रत्येक समूहमा दिइएका कति प्रश्नमध्ये कतिवटा प्रश्न कति समयावधीमा हल गर्नुपर्ने र तिनका पूर्णाङ्क कति हुन् भन्ने बारे जानकारी हुन्छ । अबको समय विद्यार्थीले पुराना प्रश्न पत्रहरुलाई निश्चित समयमा हल गर्ने प्रयास गर्दै सदुपयोग गर्न सक्छन् ।

लेख्दै अध्ययन गर्ने

यदि पहिला लेखेर पढ्न भ्याइएको छैन भने अबको समय तपाइले आफ्नो लेखाइलाई सुधार्न पनि सदुपयोग गर्न सक्नुहुन्छ । उत्तरलाई आकर्षक बनाउने तरिका सिक्न सक्नुहुन्छ ।
पूरै पाठ कण्ठ गर्ने वा पाठ वाचन गर्ने शैली त्यति प्रभावकारी मानिँदैन । आफूले पढेको कुरा सम्झन वा बुझ्नका लागि लेख्ने विधि उपयुक्त हुन्छ । लेख्ने तरिका छिटो र सजिलो माध्यम हो स्मरण गर्नका लागि । पढ्दै गर्दा सँगसँगै लेख्ने ग¥यो भने लेखन गति पनि बढ्दछ ।
कक्षामा शिक्षकले पढाएको विषयलाई घरमा आएर राम्रोसँग अध्ययन गर्ने बानी विद्यार्थीका लागि उपलब्धिमूलक हुनसक्छ ।

अक्षर सुधार्ने मौका

यो समयलाई विद्यार्थीहरुले आफ्नो अक्षर र उत्तरको प्रस्तुतिकरणलाई सुधार्नमा सदुपयोग गर्न सक्छन् ।

थप ज्ञान बटुल्न सक्ने

यो समयलाई विद्यार्थीहरुले थप बाहिरी ज्ञान हासिल गर्नमा प्रयोग गर्न सक्छन् । किताबी ज्ञान मात्र होइन वास्तविक समाजको उदाहरण, तथ्याङ्क समावेश गर्दा उत्तर झन् आकर्षक र अर्थपूर्ण बन्छ ।

चार्ट र डायग्रामको प्रयोग

कुनै विषयवस्तु पढ्दा श्रव्यदृश्य सामग्रीले सम्झन निकै सहयोग पु¥याउँछ । यदि यस्तो उपकरण नभएको खण्डमा महत्वपूर्ण विषयलाई चार्ट वा डायग्राममा उतार्नुपर्छ ।

पर्याप्त सुत्ने

एसईई नजिकिँदै गर्दा कतिपय विद्यार्थीहरुले रातभरि पढेर निद्रा नपुगेको हुनसक्छ । तर, अब उनीहरले समयमै सुतेर, समयमै उठ्न सक्छन् ।

परीक्षाका नाममा निद्रा मारेर पढ्दा भोलिपल्ट दिमाग फ्रेस नहुने समस्या हुन्छ । यसले स्वास्थ्यमा पनि समस्या निम्त्याउन सक्छ । त्यसैले पर्याप्त सुत्नु राम्रो हुन्छ ।

स्वास्थ्यको ख्याल गर्ने

परीक्षाको तनाव, अनिन्द्रा, खानपानमा अनियमितताको कारण धेरै बिद्यार्थीलाई यसबेला स्वास्थ्य समस्या देखापर्न सक्छ । केही विद्यार्थीहरु परीक्षाको समयमा बिरामी परेर परिक्षा नै छुटेको समाचारहरु पनि हामीले सुनेका छौँ ।
तर, अब विद्यार्थीले आफ्नो स्वास्थ्यमा ध्यान दिने पर्याप्त समय पाउनेछन् ।

खानेकुरामा ध्यान दिने

परीक्षाको बेलामा ताजा खानेकुरा खाने, पर्याप्त पानी पिउने गर्नुपर्छ । किनभने शारीरिक तथा मानसिक रुपमा स्वास्थ्य भइयो भने नै पढेको कुरा मस्तिष्कले ग्रहण गर्छ । र, त्यसलाई आफूले सरल ढंगमा प्रस्तुत गर्न सकिन्छ ।

नियमित ब्रेक लिने

परीक्षा आयो भन्दैमा विद्यार्थीहरू निरन्तर पुस्तक र नोट बुकमा मात्र केन्द्रित हुनुहुँदैन । नियमित रुपमा ब्रेक लिनुपर्छ । रातमा पढ्दा सम्झन सजिलो हुने विद्यार्थीले दिनमा धेरै थकाइ मार्ने र दिनमा पढ्दा सम्झन सजिलो हुने विद्यार्थीले रातमा थकाइ मार्ने गर्नुपर्छ । जुन समयमा पढे पनि नियमित ब्रेक भने लिनुपर्छ ।

आफूले जानेको कुरा साथीहरुलाई भन्ने

भनाइ नै छ, विद्यार्थीलाई सिक्नको लागि पुस्तक अध्ययन गरेर भन्दा आफूले जानेको कुरा अरुलाई भन्दा बढी प्रभावकारी हुन्छ । त्यसैले साथीहरुलाई आफूले पढिरहेको विषयको प्रश्न आफैंलाई सोध्न लगाउनुपर्छ । यसो गर्दा सम्झन कठिन भएको विषय स्पष्ट हुने र परीक्षामा लेख्न अल्मलिने समस्याबाट मुक्ति पाइन्छ ।

सामान्य लाग्ने तर, अत्यन्त महत्त्वपूर्ण टिप्स

नियमित नुहाउने

प्रशस्त पानी पिउने

धेरै पिरो खानेकुरा सकेसम्म नखाने किनकी यसले मस्तिष्कलाई छिटो थकाउँछ

पढ्ने कोठा उज्यालो र सफा राख्ने

स्वच्छ हावामा हिँडडुल गर्ने

पढेको कुरालाई आफूलाई मनपर्ने गीतको संगीतमा ढालेर याद गर्ने

शब्दहरुलाई तस्वीर तथा दृश्यमा ढालेर पनि स्मरण गर्न सकिन्छ

***

यस्तो संवेदनशील समयमा परिवारले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । विशेष गरी अभिभावकले । जस्तै :

अध्ययनको वातावरण

परीक्षाको समय विद्यार्थीहरु मानसिक रुपले थकित हुन्छन् । उनीहरुमा परीक्षामा राम्रो अंक कसरी ल्याउने भन्ने चिन्ता हुन्छ । यस्तो बेला अभिभावकहरु घरमा झै–झगडा गर्छन् भने छोराछोरीको मन मस्तिष्कमा नकारात्मक प्रभाव पर्छ ।

झैझगडा मात्र होइन अभिभावकको हरेक नकारात्मक गतिविधिले अध्ययनमा जुटेका छोराछोरीमा गम्भीर असर पर्छ । त्यसैले अध्ययनको राम्रो वातावरण सिर्जना गरिदिनुपर्छ । राम्रो वातावरणका लागि शान्त ठाउँ भएर मात्र पुग्दैन, घरपरिवारको व्यवहार पनि आत्मीय र प्रेरणादायी हुन जरुरी छ । तर रिस डर धम्की देखाउनु कदापी हुँदैन ।

मनोविज्ञान बुझ्ने

हरेक बालबालिकाको मनोविज्ञान, क्षमता र रुचि फरक हुन्छ । अर्कातिर कक्षा १० मा पुगेका बालबालिकाको उमेरका कारण, शरीरमा हुने वृद्धि विकास, हर्मोनको कारण एवम् मनोविज्ञान फरक तरिकाको हुन्छ । त्यसैले अभिभावकले आफ्ना छोराछोरीको सोचाइ, व्यवहार मध्यनजर गर्दै त्यहीअनुसारको व्यवहार गर्नुपर्छ ।

मैत्रीपूर्ण व्यवहार

परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई सधैं नै असल साथीको खाँचो हुन्छ र त्यो अभाव अभिभावक स्वयंले पूरा गर्न सक्छन् । आफू कति कमजोर छु, कुन–कुन विषयमा कमजोर छु भन्ने जस्ता कुरा उनीहरु आफ्ना साथीलाई मात्र भन्न सक्छन् । शिक्षक वा अभिभावकका अगाडि डरले पनि यस्ता कुरा लुकाउँछन् । त्यसैले उनीहरुको कमजोरी थाहा पाउन उनीहरूसँग मित्रवत् व्यवहार गर्नुपर्छ ताकि उनीहरु आफ्नो कमजोरीका सम्बन्धमा सजिलै खुल्न सकून् । छोराछोरीको कमजोरी बुझेर सोहीअनुरूपको शिक्षाको प्रबन्ध गर्न सकिन्छ ।

कक्षा १० मा पुगेका छोराछोरीको उमेर भनेको सुन्दर देखिन खोज्ने, स्मार्ट बन्न खोज्ने उमेर हो । यसलाई अभिभावकले बुझेर हौसला र आवश्यक सल्लाह दिनुपर्दछ । परीक्षा र नतिजामा मात्र ध्यान दिने होइन, उनीहरुका इच्छा र स्वतन्त्रतालाई पनि ध्यान दिनु असल अभिभावकको गुण हो ।

शिक्षकको भूमिका

अभिभावकले शिक्षकको भूमिका खेल्नुपर्ने हुन्छ । छोराछोरीलाई अनुशासनमा बाँधेर, उनीहरूले नबुझेको कुरा आफूलाई आउँछ भने सहज रुपमा सिकाइदिनु अभिभावकको कर्तव्य हो ।

प्रेरणाको स्रोत

छोराछोरीका निम्ति प्रेरणादायी भूमिका सधै अभिभावकले नै निभाउनुपर्छ । प्रेरणाले छोराछोरीहरुमा नयाँ ऊर्जा थपिन्छ, केही गर्छु भन्ने जोस आउँछ । ‘तिमी परीक्षामा सफल हुन्छौ, तिमीले गरेको प्रयास राम्रो छ’ जस्ता प्रेरणादायी बोली व्यवहार उनीहरुमाथि झल्काइरहनुपर्छ । अध्ययनका क्रममा उनीहरूमा हीनताबोध सिर्जना हुन दिनु हुँदैन । उचित हौसला एवम् प्रेरणाको अभावमा पनि विद्यार्थीहरु कमजोर हुन्छन् ।

सहयोगी

अध्ययन गरिरहेको बेलामा अभिभावकले बारम्बार डिस्टर्व गर्नु हुँदैन । धेरै पढ्–पढ् भनेर दबाव दिँदा विद्यार्थीहरु निरास हुन सक्छन् । त्यसैले पनि उनीहरुको स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ ।

समय दिने

आजभोलिका अभिभावक प्राय व्यस्त हुन्छन् तर, प्रत्येक दिन केही समय छुट्ट्याएर छोराछोरीसँग संवाद गर्नुपर्छ । परीक्षाको तयारी केकस्तो छ भनेर बुझ्नुपर्छ ।

लोकपथबाट प्रकाशित यी समाचार पढ्नुभएको थियो ? पढ्नलाई हेडलाइनमा क्लिक गर्नुहोस् :

आमाबुबाको व्यस्तताले ‘आत्महत्या’ गर्न बाध्य बनाउँछ छोराछोरीलाई

पढाइमा किन रुचि छैन बालबालिकालाई ?

मोबाइल फोनको ‘वेभ’ले बच्चाहरुमा डरलाग्दो प्रभाव, होसियार ! अभिभावकले ध्यान दिनैपर्छ केही कुरा

बालबालिकालाई लोभ देखाएर काम गराउनु कतिको सही ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?