यो दृश्य काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कको हो ।
यहाँ सधैंजसो यात्रुहरुको चहलपहल भइरहन्छ । तर, आज सामान्य दिन भन्दा अलि बढी नै व्यस्त देखियो बसपार्क ।
यात्रुहरु प्राय सबै आफ्नो परिवारसँग थिए । स्कुल पढ्ने उमेरका केटाकेटीहरु आफ्ना अभिभावकसँग थिए । झोलाहरु पनि ठूला थिए उनीहरुका । निकै लामो बसाइका लागि गएजस्तो देखिन्थ्यो ।
अहिले काठमाडौंका प्राय स्कुलहरुको वार्षिक परीक्षा सकिसकेको छ । सरकारको निर्देशन अनुरुप एसईई पनि हिजो मात्रै स्थगित भएको छ । जसकारण उपत्यकाबाट आफ्नो गाउँ फर्किनेको सङ्ख्या वृद्धि भएको देखिन्छ ।
टिकट काउन्टरमा पनि खचाखच भीड लागेको छ । बसपार्कमा खटिएका प्रहरी हवल्दार रामसिंह धामीका अनुसार विगतको तुलनामा हिजो र आज बसको टिकट पाउन पनि मुस्किल भएको छ नयाँ बसपार्कमा ।
छिमेकी मुलुक चीनको वुहान सहरबाट अंग्रेजी वर्षको डिसेम्बर अन्तिम सातादेखि सुरु भएको कोरोना भाइरस ‘कोभिड १९’ को कारण विश्व त्रसित बनेको छ । विश्व स्वास्थ्य संगठनले यसलाई महामारी घोषणा गरेको छ । आक्रमक रुपमा फैलिएको यो भाइरसको विरुद्धको औषधी खोजी गरिरहेको भएतापनि सफलता हासील गर्न सकेको छैन ।
हालसम्म नेपालमा यो संक्रमण आइसकेको छैन । तर हिजोबाट सरकारले करिब सबै सार्वजनिक स्थल ‘लकडाउन’ गर्न निर्देशन दिएको छ । यसैबीच देशभरका मन्दिरहरुमा मानिसको चहलपहल नघटेको भन्दै समाचारहरु बाहिरीएपछि धेरै मठ मन्दिर शिवालय बन्द भएको छ । उता मनकामना केबलकार चैत मसान्तसम्म बन्द भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको भाइरसलाई मध्यनजर गर्दै बन्द गर्ने निर्णय गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ । गोरखाको मनकामना मन्दिर शनिबारदेखि लागू हुने गरी चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको छ । तर काठमाडौंको पशुपतिनाथ मन्दिरमा अझै पनि भक्तजनको भीड देख्न सकिन्छ । यहाँ भारतिय भक्तजनलाई समेत कुनै रोकतोक छैन ।
उता चितवनमा पनि हाटबजारहरु, सिनेमा हललगायत अन्य जमघटस्थलहरु पनि अर्को सूचना जारी नभएसम्म बन्द गर्न प्रशासनले निर्देशन दिएको छ ।
यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ८ हजार ९ सय ८३ जनाको मृत्यु भइसकेको छ । प्राप्त जानकारी अनुसार २ लाख २० हजार ३ सय १३ जनामा यसको संक्रमण देखिएको छ । ८५ हजार ७ सय ६९ जनामा संक्रमण भएर उपचारपछि निको भएर घर फर्किएका छन् । यो भाइरस १ सय ७६ देशमा फैलिएको छ । बुधबार मात्रै थप १० देशमा यो संक्रमण फैलिएको हो ।
उद्गमस्थल चीनमा नियन्त्रणउन्मुख भइरहेको भाइरस ‘कोभिड १९’ अहिले विश्वमै महामारी बनेको छ । महामारी घोषणा भएपछि विश्व दुनियाँ झनै डराएको छ । तर डराउनु भन्दापनि यस रोगसँग लड्न सचेतना र साबधानी अपनाउनुपर्छ ।
हालसम्म यो भाइरसका कारण सबैभन्दा बढी चीनका नागरिकले ज्यान गुमाएका छन् । चीनपछि इटली, इरान र स्पेनमा धेरैको मृत्यु भएको छ ।
यसैबीच विश्वका सबैजसो देशहरुले हवाई सेवा उद्द, सिमामा सिल गर्ने, आवतजावत बन्द गर्ने जस्ता उपायहरु अपनाइरहेको छ । विदेशमा अध्ययन वा कामको शिलशिलामा पुगेका केहि नेपालीमा पनि यसको संक्रमण भएको समाचार आएको थियो । कोरोना भाइरसको जोखिम विश्वव्यापी रुपमा बढेको छ । चीनले एक साताअघि नै यो नियन्त्रणउन्मुख भएको बताएतापनि ईटलीको मृत्युदर हेर्ने हो भने यो महामारीले कहिलेसम्म सताउने हो भन्ने अनुमान गर्न मुस्किल छ ।
यसैबीच विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण धेरै देशहरुले अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएसँगै हालसम्म सुरक्षित रहेको र अब कोरोना भित्रन नदिन भन्दै नेपालसरकारले कोरानाको संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध लगाएको छ । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउन प्रतिबन्ध लगाएको हो । यो प्रतिबन्ध २० मार्च अर्थात शुक्रबारबाट लागू हुनेछ र १५ अप्रिलसम्म कायम रहनेछ ।
उपप्रधान तथा रक्षामन्त्री एवं समितिका संयोजक ईश्वर पारेखलले आवश्यक पर्दा सरकारले लकडाउन पनि घोषणा गर्न सक्ने बताए ।
हिजोको बैठकले २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय गरेको छ । अत्यावश्यक काम बाहेक आवतजावत, हिँडडुल गर्न, सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरूमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक, सामाजिक क्षेत्र, स्थलमा २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको हो ।
बैठकले आजबाट हुने तालिका रहेको एसईई पनि स्थगित गरेको छ भने चैत महिनाभर विश्वविद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णय गरेको छ ।
निकै ढिलो गरी साबधानी अपनाएको आलोचना खेपेको नेपाल सरकारले अहिले निकै होसियारी अपनाउदै रणनीतिक ढंगले देश र नागरिकलाई कोरोनामुक्त बनाउन लागेको देखिन्छ ।
यस भाइरसको प्रकृति निकै संक्रामक भएका कारण हाच्छ्यु गर्दा, खोक्दा पनि सजिलै सर्छ । निकै सावधानी अपनाएर नागरिकको स्वास्थ्यउपचारमा खटिएका चिकित्सकलाई पनि संक्रमण भएको हुँदा निकै सावधानी अपनाउन जरुरी छ । सरकारले नागरिकलाई कामका बेला बाहेक भिडभाडमा नजान, घुमफिरको लागि यात्रा तय नगर्न तथा उपभोग्य वस्तुको खपत सन्तुलित गर्न भनिरहेको छ ।
बसपार्कमा जे देखियो….
तस्वीर : गोकुल पौडेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया