कोरोना सङ्क्रमणबाट बचाउन पार्टी पंक्तिलाई प्रचण्डको निर्देशन

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस सङ्क्रमणबाट बचाउन, चेतना अभिवृद्धि गर्न सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।

कोरोना सङ्क्रमणको जोखिम बढेकाले भेटघाट बन्द गरेका प्रचण्डले यो विषम परिस्थितीमा एकजुट भएर सहयोग गर्न पार्टि पंक्तिलाई निर्देशन दिएका हुन् ।

उनको सचिवालयले जारी गरेको पत्रमा “पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी महामारीका रुपमा देखापरेको कोरोना भाइरस कोविड–१९ को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र आम जनसमुदायमा अपील गर्नुभएको छ,” भनि लेखिएको छ ।

कोरोनाको सन्त्रास विश्वव्यापी बढिरहेको छ ।

अध्यक्ष प्रचण्डले कोरोना भाइरसको संक्रमण रोक्ने तयारीका लागि आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउन आफ्नो पहल बढाउन सरकारसँग आग्रह गर्दै राष्ट्रिय एकता र उच्च मनोबलका साथ यसको सामना गर्न सबैमा अनुरोध गरेका हुन् ।

विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म १३ हजार ६९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, ३ लाख ८२ हजार ५७ जनालाई संक्रमण भएको छ । ९५ हजार ८२८ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म १८८ देशमा संक्रमण फैलिएको छ । चीनको वुहान शहरबाट शुरु भएको भाइरसका कारण इटालीमा अहिलेसम्म४ हजार ८२५ जनाको मृत्यु भएको छ । चीनमा भने ३ हजार २६१ जनाको मृत्यु भएको छ । त्यस्तै, इरानमा १५ सय ५६ जनाको मृत्यु भएको छ । अमेरिकामा ३४८ र स्पेनमा १३ हजार ८१ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?