भोलि गाडीमा काठमाडौं बाहिर जाने योजनामा हुनुहुन्छ ? गाडी चल्दैन, यात्रा रद्ध गर्नुहोस्

काठमाडौं । सरकारले सोमबारदेखि उपत्यकाबाट बाहिरिने तथा भित्रिने कुनै पनि किसिमको यात्रुबाहक सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाएको छ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले लामो दूरीको यात्रुबाहक सवारी साधन सञ्चालन बन्द गरेको घोषणा गरेपनि अहिले सरकारले नाकाबाट समेत सवारी बाहिरिन नदिनेगरी निर्णय गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसी भीम ढकालले उपत्यकाबाट यात्रुबाहक सवारीलाई बाहिरिन तथा भित्रिन नदिने बताए । ‘भोलि यात्रुबाहक सवारीलाई राजधानीबाट बाहिरिन तथा भित्रिन दिइने छैन । संक्रमणको जोखिम न्यूनीकरणका लागि हामीले यसमा कडाइ गरेका छौं ।’

उनले चारपांग्रेसमेत नभएर दुई पांग्रे सवारीलाई समेत नाका कटेर जान नदिने बताए ।

राजधानीमा समेत सकेसम्म सवारी नचलाउन अनुरोध गर्दै उनले सर्वसाधारणलाई अत्यावश्यक काममा बाहेक अनावश्यक रुपमा घरबाहिर ननिस्किन अनुरोध गरे । सरकारले यो व्यवस्था केही समय लागू हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?