काठमाडौं । अमेरिकी डाक्टरहरुले सुघ्ने क्षमता र स्वाद लिने क्षमतामा कमी आउनुलाई पनि कोभिड – १९ को लक्षण मान्नुपर्ने बताएका छन् । उनीहरुले कोभिड – १९ को लक्षणमा यसलाई समावेश गर्न माग गरेका हुन् ।
अमेरिकी एकेडेमी अफ ओटोलेयरेन्गोलोजी ‘हेड एन्ड नेक सर्जरी’ का अनुसार एनोस्मियाका लक्षण अर्थात् सुघ्ने क्षमतामा कमी र स्वाद लिने क्षमतामा कमीलाई पनि कोरोनाको लक्षणका रुपमा लिनुपर्छ ।
‘अन्य लक्षण नदेखिएका तर एनोस्मियाका लक्षण मात्रै देखिएका बिरामीमा पनि अन्तत कोरोनाको संक्रमण भेटिएको छ,’ एकेडेमीले वेवसाइटमार्फत जारी गरेको विज्ञप्तीमा उल्लेख छ,‘यी लक्षण देखिएकाले सेल्फ–आइसोलेशनमा बस्नुपर्छ र उनीहरुको परीक्षण पनि हुनुपर्छ ।’
यसअघि नाक, कान, घाँटीका चिकित्सकहरुको बेलायतस्थित व्यवसाहिक संस्था इएनटी युकेले पनि एमोस्मियालाई नोबेले कोरोना भाइरसको लक्षण मान्नुपर्ने भन्दै विज्ञप्ती जारी गरेको थियो । सुघ्ने क्षमतामा कमी वा एनोस्मिया स्वासप्रश्वासको समस्यासँग जोडिएको चिकित्सकहरुले लामो समयदेखि बताउँदै आएका छन् । ‘दक्षिण कोरिया, चीन र इटलीमा कोभीड–१९ पुष्टि भएका ठूलो संख्याका बिरामीहरुमा एनोस्मिया पनि विकास भएको छ,’इएनटी युकेले जारी गरेको विज्ञप्तीमा उल्लेख छ,‘ जर्मनीमा संक्रमित ३ मध्ये २ जनामा एमोस्मिया देखिएको खबर आइरहेको छ ।’
सुघ्ने र स्वाद लिने समस्याको उपचार प्राय ओटोलेयरेन्गोलोजिस्टले गर्छन् । सुघ्ने समस्याको उपचारका लागि कान, नाक र घाँटीको परीक्षणसँगै मानिसको स्वास्थ्य इतिहास, सुघ्ने क्षमता परीक्षण लगायत धेरै काम गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया