कोरोना विशेष कोषमा एनसेलले दियो १० करोड

काठमाडौं । सरकारले स्थापना गरेको कोरोना भाइरस विशेष कोषमा एनसेलले १० करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

उक्त सहयोग कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुने जनाइएको छ ।

एनसेल प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयका सचिव नारायणप्रसाद बिँडारीलाई १० करोडको चेक हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव नारायणप्रसाद बिडारीले विश्व नै आक्रान्त रहेको उक्त महामारीको नियन्त्रणका लागि निजी क्षेत्रले ठुलो सहयोग तथा योगदान रहेको बताएका छन् ।

“एनसेल सधैं जिम्मेवार कर्पोरेट नागरिकको रूपमा रहिआएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत एनसेलले सरकारको कोभिड–१९ कोषमा गरेको १० करोड सहयोग यसकै निरन्तरता हो । यो सहयोगसँगै हामी सरकार र आमनागरिकसँग एक भई कोभिड–१९ विरुद्ध लड्न र संक्रमण फैलिन नदिन प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छौं । हामी विश्वस्त छौं, यो हाम्रो योगदानले कोभिड–१९ रोकथामका लागि स्वाथ्यकर्मीहरूलाई चाहिने अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरुको खरिदमा सरकारलाई सहयोग हुनेछ ।” एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले बताएका छन् ।

साथै विश्व नै महामारीको चपेटामा परेको यस अवस्थामा सेवाग्राहीहरूले देखाएको धैर्यको कदर गर्दै सेवाग्राहीहरूको अत्यावश्यक दूरसञ्चार सेवा प्रभावकारी रूपमा प्रदान गर्न आफूहरु सधैँ सक्रिय रहने एनसेलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?