स्वास्थ्य सामाग्री अनियमितताबारे कांग्रेस सभापति देउवाको प्रधानमन्त्रीलाई यस्तो आग्रह

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमणको उपचारका लागि ल्याइएको स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताबारे छानविन गर्न आग्रह गरेका छन् ।

सरकारले हालै चीनबाट स्वास्थ्य सामग्री खरिद गरेको थियो। सभापति देउवाले अत्यावश्यक स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्‍याउने कार्य भएको भन्दै संलग्नहरूलाई जिम्मेवारीमुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

शुक्रवार देउवाले विज्ञप्ति जारी गर्दै सभापति देउवाले विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरीतका कमसल सामग्री खरिदजस्ता आपत्तिजनक र लज्जास्पद भएको बताएका छन् । साथै घटना कुनै पनि दृष्टिले माफी योग्य नहुने भन्दै खरिदमा संलग्नहरूलाई जिम्मेवारीबाट मुक्त गरेर छानविन गर्न माग समेत गरेका छन् ।

उक्त कुरामा आपत्ति जनाउँदै देउवाले भनेका छन्, ‘अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शीता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिदजस्ता अत्यन्तै आपत्तिजनक र लज्जास्पद घटना कुनैपनि दृष्टिले माफी योग्य छैन,

देउवाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्वास्थ्य सामग्री खरिद प्रकरणको गहिरो अनुसन्धान गर्न र कारवाही प्रक्रिया अगाडि बढाउन जरूरी रहेको पनि उल्लेख गरेका छन्।

‘यो ढिलासुस्ती र अनियमिततामा सामेलहरुलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारवाहीको प्रक्रियालाई सघाउन म प्रधानमन्त्रीजीलाई आग्रह गर्दछु।’ देउवाले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?