विजयपुर दरवारको सीमाङकन र उत्खनन गर्न माग

सुनसरी–विजयपुर दरबार परिसरको सीमाङ्कन र उत्खनन कार्य तत्काल थाल्न सरोकारवालाहरूले माग गरेका छन् । ऐतिहासिक तथा पुरातात्विक महत्वको स्थल सङ्कटमा परेको भन्दै राज्यस्तरबाट दरबार परिसरको भौगोलिक सिमाङ्कनका लागि प्रारम्भिक कार्य अगाडि बढ्नुपर्ने उनीहरूको ठहर छ विजयपुर दरबार परिसर क्षेत्रभित्र खानेपानी आयोजनाले पानीट्याङ्की निर्माण गरेर ऐतिहासिक महत्वलाई विस्थापन गर्न लागेकोमा सामाजिक अगुवाहरूले चिन्ता समेत व्यक्त गरेका छन् । विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिले आइतबार आयोजना गरेको अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै इतिहासकार अर्जुनबाबु माबुहाङले पूर्वकै ठूलो इतिहास बोकेको स्थललाई संरक्षण गर्न तत्काल सीमाङ्कनसँगै उत्खनन कार्य गर्नुपर्ने धारणा राखेका छन् सोमबार भएको कार्यक्रममा लालीगुराँस नगरपालिकाका मेयर समेत रहेका माबुहाङले धरान उपमहानगरपालिका प्रमुखले स्थानीय सरकारको भूमिका निभाउन नसकेकोमा दुखेसो पोखे स्थानीय विजयपुरवासी फणिन्द्र श्रेष्ठले विजयपुरको धार्मिक, साँस्कृतिक र ऐतिहासिक तीनै पक्षलाई संरक्षण गर्न बृहत गुरूयोजना निर्माण गर्नुपर्ने प्रतिक्रिया दिए । उनले विजयपुरवासीका लागि स्थानीय निकायले खानेपानी वितरण गर्न वैकल्पिक स्थानमा संरचना निर्माण गर्ने आधार तय गर्नुपर्ने बताए । कार्यक्रममा संघीय लिम्बुवान मञ्चका सुनसरी अध्यक्ष अमर इजम, आदिवासी जनजाति महासंघका पूर्व नगर अध्यक्ष चित्र थापा मगर, नेवाः सभ्यता बचाऊ अभियानकी सदस्य रुक्साना कपाली, नेवाः देय दबुका मनोहर श्रेष्ठले धारणा राखेका थिए । संघर्ष समितिका संयोजक सुवासचन्द्र हुक्पा चोङवाङले विजयपुर दरबार परिसर संरक्षणका समितिले थप संवाद कार्यक्रमहरू आयोजना गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?