राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

काठमाडौं । सोमबार बसेको मन्त्रीपरिषदको बैंठकले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।

गत चैत ५ गते तत्कालिन गभर्नर चिरञ्जिवी नेपालको कार्यकाल सकिएसँगै डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले कायममुकायम गभर्नरको रुपमा रहेका थिए ।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा. राजन खनालको नाम सिफारिस गरेको थियो ।

समितिले गभर्नरका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, ब्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रको लब्धप्रतिष्ठित ब्यक्तिहरू मध्येबाट दुईजना छान्नु पर्ने कानुनी ब्यवस्था छ। एकजना भने राष्ट्र बैंकका डेपुटी गभर्नर मध्येबाट छान्नुपर्ने कानुनी ब्यवस्था छ। समितिले कुल तीन जनाको नाम सिफारिस गरेपछि सरकारले त्यसबाट एक जनालाई गभर्नर नियुक्त गर्नु पर्छ। त्यसै अनुसार महाप्रसाद अधिकारी गभर्नर नियुक्त भएका हुन्।

नवनियुक्त गभर्नर अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए । राष्ट्र बैंककै डेपुटी गभर्नरबाट अवकास पाएका अधिकारीसँग राष्ट्र बैंकमा ३ दशक काम गरेको अनुभव रहेको जनाइएको छ ।

यसअघि डा. चिरञ्जीवि नेपालसँगै गभर्नरमा सिफारिस भएका थिए । तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले उनलाई सिफारिस गरे पनि सुशील कोइराला नेतृत्वको सरकारले नेपाललाई गभर्नर नियुक्त गरेको थियो ।

अधिकारीले दोस्रो पटकमा गभर्नर बन्ने मौका पाएका छन् ।

अधिकारीले ‘बिजिनेस एड्मिनिस्ट्रेसन’ मा सन् १९८९ मा स्नातक गरेका छन् भने भारतबाट १९९३ मा चार्टर्ड एकाउन्टेन्टको डिग्री लिएका छन्।

अधिकारी सन् २०१० को डिसेम्बरमा डेपुटी गभर्नर नियुक्त भएका थिए। त्यहाँ पाँच बर्ष काम गरेर अवकाश भएपछि लगानी बोर्डको कार्यकारी अधिकृतमा नियुक्त भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?