फलेवास, पर्वत, २३ माघ – चालू आर्थिक वर्ष २०७४/७५ मा जिल्लामा कृषकलाई १३ हजार ३०० किलो मकैको बीउ वितरण गरिएको छ मकै लगाउने याम शुरु हुनै लाग्दा जिल्ला कृषि विकास कार्यालयले कृषकलाई मकैको बीउ वितरण गरेको हो । मकै उत्पादनको राम्रो सम्भावना भएका क्षेत्रका व्यावसायिक कृषकलाई बीउ वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै जोन कार्यक्रम लागू भएका क्षेत्रमा उक्त बीउ वितरण गरिएको हो । कृषकलाई ५० प्रतिशत अनुदानमा अरुण–२ र मनकामना तीन जातको मकैको बीउ वितरण गरिएको हो । अहिले बजारमा अरुण–२ प्रतिकिलो रु ६४ र मनकामना–३ को रु ६२ पर्ने भए पनि कृषकलाई अरुण–२ रु ३२ र मनकामना–३ रु ३१ मा उपलब्ध गराइएको रेग्मीले बताए मकै जोन कार्यक्रम लागू भएको फलेवास नगरपालिका तथा अन्य सातवटै स्थानीय तहमा कृषकको मागअनुसार बीउ वितरण गरिएको छ । जिल्लामा झण्डै १५ हजार हेक्टर क्षेत्रफलमा ३२ हजार मेट्रिक टन मकै उत्पादन भएको थियो । फलेवास नगरपालिकाको खानीगाउँ, मुडिकुवा, देवीस्थान, लिमिठाना, भँगरा, ठानामौला, कार्किनेटा, शंकरपोखरी, कुर्घा र पाङ्राङ, कुश्मा नगरपालिकाको ठूलीपोखरी, खौलालाँकुरी र आर्थर, मोदी गाउँपालिकाको देउपुर, देउराली, चित्रे, तिलाहार र भुक तथा बिहादी गाउँपालिकाको रानीपानी, बर्राचौर, वहाकी र शालिग्राममा मकै पर्याप्त मात्रामा उत्पादन हुँदै आएको छ जिल्लाबाट गत आवमा १५ टन मकैको बीउ बिक्री भएको थियो । फलेवासस्थित झकलक कृषि सहकारी संस्थामार्फत उक्त बीउ बिक्री गरिएको थियो । खानीगाउँ र देवीस्थानको १५ हेक्टरमा उत्पादन गरिएको मकैको बीउ ७५ प्रतिशत अनुदानमा कृषि विकास कार्यालयमार्फत वितरण गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया