अनिल थापाकाठमाडौं, २३ माघ – गत वर्षको तथ्याङ्क हेर्ने हो भने चलचित्र विकास बोर्डमा दर्ता भएर निर्माण भएका चलचित्रको संख्या अठासी छ । यस वर्षपनि हप्तैपिच्छे नेपाली चलचित्र रिलिज भएका छन् भने हप्तामा कुनै न कुनै चलचित्र निर्माणको घोषणा पनि गरिएका हुन्छन् । तर यी सबै चलचित्रको व्यापारिक आँकडा हेर्ने हो भने सिनेबजार चित्त बुझ्दो छैन । रिलिज गरिएकामध्ये थोरै चलचित्रले मात्र आफ्नो लगानी उठाएका छन् तर फिल्म निर्माणको क्रम कम हुने छनक भने देखिएको छैन नेपालमा रिलिज भएका चलचित्रमा १० प्रतिशत हाराहारीका चलचित्रले मात्र लगानी उठाइरहेका छन् । फिल्म निर्माणपछि प्रचार गरेरै भएपनि निर्माता तथा निर्देशकले दर्शकलाई हलसम्म तान्ने कोशिश त गर्छन् तर दर्शकले फिल्मलाई पत्याइदिन्नन् । त्यसो त राम्रा भनिएका चलचित्रले पनि दर्शक पाइरहेका छैनन् यतिबेला अझ भनौं, चलचित्रले दर्शकलाई नेपाली सिनेमा पनि राम्रा हुन्छन् है भनेर विश्वास दिलाउन सकेका छैनन् कुनै जमाना थियो, नेपाली फिल्मले सिनेमा घरमा एकछत्र राज गरेका थिए । तर विश्वव्यापीकरणसँगै प्रविधिले फिल्मको बजारलाई सबैको हात–हातमा ल्याइदिएपछि फिल्म हेर्ने दर्शकसँग विकल्पका रुपमा विदेशी फिल्म पनि आए दर्शकले अब जस्तो बन्यो, त्यसैलाई स्वीकारेर फिल्म हेर्नुपर्ने अवस्था रहेन । पछिल्ला केही वर्षमा परम्परागत शैलीभन्दा भिन्दै स्वाद र शैलीका चलचित्र निर्माण त गरिए । तर ती चलचित्रले आशातीत परिवर्तन ल्याउन सकेनन् । परिवर्तन हुन खोजेको शैलीको मुहानमै केन्द्रित रही अन्य फिल्म निर्माणको क्रम बढेकाले पनि चलचित्रको बजार फराकिलो हुन नसकेको कतिपय फिल्मकर्मीले बताउँदै आइरहेका छन्
नेपाली चलचित्र ‘स्तरीय’ नबन्नुको कारणलाई केहीले चलचित्र निर्माणको सूत्रलाई नै मुख्य कमजोरीका रुपमा हेर्ने गरेका छन् भने कतिपयले चलचित्रको ‘मुटु’ मानिने कथा कमजोर लेखिँदा फिल्म राम्रो बन्न नसकेको प्रतिक्रिया दिन्छन् ।
बायोपिक चलचित्र ‘तान्द्रो’ का निर्देशक साम्तेन भुटियाले एकपछि अर्को गर्दै चलचित्र निर्माण गर्दै थन्काउँदै आएका छन् । केही समयअघि रिलिज गरिएको उनको फिल्म ‘तान्द्रो’ ले हलबाट त खासै आम्दानी गर्न सकेन तर समीक्षकले भने चलचित्रको तारिफ गरे । आफूले केही फरक र मानवीय संवेदनालाई छुने खालका बनाउन खोज्ने बताउँदै आएका साम्तेन दर्शकलाई हलसम्म तान्न उत्तिकै गाह्रो रहेको बताउँछन् उनको बुझाइमा चलचित्रले दर्शक हलसम्म तान्न नसक्नुको कारण फिल्मको स्किृप्ट हो । ‘हामीले राम्रो स्किृप्ट लेख्न सकेका छैनौं, स्किृप्ट राम्रो लेख्न सकिएन भने फिल्म राम्रो बन्ने कुरै हुँदैन,’ साम्तेन थप्छन्, ‘अर्को कुरा त हामी महंगो बजेटसँग पनि डराउँछौं, धेरै कुरालाई सम्झौता गरेर फिल्म बनाउनुपर्छ, त्यसैले फिल्म सोचेजस्तो बन्दैन ।’त्यसो त राम्रा कथामा बनेका चलचित्रले पनि दर्शकको खासै साथ पाएका छैनन् । पछिल्लो आँकडालाई हेर्ने हो भने कमेडी जानराका फिल्मलाई जेनतेन लगानी उठाउन खासै गाह्रो छैन ‘सबै दर्शक एउटै उद्देश्यका लागि फिल्म हेर्नुहुन्न, कोही मनोरञ्जनका लागि फिल्म हेर्न हलसम्म पुग्नुहुन्छ, कोही फिल्म हेरेरै केही सिक्ने सोचले पनि हल जानुहुन्छ, मैले आफ्ना फिल्ममा भने रियालिटी अटाउन खोजेको हुन्छु ।’, भुटिया थप्छन् नेपाली सिनेमा क्षेत्र प्राविधिक रुपमा अपडेट हुँदै गएपनि भीएफएक्स र एनिमेसन भने गरिँदैन खासै । यसको कारण बजेटमै गएर हलो अड्कििन्छ ‘नेपालमा पनि राम्रो भीएफएक्स गर्नेहरु हुनुहुन्छ, उहाँहरुले हलिउडका फिल्ममा काम गर्नुहुन्छ तर हामीले भिएफएक्स गर्दा फिल्मको बजेट बढ्छ, अर्को वास्तविकता के छ भने अहिले नेपाली फिल्मको बजार पूर्ण रुपमा भर पर्न सकिने अवस्थामा पुगिसकेको छैन ।’, साम्तेन भन्छन् समीक्षक तथा निर्देशक दीपेन्द्र लामाको भनाइ पनि लगभग उस्तै छ । तर धेरै फिल्म फ्लप हुनुको मुख्य कारण स्किृप्ट र प्रचारको कमीले हो भन्ने धरणा राख्छन् दीपेन्द्र । ‘फिल्म नचल्नुको एउटा कारण त फिल्मको कथा र पटकथा नै हो, पटकथा मात्र राम्रो हुन सक्यो भने फिल्म धेरै गुणा राम्रो हुन्छ, टेक्नोलोजीका हिसाबले नेपाल त्यति पछि छैन’, लामा थप्छन्, ‘फिल्म लेख्ने कामलाई लेखकले सिरियस्ली लिएका छैनन्, फिल्म लेखनको पनि आफ्नै शैली र संरचना हुन्छ, कमैले मात्र त्यो कुरालाई बुझेका छन् ।’
फिल्म लेख्ने कामलाई लेखकले सिरियस्ली लिएका छैनन्, फिल्म लेखनको पनि आफ्नै शैली र संरचना हुन्छ, कमैले मात्र त्यो कुरालाई बुझेका छन् ।
कुनै पनि नेपाली चलचित्र कथा तथा पटकथाको ग्राफभित्र रहेर नबनेको लामा बताउँछन् । बाहिरतिर पटकथाको शिक्षण हुने गरेपनि नेपालमा भने फिल्मको पटकथा फरक विधा हो भन्ने पनि कमैले छुटयाउँछन् भन्छन् लामा । ‘अभिनय, निर्देशन, छायांकन पछिका कुरा हुन्, यहाँ त पटकथा नै गतिलो हुँदैन, फिल्म शुरु भएको पाँच मिनेटमै कथा शुरु हुनुपर्नेमा फिल्म आधा भइसक्दा बल्ल कथा शुरु हुन्छ’, दीपेन्द्र सुनाउँछन् तर केही चलचित्रले राम्रा भएर पनि दर्शक तान्न सकेका छैनन् । कथा बलिया छन् तर फिल्मले दर्शकलाई बाँधेर राख्न सक्दैनन् । फिल्म राम्रो बनाएर मात्र पुग्दैन, त्यसको प्रचार पनि गर्नुपर्छ भन्छन् लामा । ‘राम्रो फिल्म बनाएपछि दर्शकलाई त्यसको बारेमा जानकारी दिनैपर्छ ।’, दीपेन्द्र भन्छन् धेरैले फिल्मकै पटकथामा समस्या देखाइरहँदा लेखक तथा पटकथाकार अभिमन्यु निरवी भने फिल्म राम्रो नबन्नुको कारण कथा मात्र नभएको बताउँछन् । नेपाली चलचित्रमा कथा तथा पटकथा कमजोर छ भन्ने कुरालाई त स्वीर्काछन् तर राम्रो कथामा पनि स्तरीय फिल्म बन्न नसकेका उदाहरण दिँदै निरवीले कथा राम्रो भएका फिल्मको पनि मेकिङ सोचेजस्तो हुन नसकेको धारणा राख्छन् ‘फिल्मको कथामात्र राम्रो भएर हुँदैन, कथामाथि फिल्म बन्न सातदेखि आठवटा अरु ‘लेयर’ थपिनुपर्छ, राम्रा कथामा पनि झुर फिल्म बनेका छन्’, उनी थप्छन्, ‘त्यही कथा किताबमा राम्रो हुन्छ तर फिल्म बन्यो भने औसत बन्छ ।’कथा मात्रै कारण हैन त भन्छन् निरवी, तर फिल्म दुई घण्टा लामो बनाउन अनावश्यक रुपमा लम्बाउँदै लगेको पनि स्वीकार्छन् निरवी । ‘हामीले फिल्म दुई घण्टा लामो बनाउन अनावश्यक रुपमा तन्काइरहेका छौं, सबै कुराको सम्झौता गरेर फिल्म लेख्नुपर्ने अवस्था पनि छ ।’, उनी भन्छन्, ‘कथा एउटा कमजोर पक्ष होला नै तर राम्रा लेखिएका कथा पनि फिल्म बनेर आउँदा अर्कै भएर आउँछन्, हामीले एउटा सोचेर प्लट लेखेका हुन्छौं, फिल्म बनेर आउँदा त्यो अर्कै भइसकेको हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया