काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी पाएका तीन जना मन्त्रीसँग बुधबार मन्त्रालयमा छलफल गरेका छन । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नम्बर १ को सरकारसँग समन्वय गर्ने जिम्मेवारी पाएका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बसन्त नेम्वाङ, गण्डकी प्रदेशको सरकारसँग समन्वय गर्ने जिम्मेवारी पाएकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल र सुदूरपश्चिम प्रदेशको सरकारसँग समन्वयको जिम्मेवारी पाएकी खानेपानी तथा सरसफाइ मन्त्री विना मगरसँग मन्त्री ढकालले छलफल गरे ।
छलफलमा मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयले कोरोना रोकथाम र नियन्त्रणमा चालिरहेको कदम र गरिरहेको कामको विषयमा जानकारी गराए ।
मन्त्री ढकालले प्रदेश र जिल्लास्तरबाट माग बढेसँगै सरकारले कोरोना भाइरसको नमूना परीक्षणको क्षमता विस्तार गरी दोब्बर बनाउने काम अन्तिम अवस्थामा पुगेको बताए । हाल दैनिक मुलुकभर रहेका १० प्रयोगशाला (ल्याब) मा गरी तीन हजारको सङ्ख्यामा परीक्षण गर्ने क्षमता रहेकामा प्रदेशस्तरमा प्रयोगशालाको जडान, स्तरोन्नति तथा मेशिन थप गरी क्षमता विस्तार हुँदैछ ।
सम्बन्धित प्रदेशको समन्वय गर्ने जिम्मेवारी पाएका मन्त्रीहरूले स्वास्थ्य सामाग्री र अन्य तयारीको बारेमा प्रदेशगत रूपमा आफ्नो विचार राखे । केहीदिन अघि बसेको मन्त्रिपरिषद्को बैठकले उच्चस्तरीय समन्वय समितिमा नरहनु भएका मन्त्रीहरूलाइ प्रदेश सरकारसँग समन्व गर्ने जिम्मेवारी तोकेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया