काठमाडौँ, २३ माघ-राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माणका लागि भूकम्प प्रभावित जिल्लामा अनुदान वितरण गर्न थप रु ११ अर्बको अख्तियारी दिएको छ प्राधिकरणले आज संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइलाई अख्तियारी दिएको हो । भूकम्प अतिप्रभावित १४ र कम प्रभावित १८ जिल्लामा निजी आवास निर्माण उल्लेखनीय गतिमा बढिरहेको छ । निर्माणले गति लिएसँगै अनुदान रकमको माग पनि बढ्न सक्ने भएकाले प्राधिकरणले थप रकमको अख्तियारी दिएको हो जिल्लाबाट अनुदान मागको धेरै बढ्न सक्ने हुनाले थप रु पाँच अर्ब रकमान्तरका लागि अर्थ मन्त्रालयलाई आग्रह गरेको प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिए । निजी आवास पुनःनिर्माण गरिरहेका लाभग्राहीलाई किस्ताबापतको रकमका लागि कुनै समस्या नभएको उनले बताए । ‘‘घर निर्माणका लागि रकम अभाव नहोस् भनेर अग्रिम रुपमै प्रभावित जिल्लामा निकासा गर्न बजेटको अख्तियारी दिइएको हो’’, उनले भने जिल्लाबाट माग भएअनुसार रकम पठाइएकाले ढुक्क भएर निजी आवास निर्माणलाई अघि बढाउन लाभग्राहीलाई प्राधिकरणले आग्रह गरेको छ । पछिल्ला महिनामा भूकम्प प्रभावित ३२ वटै जिल्लामा निजी आवास निर्माणको क्रम तीव्र भएको छ । मंगलबार साँझ ५ बजेको तथ्यांकअनुसार दुई लाख ९१ हजार ८९५ घर निर्माण भइरहेका छन् । दोस्रो किस्ताका लागि रु दुई लाख २७ हजार ८५४ लाभग्राही प्रमाणीकरण भइसकेका छन् निजी आवास निर्माणका लागि विश्व बैंकले दिने थप रु ३० अर्ब ऋण सहयोगको यही माघ पहिलो साता विश्व बैंक र अर्थ मन्त्रालयबीच सम्झौता भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया