निर्देशकको कमजोर ‘क्याप्टेनशीप’

काठमाडौं – फिल्मको क्याप्टेन निर्देशक हुन् । निर्देशक नै कमजोर भए भने फिल्मको हालत के होला ? फिल्ममा गरिएको लगानी बालुवामा पानी हाले सरह हुन्छ । २०७६ सालमा लगभग यस्तै अवस्था रह्यो । कोरोनाको प्रकोपले वर्षको अन्त्य तिर फिल्म बजारलाई नराम्ररी थला पारिदियो । यद्यपि रजतपटमा पुराना निर्देशक भन्दा नयाँ निर्देशक धेरै देखिए ।

फिल्ममा घाटा भएर पुराना निर्देशक फर्कने नगरेको चर्चा पनि फिल्मीवृतमा चल्ने गर्दछ । यसवर्ष तीन दर्जन भन्दा बढी नयाँ निर्देशकले रजतपटमा पर्दापण गरे । आफूलाई रजतपटको बाघ मान्ने विराज भट्ट देखि सम्पादन र प्राविधिक कामको ज्ञान हाँसिल गरेका सौरभ चौधरीसम्मका निर्देशक डेब्यू निर्देशकको सूचीमा रहे ।

फिल्म दाल भात तरकारीबाट सुदन केसी, जाइराबाट आशुतोष श्रेष्ठ, पासवर्डबाट सम्राट बस्नेत र सरौतोबाट हरि हुमागाईंको डेब्यूलाई अपेक्षाका साथ हेरिएको थियो । तर उनीहरु माथि गरिएको भरोसा शुक्रबार पनि टिकेन । आफ्नो एक्शन साउथले समेत कपि गर्ने भनेर गफ दिएका विराज भट्टको फिल्म साङ्लोले माखो मार्न सकेन । अमेरिकादेखि पढेर आएको भनिएका विशाल सापकोटाको फिल्म सेल्फी किङ्गमा अभिनयमा प्रखर रहेको अभिनेता विपिन कार्कीको क्षमताको उपयोग गर्न नसकेको आरोप लाग्यो ।

पुराना निर्देशकको प्रभाव घट्दा नयाँ निर्देशकले गतिलो पारी खेल्न सकेनन् । प्रेमकथामा सफल फिल्म बनाउँदै आएका विकासराज आचार्यको शैली पनि असफल रह्यो । उनको फिल्म हजार जुनीसम्मलाई बजारबाट हजार उठाउन धौ–धौ प-यो । दशैँको छेकोमा आफ्नो फिल्म पर्दामा ल्याउने अशोक शर्माको आइडियाले पनि काम गरेन । उनको फिल्म रातो टीका निधारमाले उनकै सुपुत्र अंकित शर्मालाई दमदार डेब्यू गराउन सकेन ।

मह जोडी र किरण केसीको छत्रछायाँ रहेको फिल्म दाल भात तरकारी स्वादिलो बन्न सकेन । मिलन चाम्सको वीरविक्रम २ ले पनि दर्शक रिझाउन सकेन ।

हेमराज विसीको निर्देशन रहेको फिल्म घामड शेरेमा ५ जना व्यवसायिक फिल्म निर्देशक जोडिएका थिए । फिल्मका हेमराजको साथमा निर्देशक निश्चल बस्नेत फिल्मका मुख्य कलाकारका रुपमा, अर्का निर्देशक सुरेन्द्र पौडेल सम्पादकको रुपमा, अर्का निर्देशक प्रचण्डमान श्रेष्ठ फिल्मको वितरकको रुपमा र अर्का निर्देशक सिमोश सुनुवार फिल्मको निर्माताको रुपमा रहेका थिए । तर ५ निर्देशकको बल पनि खेर गयो ।

कबड्डी कबड्डी कबड्डीबाट निर्देशनमा तारिफ बटुलेका रामबाबु गुरुङले पनि सेन्टी भाइरसबाट आलोचना खेपे । नयाँ निर्देशकमध्ये सौरभ चौधरीले लभ डायरिजबाट केही हदसम्म तारिफ बटुले ।

पुराना र स्थापित निर्देशकले आफ्नो शाख जोगाउन हम्मे हम्मे पर्दा र नयाँ निर्देशकको उपस्थिति पनि जबरजस्त नहुँदा फिल्मको हालत दयनीय अवस्थामा पुगेको छ । २०७६ मा सफलताको बाटोमा रहेका निर्देशकहरु दीपाश्री निरौला र झरना थापाको कुनै फिल्म आएन । प्रदीप भट्टराईले जात्रै जात्राको सफलता पश्चात् रजतपटमा ह्याट्रिक गरे । दीपकराज एण्ड कम्पनीको सहकार्यमा दीपेन्द्र लामा सफल देखिए ।

समय समयमा फिल्मको समीक्षा गरेकै कारण समीक्षक माथि खनिने र फिल्मको लेखक नै स्तरीय नभएको आरोप लगाउने फिल्मको क्याप्टेन निर्देशकको आत्मरतीमा रमाउने प्रवृतिमा सुधार नआएसम्म फिल्म क्षेत्रले फड्को मार्ने छैन ।

यसअघि लोकपथमा प्रकाशित यो खबर पढ्न छुटाउनु त भएन ?

वर्ष २०७६ : स्टारडम हारेको वर्ष !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?