प्रधानमन्त्रीसँग गगन थापाको आग्रह : ‘बोलाउनुस् मिलेर मिलेर काम गरौँ’ !

काठमाडौं । पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता गगन थापाले हिडेर घर जाँदै गरेका मानिसहरुको उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन् ।

दिनहुँ राजधानी तथा देशका विभिन्न ठाँउबाट हिडेर आफ्ना घर गइरहेका मानिसहरु देख्दा कस्तो महसुस हुन्छ भन्दै प्रधानमन्त्रीसँग प्रश्न समेत गरेका छन् ।

दिनहुँ काँधमा बच्चा र झोला बोकेर हिडेका मानिसहरुको केही व्यवस्थापन हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै आफूलाई उनीहरुको प्रतिनिधी भन्न पनि लाज लागेको बताएका छन् । ती मानिसहरुलाई यस्तो हालतमा छोडेर आफूहरु जोगिनुको अर्थ नरहेको धारण समेत व्यक्त गरेका छन् । यसैक्रममा नेता थापाले भनेका छन्, “मलाइ त म यिनको प्रतिनिधि हो भन्ने सोच्दा लज्जाबोध हुन्छ।यस्तै हालमा यिनलाई छाडेर हामी जोगिनुको के अर्थ !”

यतिबेला लकडाउनको कारण धेरै मानिसहरु समस्यामा परिरहेका छन् । भएका उद्योग धन्दा र कलकारखाना बन्द छन् । जसका कारण दैनिक ज्यालादारी गर्ने मजदुरहरु त्यसबाट प्रभावित भएका छन् । लकडाउनबाट निम्याएको समस्याको कारण आफु रहेको ठाँउबाट हिडेर घर जान बाध्य छन् ।

यसरी समस्यामा परेका मानिसहरुको व्यवस्थापनका लागि धेरै उपाय रहेको नेता थापाले बताएका छन् । साथै उनीहरुको व्यवस्थापनको लागि सरकारसँग मिलेर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

उनले भनेका छन्, “केही नगर्ने हो भने यिनको आँसुले पोल्नेछ।यिनको व्यवस्थापनका उपाय छन्।हामी छलफल गर्न चाहन्छौं।बोलाउनुस,मिलेर काम गरौं।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?