तीन समिक्षकको नजरमा वर्ष २०७६ को उत्कृष्ट फिल्म

दिपेन्द्र अधिकारी- काठमाडौं  – फिल्मको बारेमा चिरफार गर्ने फिल्मका सर्जन हुन्, समीक्षक । बेला बेलामा समीक्षा निक्ष्पक्ष नभएको भन्दै आलोचना पनि हुने गर्दछ । फिल्मका विकिध पक्षबारे चिरफार गर्ने काममा समीक्षक व्यस्त रहन्छन् । २०७६ मा कुल ५५ वटा फिल्म प्रदर्शनमा आए । तुलनात्मक रुपमा विगतको भन्दा आधा कम संख्या हो यो । रिलिज डेट तय भइसकेका फिल्महरु पनि कोरोनाको कारण पछि हट्नु पर्‍यो ।

फिल्मको कारोबार त्यती उत्साहजनक रहेन । विगतकै अंकलाई मात्र पछ्याउन सक्यो । फिल्मको स्तर औसतभन्दा माथि उक्लन नसकेको र समग्रमा २०७६ साल नेपाली फिल्मका लागि फलदायी मान्न नसकिने समीक्षक शिव मुखियाको मत छ ।
प्रदर्शनमा आएका फिल्ममध्ये अधिकांशको व्यापार मात्र चौपट भएन, स्तर पनि खस्कियो । त्यसमध्ये पनि केही फिल्मले आफ्नो नाक र शाख जोगाउन सक्यो ।

नेपाली चलचित्रका लागि यो बर्ष कस्तो रह्यो भन्ने प्रश्नलाई समीक्षक मुखियाले तीन वटा कुरामा विभाजित गरेर मूल्यांकन गरेका छन् । पहिलो, फिल्मको प्रदर्शनको संख्या । दोस्रो, फिल्मको कारोबार र तेस्रो फिल्मको गुणस्तर ।

शिव मुखिया–फिल्म समीक्षक

१. आमा
कन्टेन्ट र क्राफ्टको वहस भइरहेको नेपाली चलचित्रका लागि ‘आमा’ एक उदाहरण हो । निर्देशक दीपेन्द्र के खनालले यसलाई बजारको मुख हेरेर भन्दा पनि आफ्नो हृदय छामेर बनाएका छन् । यो एक फरक अभ्यास थियो ।

२. जात्रै जात्रा
जात्राकै सिक्वेलको रुपमा आएको ‘जात्रै जात्रा’ सुरुचीपूर्ण हास्य–चेतसहितको चलचित्र थियो । परिस्थिती र पात्रको चरित्र निर्माणबाट चलचित्रलाई मनोरञ्जनात्मक बनाइएको छ । चलचित्र हेरिरहँदा दर्शकको ध्यान अन्यत्र मोडिदैन ।

३. छ माया छपक्कै
कन्टेन्टको हिसाबले बलियो चलचित्र हो यो । प्राकृतिक स्रोतमाथि स्थानियको अधिकार र त्यसमाथि चल्ने राजनीतिक दाउपेचको गहकिलो मुद्दा छ यसमा । गंभीर विषयबस्तुलाई मनोरञ्जनात्मक ढंगले पेश गरिएको छ ।

४. कबड्डी कबड्डी कबड्डी
यसवर्ष प्रदर्शित चलचित्रमध्ये कवड्डी कवड्डी कवड्डी पनि हेर्नलायक रह्यो, भलै कवड्डी जति दमदार नभएपनि ।
(मुखियाले ४ फिल्मको सूचीमात्र उल्लेख गर्न चाहेका छन्)
त्यस्तै लेखक तथा समीक्षक सामीप्यराज तिमल्सेनाले फिल्मको गुणस्तर र प्रस्तुतिकरणका आधारमा वर्षका उत्कृष्ट ५ फिल्महरुकोछनोट गरेका छन् ।

सामीप्यराज तिमल्सेना–समीक्षक/लेखक

१. आमा
आमा र सन्तानलाई केन्द्रमा राखेर गरिएको कथा वाचनले वैदेशिक रोजगार , बाँझोपन र अन्तरजातीय विवाहको संकटलाई इमान्दार तरिकाले प्रस्तुत गरेको छ । पछिल्लो समय नेपाली समाजमा आएको परिवर्तनले कसैलाई धेरै असर गरेको छ भने ती आमाबाबु नै हुन् । जीवनका आवश्यकता र महत्वाकांक्षा पूरा गर्ने मोहमा नेपालमा यस्तो एउटा परिवार पाउन मुश्किल छ, जसका सन्तान परदेशिएका नहून् । नेपाली समाजको यो कठोर यथार्थलाई फिल्मले सूक्ष्म रूपमा अभिव्यक्त गरेको छ । सतहमा हेर्दा फिल्म तीन आमाको संवेदनामा केन्द्रितजस्तो लागे पनि यसले सन्तानको आश गर्दागर्दै प्राण त्याग्न बाध्य हुने आमाबाउको नियतिलाई पनि संकेत गरेको छ । दीपेन्द्र के खनाल लिखित तथा निर्दे्शित यो फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त र सरिता गिरीले गज्जब अभिनय गरेका छन् ।

२. जात्रै जात्रा
चरित्रलाई पर्दामा दुःख दिएर दर्शक हँसाउने चार्ली च्याप्लिनका फिल्मको विशेषता थियो । प्रदीप भट्टराईले चार्ली च्याप्लिनको यही शैली अंगीकार गरेर जात्रा बनाएका थिए । जात्रै जात्रामा पनि उनले यो शैली छाडेका छैनन् । मुख्य पात्रको संकटसँगै दर्शक फिल्मभरि हाँसिरहन्छन् । यो विशुद्ध व्यवसायिक फिल्म हो । तर, नेपाली फिल्मलाई चाहिएको यत्तिकै व्यवसायिक फिल्म हो । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको यो फिल्ममा पनि बिपिन कार्कीले उम्दा काम गरेका छन् ।

३. छ माया छपक्कै
दीपकराज गिरी, दीपा श्री निरौला, केदार घिमिरे, जितु नेपालले कमेडीमा आफ्नै शैली निर्माण गरेका छन् । गाईजात्राको पृष्ठभूमिबाट आएका उनीहरुको फिल्ममा यसको गन्ध जताजतै देखिन्छ । तर, पहिला गाइजात्रा रुचाए झैं उनीहरुका फिल्म पनि रुचाउने ठूलो जमात छ । तर, छ माया छपक्कै उनीहरुले बनाएको पहिलाको फिल्मभन्दा थोरै ट्रयाकमा देखिन्छ । दीपेन्द्र लामाको निर्देशन रहेको यो फिल्ममा पानी र राजनीतिको समानान्तर कथा देख्न सकिन्छ ।

४. घामड शेरे
अष्टे«लियामा धेरै वर्ष पहिले भगवानमाथि मुद्दा हाल्ने विषयमा फिल्म बनेको थियो जसको नाम थियो, ‘दि म्यान हु सुयुड गड’ । यही कथामा थपथाप गरेर बलिउडले अल्लि अघि ‘ओ माइ गड’ बनाएको थियो । घामड शेरेको कथा पनि यस्तै छ । खोला किनारको जग्गा वर्षे भेलले बगाएपछि मुख्य पात्रले खोलालाई मुद्धा हाल्छ र एकपछि अर्को झन्झटमा फस्दै जान्छ । घामड शेरेको कथा रोचक थियो तर प्रस्तुति सोही अनुरुप हुन सकेन । तर, यो साल रिलिज भएका धेरै फिल्मभन्दा विषयका हिसाबले यो नयाँ लाग्छ ।

५. कबड्डी कबड्डी कबड्डी
पहिलो र दोस्रो शृंखलाको तुलनामा यो शृंखला धेरै हिसाबले कमजोर छ तर पनि काजीको चरित्र हाम्रो मनमा यसरी घुसेको छ कि यसले जे गरे पनि हामीलाई माया लाग्छ । यो भागमा पनि काजीको चरित्रमा अलि बढी काम भएको छ । उमेर ढल्कँदै गएको काजी पहिलो जस्तो आक्रामक छैन । बुझ्झकी हुँदै गएको छ । अरु कुरा ऐजन ऐजन भए पनि काजीको चरित्रले यो फिल्मको साख बचाएको छ ।
उता समीक्षक मनोज पण्डितका अनुसार २०७६ मा पनि नेपाली फिल्मले आफ्नो स्तरवृद्धि हुन सकेको छैन ।

मनोज पण्डित–समीक्षक-निर्देशक
१. जात्रै जात्रा
सहभागिताको हिसावले फिल्मले आफ्नो तत्वलाई केही हदसम्म राम्रो तरिकाले संयोजन गरेको छ । तर, पुरानै फर्मुलालाई दोहो-याएको छ, गा्रमाटिकल्ली र टेक्निकल्ली मिलेको फिल्म हो । अहिलेको समय सान्र्दभिकतालाई प्रतिनिधित्व गरेको जस्तो देखिदैन ।
२. आमा
संवेदनशीलताको हिसावले ७६ सालमा रिलिज भएका फिल्महरुमा यो शक्तिशाली फिल्म हो । संवेदनशीलताको हिसावले शक्तिशाली पात्र र चरित्रको गा्रेथ छैन, सेटिङचाँही शक्तिशाली छ । कथाको निर्माण कमजोर छ । धेरै कुराहरु पूर्वानुमान गर्न सकिन्छ ।

३. सेल्फी किङ्ग
पात्रको केन्द्रीयतामा इमानदारी पूर्व प्रयत्न भएको छ । तर, फिल्मको कथा पहिलो खण्डमा जहाँ छ दोस्रो खण्डमा पनि त्यहीँ छ । धेरै कुराहरु पूर्वानुमान गर्न सकिन्छ । कथाको विकास नभएपछि स्थिर छ । तर, कँही कतै संवेदनाको हिसावले साना–साना कुरालाई पनि देखाउने कोशिश भएको छ, त्यो चाँही यो फिल्मको राम्रो प्रयास हो । फिल्मको कथा संरचना कमजोर छ ।

४. आप्पा
सम्बन्धको ,संवेदनशीलतनमा संघर्षको ध्यानाकर्षण देखिन्छ । सम्बन्धको निर्माण चाँही भएको छ तर, त्यसको गहिराई त्यसको विकास व्यवस्थित हुन सकेको छैन । कथालाई पूर्ण गर्ने तर्फ भन्दा पनि ध्यानाकर्षकण अर्कै तर्फ देखिन्छ ।

५ .घामड शेरे
शक्ति र सिस्टम विरुद्ध एक सामान्य पात्रले उठाएको आवाजको प्रयत्न र अहिलेको समयमा सान्र्दभिकता भएको । कथा संरचना कमजोर छ । समस्यालई स्थापना ग¥यो र बीचमा छोडेर अन्मिमा आएर मिलाउने काम भएको छ । कथा उठाएर ध्यानाकर्षण गराउने भन्दा पनि मिलाउने र फ्युजन गराउने काम भएको छ । फ्युजन कमजोर रुपमा नभएको भए फिल्मको संभावना थियो ।

यसअघि लोकपथमा प्रकाशित समाचार

वर्ष २०७६ : स्टारडम हारेको वर्ष ! 

निर्देशकको कमजोर ‘क्याप्टेनशीप’

बलिउडका यी १० अभिनेताले एउटा फिल्मबाट कति लिन्छन् पारिश्रमिक ? 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?