प्योङयाङ, २५ माघ–उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी किम यो–जोङले दक्षिण कोरियामा फेब्रअरी ९देखि सुरु हुन लागेको विन्टर ओलम्पिकको उद्घाटन समारोहमा सहभागिता जनाउने भएकी छन् दक्षिण कोरियाली मन्त्रिहरुले शुक्रबार प्योङचाङमा सुरु हुने ओलम्पिकको उद्घाटन समारोहमा सहभागिता जनाउने दाबी गरेका छन् उत्तर कोरियाली राजनीतिमा चर्चामा रहेकी किम यो–जोङलाई गत वर्षमात्रै सत्तारुढ वर्कर्स पार्टीको पोलिटब्युरो सदस्यमा चयन गरिएको थियो । यदि उनी कार्यक्रममा सहभागी हुन दक्षिण कोरिया आएमा किम परिवारबाट सीमा पार गरी दक्षिण कोरिया जाने पहिलो सदस्य समेत हुनेछिन् उद्घाटन समारोहमा दुवै कोरियाले एउटै झण्डामुनी संयुक्त मार्चपास गर्नेछन् । उत्तर कोरियाको यो ओलम्पिकमा सहभागिता दुई कोरियाबीच लामो समयदेखि रहँदै आएको तनावपूर्ण सम्बन्धलाई मित्रतामा परिणत गर्ने अवसरका रुपमा हेरिएको छ । तर अमेरिका, जापान र अन्य राष्ट्रले भने उत्तर कोरियाले यो खेलकुदलाई प्रोपोगाण्डाका लागि प्रयोग गर्न खोजेको आरोप लगाएका छन् सन् १९८७ मा जन्मिएकी किम यो–जोङ तत्कालीन उत्तर कोरियाली नेता किम जोङ–इलकी कान्छी छोरी तथा वर्तमान नेता किम जोङ–उनकी बहिनी हुन् । किम जोङ–उनभन्दा चार वर्ष कान्छी उनी आफ्ना दाजुसँग धेरै निकट रहेको बताइन्छ उनले उत्तर कोरियाली वर्कर्स पार्टीका प्रभावशाली पार्टी सचिव चोइ रियोङ–हाईका छोरासँग विवाह गरेको बताएको छ । उनको मुख्य भूमिका पार्टीको प्रचार विभागबाट आफ्ना दाजुको छवीको रक्षा गर्नु रहेको छ । उत्तर कोरियामा मानवअधिकार हननमा संलग्न भएको भन्दै अमेरिकाले उनलाई कालो सूचीमा समेत राखेको छ उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नै बहिनीलाई दक्षिण कोरिया पठाएर ठूलो आश्चर्यमा पारेका छन् । केहीले उनी उत्तर कोरियाली प्रतिनिधिमण्डलको टोलीमा पर्ने अनुमान गरेको भएपनि अन्ततः उनले सो कार्यक्रममा नै सहभागिता जनाउने भएकी हुन् । यसलाई उत्तर कोरियाली नेता किम दक्षिणसँगको सम्बन्ध सुधारमा गम्भीर रहेको संकेतका रुपमा लिइएको छ किम यो–जोङ नेता उनसँग निकट रहेका कारण उनले कुनै सन्देश ल्याउन सक्ने अनुमान गरिएको छ । तर उनी मानवअधिकार हननको आरोपमा कालो सूचीमा रहेका कारण उनको दक्षिण कोरिया यात्रामा केही बाधा हुनसक्ने अनुमान समेत गरिएको छ । तर उनी संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको यात्रा प्रतिबन्धमा भने परेकी छैनन् दक्षिण कोरियाले अमेरिका र अन्य अन्तर्राष्ट्रिय समुदायलाई उत्तर कोरियाली खेलाडीलाई दक्षिण आउन र आफ्नो सहभागिता जनाउनका लागि विशेष प्रवेशको अनुमति दिन आग्रह गरेको थियो । दक्षिण कोरियाले पुनः किम जोङको परिवारका सदस्यका लायि यस्तै आग्रह गर्नसक्ने अनुमान गरिएको छ दोस्रो विश्वयुद्धपछि दुई भागमा विभाजित भएपछि उत्तर कोरियाली नेता किम जोङ–उनको वंशबाट दक्षिण कोरियाको भ्रमण गर्ने उनी पहिलो सदस्य हुनेछिन् । यसअघि तत्कालीन नेता किम जोङ–इलका सालो तथा किम जोङ–उनका मामा चाङ सङ–थाएकले दक्षिण कोरियाको भ्रमण गरेपनि उनी किम परिवारको रक्त समूहका सदस्य थिएनन् दक्षिण कोरियाले उत्तर कोरियाली नेता किम जोङ–उनकी शक्तिशाली बहिनी आउने भएकाले उनले दक्षिण कोरियाली राष्ट्रपति मुन जाए–इनलाई कुनै सन्देश ल्याउन सक्ने र उनीहरुबीच भेटवार्ता हुनसक्ने अनुमान समेत गरेका छन् यद्यपि उनी अझै पनि विन्टर ओलम्पिकको उद्घाटन सत्रमा सहभागी हुने या नहुने भन्ने स्पष्ट भइसकेको छैन । किम यो–जोङसँगै राजनीतिक रुपमा चर्चामा रहेका चार जना नेताहरु दक्षिण कोरिया आउन लागेका छन् किमसँगै उत्तर कोरियाका आलंकारिक राष्ट्रप्रमुख किम योङ–नाम समेत यो समारोहमा सहभागी हुनेछन् । उनी उत्तर कोरियाली संसदका अध्यक्ष समेत हुन् । ९० वर्षीया नामले उत्तर कोरियाली नेता किमका तीन पुस्ताकै शासनलाई नजिकबाट नियालेका छन् । उनी किम शासनको वफादार नेताका रुपमा समेत चिनिन्छन् । उनले यसअघि पनि उत्तर कोरियाको प्रतिनिधित्व गर्दै विभिन्न देशको भ्रमण गरिसकेका छन् यस्तै अन्तर कोरियाली मामलाका इन्चार्ज तथा कोरियाली स्टेट एजेन्सीका प्रमुख रि सन–ग्वोन र वर्कर्स पार्टीका उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद समितिका अध्यक्ष चोइ ह्विीसमेत दक्षिण कोरिया आउनेछन् । उत्तर कोरियाको २ सय ८० सदस्यीय प्रतिनिधिमण्डलका अधिकांश सदस्य बुधबार नै दक्षिण कोरिया आइसकेका छन् उत्तर कोरियाका खेलकुद मन्त्री किम इल–गुकले नेतृत्व गरेको २२९ सदस्यीय टोलीमा चार जना राष्ट्रिय ओलम्पिक कमिटिका चार जना खेलकुद अधिकारीहरु, २६ जना तेक्वान्दो खेलाडी र २१ जना पत्रकार रहेका छन् । शुक्रबारदेखि प्योङचाङमा हुने प्रतियोगितामा भने उत्तर कोरियाका १० जना एथ्लेटिक्स खेलाडीले मात्रै सहभागिता जनाउनेछन् भने १२ जना संयुक्त कोरियाली महिला आइस हकी टोलीबाट सहभागी हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया