लकडाउनका कारण २६ दिनदेखि जंगलमै बास

सोम शर्मा / भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले निर्माण गरेको ट्रेकिङ्ग ट्रयालको काम गर्न आएका १८ श्रमिक मजदुर २६ दिनदेखी जंगलमै बास बस्न बाध्य भएका छन् ।

नगरपालिकाले पर्यटकिय गन्तव्यका रुपमा चाँगुनारायण नगरपालिका ७ र ८ नं. वडामा निर्माण गरिरहेको पर्यटक ट्रेकिङ्ग ट्रयालमा काम गर्न आएका मजदुरहरु लकडाउनका कारण सो क्षेत्रको जंगलमै अलपत्र परेपछि जंगलमै बास बस्न बाध्य भएका हुन् ।

नगरपालिकाले ४ करोडको लागतमा निर्माण गरेको मुहानपोखरीदेखी नगरकोटको महादेवस्थानसम्म निर्माण गरिरहेको ४ किमि टे«किङ्ग ट्रयायल निर्माणकै क्रममा लकडाउन भएपछि अछाम, रुकुम, जाजरकोट, सिन्धुलीलगायतका जिल्लाका १८ जना मजदुरहरु जंगलमा समय बिताउन बाध्य भएका हुन् ।

उनीहरुलाई नगरपालिकाले राहतका रुपमा खाद्यान्न सामग्री उपलब्ध गराएपनि जंगलमै कष्टकर जीवन विताउन बाध्य हुनुपरेको मजदुरहरुको गुनासो छ । उनीहरुले लकडाउनको समयमा सरकारले घर जान सक्ने वातावरण सिर्जना गरिदिन सरकारसँग आग्रह समेत गरेका छन् ।

यता चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोम प्रसाद मिश्रले भने उनीहरुलाई क्वारेन्टाइनमा राखिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?