के हो डेङ्गुृ ज्वरो ?
कोरोना भाईरसको त्रास र संकट चलिरहेकै बीच नेपालका कतिपय जिल्लाहरूमा हाल फेरि डेङ्गु ज्वरोका बिमारी देखापरेका छन् । यो ज्वरो खास ट्रपिकल प्रजातिका लामखुट्टेले सार्ने, महामारी फैलाउने विशेषता भएको अति तीव्र खालको जीवाणुजन्य रोग हो । खासगरी गर्मी ठाउँ तथा शहरी इलाकामा डेङ्गु ज्वरोको प्रबल सम्भावना हुन्छ । यो ज्वरो फैलाउने लामखुट्टेको प्रजाति ‘एडिस येजिप्टी’ हो । यसले प्रायः बिहानीपख र दिउँसो मानिसलाई टोक्दछ ।
एडिस् एब्लोपिटक्स् प्रजातिको लामखुट्टेबाट पनि यो रोग फैलिएको पाईएको छ । उत्तरी भारतका विभिन्न स्थानमा डेङ्गु ज्वरोको महामारी फैलिनुका साथै धेरै मानिसको मृत्यु भएको तथ्य छ भने भारतसँग सीमा जोडिएका नेपालको तराई क्षेत्रमा यो रोगको सम्भावना धेरै छ । दक्षिणपूर्वी एशिया र पश्चिमी अफ्रिकामा बाँदरलाई यस रोगको भण्डारका रूपमा चिनिन्छ ।
भारतको नयाँ दिल्लीलगायत बिहार, उत्तरप्रदेश, बङ्गालजस्ता नेपालसँग भौगोलिक निकटता र जनस्तरको घुलमिल भएका प्रान्तहरूमा डेङ्गु ज्वरोले महामारीको रूप लिइरहने गरेको हुँदा नेपाललाई यस महामारीबाट सतर्क रहन घच्घच्याएको अर्थवोध गर्नुपर्छ । समयमै ध्यान पु¥याएन भने यसले महामारीको रूप लिन बेर लाग्दैन ।
डेङ्गुको लक्षण :
यस रोगमा तीनदेखि पाँच दिनसम्म ज्वरो आउने, टाउको अति दुख्ने, साथै जोर्नी मांसपेशी, आँखाको गेडी दुख्ने, खान मन नलाग्ने, वान्ता हुने, जिऊमा डाबर, फोका वा बिँबिरा आउने प्रमुख लक्षण हुन् । कसैलाई शरीरभरि खटिरा वा डण्डीफोरजस्ता डाबर पनि देखिन्छन् । अलिकति थिच्दा पनि रगत बग्ने खालका फोका छालामा देखापर्नु, नाक वा गिजाबाट रगत आउनु, योनीबाट रक्तश्राव हुनु पनि यस रोगका लक्षण हुन् ।
डेङ्गुज्वरोले रगतमा सेतो रक्तकणको मात्रा घटाइदिन्छ । यसले गर्दा रक्तसञ्चारमा गडबडी उत्पन्न भई उपचारप्रति बेवास्ता वा लापरबाही गरेमा मृत्यको जोखिम हुन्छ । विश्वमा हेरक वर्ष करिब १० करोड मानिस डेङ्गु ज्वरोका बिमारी हुनेगरेको विशेषज्ञहरूको अनुमान छ ।
डेङ्गु ज्वरोका प्रकार :
यसको चरित्र दुई किसिमका हुन्छन् भनी छुट्याइएको छ— डेङ्गु ज्वरो र डेङ्गु हेमोरोजिक ज्वरो (डी.एच्.एफ्) । मानिसबाट मानिसमा यो रोगले प्रत्यक्ष संंक्रमण गर्दैन । डीएच्एफ संक्रमण भएका बच्चाहरूमा एक्कासी ज्वरो आउन थाल्दछ र माथिल्लो श्वासनलीको भागमा समस्या उत्पन्न हुने, खान मन नलाग्ने, अनुहार तात्ने, एवं पेट र आन्द्रामा मन्द प्रकारको गडबडी हुने गर्दछ ।
डेङ्गु हेमोरोजिक ज्वरोमा रोगी बेहोस हुने र रगत जम्ने प्रक्रियामा गडबडी आउने हुनथाल्दछ । रोगीलाई आएको ज्वरोका विशेषता, रगतमा प्लेट्लेट्स् संख्या एकलाख प्रति मि.लि. वा सोभन्दा कम, रक्तश्रावका लक्षणहरू देखापरेको र प्लाज्माको आयतनमा कमि देखिनुलाई विश्व स्वास्थ्य सङ्गठन (WHO) ले डेङ्गु हेमोरेजिक ज्वरोका रूपमा परिभाषित गरेको छ ।
डेङ्गुको उपचार :
यसको खासै औषधीय उपचार छैन । सन् २०१६ तिर एघारवटा मुलुकमा परीक्षण स्वीकृति दिएर सन् २०१९ मा पूर्णस्वीकृति पाएको र विश्वस्वास्थ्य संगठन (WHO) ले आवश्यक औषधीको रुपमा राखेको डेंगुको खोप, CYD-TDV को नामले बजारमा आएको छ, जसलाई Dengvaxia (डेङ्भ्याक्सिया) ब्यापारिक नामकरण गरिएको छ । यो खोप वर्षमा ३ पटक दिनुपर्छ ।
तर यो भ्याक्सिन पहिले पनि डेंगु संक्रमित भईसकेका बिमारीले मात्र लगाउनुपर्ने, पहिलोपटक संक्रमितले लगाउनु नहुने भनिएको छ । यो खोप लगाएपछि टाउको दुख्ने, खोप लगाएको स्थान लगायत मांशपेशी दुख्ने, एनाफिल्याक्सिस भनिने एलर्जी हुने सम्भावना हुन्छ । यो वर्ष पनि यस खोपको अझ विकास गर्ने प्रयास चलिरहेको बुझेको छु, तर परिणामबारे थाहा भएको छैन ।
डेंगु लागेको रोगीलाई आराम चाहिन्छ । रोग लागेको लक्षण बुझेपछि दुखाइ कमगर्ने औषधी दिनुपर्छ, तर एस्पीरीन् औषधी दिनु हुँदैन । खानामा झोल पदार्थ बढी नै दिनुपर्छ । सेकेण्डरी इन्फेक्सन भएमा एन्टीबायोटिक र कार्टिकोइस्टोराइङ् दिनुपर्छ । रोगीलाई दिउँसो पनि झुलभित्र आराम गराउने, लामखुट्टे मार्न किटनाशक औषधी छर्ने उपाय अपनाउनु पर्छ । बिमारी सम्पर्कमा आउँदा होशियारी अपनाउनुपर्छ, तर बिमारीको सम्पर्कमा आउने ब्यक्तिलाई खोप दिनु जरूरी छैन । रोगको चरित्र मलेरियासँग मिल्दोजुल्दो हुनाले लामखुट्टेबाट बच्ने उपाय अपनाउनु उपयोगी हुन्छ ।
डेङ्गु हेमोरोजिक ज्वरो (डी.एच्.एफ्) को उपचारविधि :
डेङ्गुमा जस्तै डीएच्एफ्मा पनि विशेष औषधीय उपचार हुँदैन । यसमा पनि डेङ्गु ज्वरोमा जस्तै उपचारविधि अपनाउनु पर्दछ । पुनर्जलीय उपचार (सलाइन दिने) विधिले यस रोगमा राम्रो लाभ हुन्छ । साथै प्लाज्माको कमीका कारण बिरामी बेहोस हुने, बिरामीलाई नसाबाट पुनर्जलीय उपचार र अक्सिजन दिनुपर्ने प्रायः आवश्यक हुने हुँदा रोगीलाई अस्पतालमा भर्ना गर्नु उचित हुन्छ ।
डेङ्गुको खतरा हटाउने उपाय :
डेङ्गु ज्वरो फैलाउने लामखुट्टेले पानी जम्ने भाँडाकुँडा र खाल्टाहरूमा आफ्नो वंशवृद्धि गर्ने हुँदा प्राकृतिक वा कृत्रिम रूपले पानी जम्ने, फालिएका वा खुल्ला स्थानमा राखिएका गमला फालिएका प्लाष्टिक आदिका भाँडा, खाल्टा आदि सबै नष्ट गरिदिनुपर्छ ।
कुवा, इनार, पोखरी आदि पानी जम्ने ठाउँहरूमा पनि विशेष सतर्कता र सफाइ गर्नुपर्दछ, ताकि मानिसको बसोबास वरिपरि डेङगु ज्वरो फैलाउने लामखुट्टेको वंशवृद्धि नहोस्। पुरा बाहुला तथा शरीर ढाक्ने लुगा लगाउने, झुलभित्र सुत्ने बानी बसाल्ने, झ्यालढोकामा जाली लगाउने, लामखुट्टे भगाउने मलम लगाउने आदि सजगता अपनाउने ब्याबहारिक विधि हुन् ।
महामारी फैलिन नदिने उपाय :
रोगका लक्षण देखा पर्नासाथ उपर्युक्त सबै विधि अपनाउनु पर्दछ । किटनाशक औषधीभन्दा जनचेतनामा आधारित लामखुट्टे नियन्त्रण गर्नु नै डेङगु ज्वरोको रोकथामको सर्वोत्तम उपाय हो । जनसमुदायमा डेङगु रोग र यसबाट बच्ने उपायबारे चेतना फैलाउनु पर्दछ । यसका विरामी देखा पर्नासाथ स्वास्थ्यसंस्थाहरूलाई जानकारी गराउनु पर्दछ ।
यो रोगको पहिचान र उपचारका साथै निरोधात्मक उपायबारे प्रचाारप्रसार ब्यापक बनाउनु जरूरी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया