काठमाडौं – आफ्ना भनाई र अस्थिरताले गर्दा पूर्वप्रधानमन्त्री तथा पूर्वमाओवादीका उपाध्यक्ष बाबुराम भट्टराई विवादमा परिरहन्छन् । यही बैशाख १५ गते रेडियो नेपालको अन्तरसंवाद कार्यक्रममा उनले बोलेको भाषा शैलीको स्तर सुन्नेहरू पूर्वप्रधानमन्त्री तथा पढाईमा विद्यावारिधि गरेको मान्छे मुलुकको बहालवाला प्रधानमन्त्रीलाई यतिसम्म अशिष्ट र चुत्थो भाषामा बोल्नसने रहेछन् भनेर आश्चर्यचकित भएका थिए ।
उक्त अन्तरवार्तामा उनले साम्प्रदायिक राजनीतिमा जोड दिएर मुलुकलाई जातीय भिडन्तमा जाक्ने नियत त स्पष्टसँग नै प्रकट गरे । त्यसमाथि प्रधानमन्त्री के.पी. शर्मा ओलीउपर ‘भष्मासुर’ को आरोप लगाउँदै, “जातीय विद्वेष मच्चाएर, घृणा मच्चाएर एउटा जातीको पक्षमा म त्यसैको नेता हुँ भन्ने भ्रम छरेर उहाँले सत्ता कब्जा गर्नुभो…..” भने ।
वास्तबमा जातीय राज्य र साम्प्रदायिक भिडन्तको वकालत गर्ने नम्बर १ व्यक्ति कोही हो भने त्यो अरू होइन, बाबुराम भट्टराई नै हुन् जसले हालै पार्टी एकीकरणको दस्तावेजमा “बहुराष्ट्रिय राज्य” को उल्लेख गरेका छन्, जुन दस्तावेज तयार पार्नेमा उनी मूख्य हुन् ।
उक्त अन्तरसंवादमा रेडियो नेपालका प्रश्नकर्ता नवराज लम्सालले डा. भट्टराईमाथि प्रश्नकै क्रममा, “तपाईँमाथि जातीय राजनीति र क्षेत्रीय राजनीतिलाई प्रश्रय दिएर आफ्नो स्पेश खोजेको भन्ने आरोप तपाईँकै शुभेच्छुक र प्रशंसकले पनि लगाउँछन्…..” भनेर यथार्थ मुखरित गरेका थिए । सोही वार्तामा उनले “जातीय अस्तित्व स्वीकार्नुपर्छ” भन्ने हठ छोडेनन् ।
संवैधानिक हैसियतले नै मुलुक धर्मनिरपेक्ष हुने अनि धर्मले उब्जाएको जातीको जातीसापेक्ष राज्य हुनुपर्ने ! उनको तर्क ।
मुलुकमा साम्प्रदायिक जहर हालेर जातीय भिडन्त गराउन बाबुराम लागिपरेका छन् भन्ने वास्तविकता उनकै अभिव्यक्तिबाट पुष्टि भईरहेको छ । यो संविधान पूर्णसमावेशी हुँदाहुँदै र समावेशितालाई जनसहभागिताको आधार बनाएपछि, आफैँ लागेर बनाएको संविधानलाई उछिनेर बाबुरामको र्याईँर्याईँ केही होइन, विदेशी प्रभुलाई रिझाएर सत्तामा जाने अतिआकांक्षा बाहेक ।
जातीय भिडन्तका देशद्रोही कुरा उनले आजमात्र ओकल्दैआएका होइनन्, ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा मधेसवादी दल तथा थारुहट आन्दोलनले आयोजना गरेको आमसभामा बिखण्डनकारी उग्रभाषण गरेपछि भदौ २६ गते बाबुराम भट्टराईले मुलुककै अस्तित्व संकटमा पर्ने संकेत गर्दै, ‘मधेशी र विभिन्न जाति समुदायलाई अधिकार नदिए मुलुकलाई अखण्ड राख्न नसकिने’ आशयको फेसबुक स्टाटस लेखेका थिए । उनलाई “देश जोगाउने आवरणमा टुक्रयाउने काममा लागेको” आरोपका साथ रेडियो थाहा सञ्चार नेटवर्क दीपेन्द्र कुँवरले उतिबेला पनि र्याखर्याख्ती पारेका थिए ।
सन् २००९ मा उनले एउटा विदेशी अनलाईनलाई दिएको अँग्रेजी अन्तरवार्तामा त यतिसम्म भनेका थिए, “हामी नेपालको राज्यसंरचना बदल्न प्रतिबद्ध छौँ । म त फेरि भन्छु, वर्तमान राज्यलाई टुक्राटुक्रा पारेर नयाँ राज्य स्थापना गर्नु हाम्रो लक्ष्य हो”
(Our ultimate goal is to overthrow the old state replacing it with a new one. …In our case it has meant cutting up the state part by part, in fact we are devouring it part by part….) .
सबभन्दा पहिले नेपाली कांग्रेसमा केही समय सक्रिय भएका बाबुराम त्यहाँबाट मोहनबिक्रम सिंहको नेकपा (मसाल) मा रहे ।
त्यहाँबाट नेकपा (एकताकेन्द्र), संयुक्त जनमोर्चा, त्यसपछि माओवादी, माओवादीबाट ‘नयाँ शक्ति’, त्यहाँबाट पनि संघीय समाजवादी फोरम, र अहिले जनता समाजवादी पार्टीमा पुगेका छन् । अब चाँडै नै उनी कता जाने हुन्, उनैलाई थाहा नहोला !
उनलाई नजिकबाट चिन्ने वरिष्ठ पत्रकार, ज्येष्ठ वामपन्थी बुद्धिजीवी एवं लेखक स्व. शक्ति लम्सालले भनेका थिए, “सङ्गठन प्रक्रिया र तल्लो तहका कार्यकर्तामा बाबुरामजी पुग्न सकेनन् । माओवादीभित्र राजनीतिक पकड बनाउन सकेनन् । बौद्धिक प्रतिभा हुनु एउटा कुरा हो, राजनीतिक खुबी अर्कै कुरा । …….(बाबुराममा) दम्भ त थियो । नमस्कार गर्दा नफर्काउने, हात मिलाउँदा त यी बामपन्थीहरू जोसँग पनि हात मिलाउने समेत भन्थे । बाबुरामजी हात मिलाउने कुरा रूचाउँदैनन् ।…….
बाबुरामजीका क्रियाकलापले पार्टीलाई नोक्सानी भयो भन्नेहरू पार्टीपंक्तिभित्र धेरै छन् । उनले आफूलाई पूरै रूपान्तरण गरेर आए भने सबै कुरा ठीकै होला ।…….” (नेपाल साप्ताहिक, २०६२ साउन ९ आइतबार) ।
आफू प्रधानमन्त्री बन्नका लागि यिनले मधेशवादी दलसँग गरेको ४ बुँदे सम्झौतामा मधेसका विद्रोहीहरूलाई नेपाली सेनामा समुहगत भर्ना दिने समेतको स्पष्ट बुँदा राखेका थिए । यस्ता धेरै गम्भीर विवादमा परेका पात्र हुन् बाबुराम । त्यसैले उनले हालै रेडियो नेपालमा बोलेको कुरा नौलो होइन, उनको नियत नै हो ।
उनीसँगै लामो समयसम्म एउटै पार्टीमा रहेर काम गरिसकेका माओवादी बुद्धिजीवी प्रा. ऋषिराज बराल लेख्छन् “…..बाबुरामले माओवादीलाई प्रयोग गरेर माओवाद र माओवादीहरूमाथि सारमा क्रान्तिकारीहरूमाथि नजानिँदो किसिमले प्रहार गर्न खोजे ।……भारतको बुई चढेर बिहारी गणतन्त्रको पक्षधर, ट्रट्स्कीवादको नेपाली अवतार, पार्टीमा बितण्डा मच्चाउन थाले (‘माक्र्सवाद रक्षार्थ’ शीर्षक लेख, ‘समयबद्ध’ द्वैमासिक) ।
राष्ट्रप्रतिको धारणा : राज्य संरचनामा उनका भनाई सुन्ने हो भने बाबुरामलाई कसले देशप्रेमी भन्ला ? ‘जातिय क्लस्टरका आधारमा १४ राष्ट्रिय राज्यमा नेपाललाई विभाजित गर्नुपर्ने’, कार्यकारी राष्ट्रपति, पूर्णसमानुपातिक निर्वाचनका आधारमा संसदको गठन यिनका परिवर्तन प्रस्ताव हुन् । उनले विभिन्न सन्दर्भमा बोलेका वा लेखेका तलका विचारलाई एकै ठाउँमा बटुलेर हेरौँ र ठहराऔँ, उनी को हुन् भन्ने कुरा प्रष्ट हुन्छ :
यो राष्ट्र पृथ्वीनारायण शाहको अगुवाइमा खडा गरेको कुरामा हामीले बहस गर्नुछैन, तर उनले किन खडा गरेका थिए भन्नेमा हाम्रो आफ्नै बहस छ । तपाईँहरूले पनि थाहा पाइसक्नु भएको छ नेपालको क्षेत्रीय र अन्तर्राष्ट्रिय आयाम । खासमा यो मुलुकको चाबी अन्तै रहेछ, त्यसैले सोचेजस्तो गर्न नसकिने रहेछ । उत्तरको छिमेकी चीन हाम्रै जमानामा महाशक्ति राष्ट्र हुँदैछ ।
भारत पनि त्यसैगरी उन्नती गर्दैछ । बीचको यो नेपालले आफ्नो प्रगति गर्न सकेन भने एकातिर मर्ज हुनुपर्छ । मैले सिंगापुरको नेशनल युनिभर्सिटीमा प्रस्तुत गरेको कार्यपत्र ‘नेपालको द्वन्द्वोत्तर पुनःसंचना : चुनौती र सम्भावना’ मा भनेको त हो — एउटा छिमेकीलाई चिढ्याएर अर्कोसित लहसिने कुनै पनि विदेश नीति नेपालको राष्ट्रिय हितका लागि प्रत्युत्पादक हुनसक्छ । तर बाहिर बसेर भन्नु र सत्ता चलाउनुमा बिल्कुल फरक रहेछ । २०५२ साल माघमा हामीले तत्कालीन कांग्रेसी नेतृत्वको सरकारसमक्ष पेश गरेका ४० सूत्रीय माग र त्यसको शिरानका ७ वटा नेपाल–भारत सम्बन्धका मागलाई उचालेर फुटेर गएका साथीहरूले ‘मियाँ के जुते मियाँ की सर’ गरिरहेका छन् । ती मागले आज मलाई निरूत्तर बनाइरहेको साँचो हो ।
उनले विभिन्न समय र सन्दर्भमा बोलेका कुराबाट उनको परिचय राम्रैसँग खुल्छ ।
व्यक्तिगत जीवन : मेरो खास नाम बाबुराम होइन मुक्तिनाथ भट्टराई हो । मभन्दा माथिको दाजु सानैमा बितेपछि जन्मेको म पनि बाँच्दिन होला भनेर बा–आमालाई ठूलो चिन्ता लागेछ र मलाई न्वारानको नामभन्दा प्यारो गरेर बोलाउने नाम दिनुभएछ ‘बाबुराम’ । पछि विद्यालयमा भर्ना हुँदा नामको कुरा आयो । नाम लेख्ने गुरूले भनिदिनु भयो तिमीलाई त बाबुराम भन्न नै राम्रो लाग्छ नि, यही नाम चलाउ । त्यसपछि म बाबुराम भएको हूँ । (ए)माओवादीमा काम गर्दाको ‘टेक नेम’ चाहिँ ‘लालध्वज’ हो । आमा धर्माकुमारी महान जनयुद्धमा म भूमिगत रहेकै बेलामा बित्नुभयो, बा भोजराज मैसँग हुनुहुन्छ । आमा हठी र अलि रुखो स्वभावकी हुनुहुन्थ्यो । बाचाहिँ अन्तर्मुखी र मितभाषी । त्यसैले उहाँहरू दुबैको स्वभाव उत्तरदानका रुपमा मैले पाएको छु । मेरो एउटा भाई छ शिब । ऊ विद्युत प्राधिकरणमा जागिरे भएर केही समयअघि सेवानिवृत्त भईसकेको छ । मसँग उसको अनुहार काटीकुटी सबै मिल्ने भएको हुनाले हाम्रो गौरबशाली पार्टी (माओवादी) को महान जनयुद्धकालमा उसलाई प्रहरीले धेरैपटक यातना दियो ।
भारतसँगको सम्बन्ध : मैले भारतमै उच्चशिक्षा हासिल गरेँ । नेपालमा बोर्डफस्र्ट भएर आएको भन्ने हैसियतले पनि ममाथि अलि ध्यान दिएर हेर्न थालियो । ‘रअ’ का अधिकारी हर्मिस थराकानको गृहराज्य केरालामा बस्दा उनीसँग घनिष्टता भयो । प्रा. सुखदेव (एस्. डी.) मुनीसँग त्यसैबेला देखिको सम्बन्ध हो । विद्यार्थी कालमा राजनीतिक गतिविधिमा सरिक भएकोले पनि सबैसँग चिनजानी भयो । राजा वीरेन्द्र भारत भ्रमणमा गएको बेला कालोझण्डा देखाउने मै थिएँ । त्यसले त भारतीयहरूलाई भन्नचाहिँ नहुने गरी भित्रभित्रै गद्गद् बनाएछ । त्यसले पनि मलाई इन्डियामा बसेर राजनीतिक गतिविधि गर्न हौस्याएको हो । भारतसँगको सम्बन्धको जग त्यही हो ।
माक्र्सवादबारे : आजको विश्व स्टालिनवादीभन्दा पनि अलि बढी ट्राट्स्कीवादी बन्दैगएको तथ्यलाई आजका माक्र्सवादीहरूले मनन गर्नैपर्छ ।……धर्मशास्त्रलाई झैँ एकोहोरो महिमा मण्डन गरेर वा एक सय आठ पण्डितको सामुहिक पाठ गराएर माक्र्सवादको विकास र समृद्धीकरण हुँदैन (रातो झिल्को–त्रैमासिक, साउन अंक ०६६) । म सिद्धान्त र ब्यवहार दुबैमा माक्र्सवादी हुँ ।
अन्त्यमा : ०७२ असोजमा संविधान जारी भएको लगत्तै उनले एमाओवादी पार्टी परित्याग गरेर नयाँ शक्ति नामक पार्टीको गठन गरे । बैशाख १ गते (०७३ साल) मा ठूलै तामझामका साथ यसको उद्घाटन गरे । नेता र कार्यकर्ताहरूमा समान रुपले लागु गर्न ३० बुँदे आचारसंहिता पनि लागु गरे । त्यो बेला उनी भन्थे, “मैले नयाँ शक्ति गठन गरेर प्रचण्डलाई केही पाठ पढाउनु परेको छ, जो आज मेरा बिरूद्ध पागल भइरहेका छन् ।” तर उनको नयाँ शक्ति पार्टी पनि तासको घरजस्तै भताभुङ्ग भयो । उनी आज मधेसबहुल नेताहरू रहेको ‘जनता समाजवादी पार्टी’ को अध्यक्ष बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया