काठमाडौं – हिन्दू समाजको परम्परागत मान्यतामा मानिसको हातमा ‘हातेविष’ हुन्छ, भनिन्छ । आजको महामारीमा ह्यान्ड सानिटाईजरको अनिवार्यताले उक्त मान्यतालाई पुष्टि गर्दैछ ।
गाईको गोबरले घर लिप्नु पुरानो युगको स्टरीलाईजेशन वा डिसइन्फेक्सन (किटाणुशोधन) विधि हो । हरियो घाँस चरेको गाईको गोबर र गहुँतमा किटाणुनाशक तत्व हुन्छ । भन्छ – आयुर्वेदले ।
त्यसैले हिन्दू जीवनशैलीमा एकादशी वा पवित्र तिथि वा चाड–पर्वमा गोबर, रातोमाटो आदिले घर लिप–पोत गर्ने, उपवास बसेर आफूलाई रिचार्ज गर्ने जस्ता विधिहरू आज पनि गाउँघरमा जिवितै छन् ।
यी चाल–चलनमा उपयोगिता खोज्ने हो भने वैज्ञानिक आधार भेटिन्छ । तर अन्धविश्वास, विकृति र कलंकपूर्ण नियतले प्रचलन ग-यो भने विकृत नै हुन्छ, जो आज प्रायः भईरहेको छ । भनिन्छ, सेवन गर्न जान्यो भने विष औषधी हुन्छ, गलत सेवन भयो भने औषधी नै विष हुन्छ । अभ्यास, सेवन र उपयोगिताबोधमा नै यस्ता प्रचलनहरूको उपयोगिता भर पर्छ ।
अलग रहनु, पवित्रता धारण गर्नु, मानिसको संसर्गमा नजानु, हात नमिलाउनु, अभिवादनका लागि नमस्ते गर्नुजस्ता गतिविधिलाई हामी यतिबेला महामारीबाट मुक्त हुने सबभन्दा भरपर्दो प्रतिरोधात्मक उपचारका लागि ‘लक डाउन’ (बन्दाबन्दी) को दिनचर्या बिताईरहेका छौँ ।
रोगब्याधबाट बच्ने प्राचीन जनस्वास्थ्य सम्बन्धी प्रतिरोधात्मक प्रविधिलाई हिन्दू दर्शनको एउटा विधा, आयुर्वेदले सबभन्दा पहिले प्रतिपादन गरेको तथ्य छ ।
आधुनिक चिकित्सा विज्ञानले पनि यस प्रविधिलाई विज्ञानसम्मत विधिद्वारा परिमार्जित गरी पालन गरेको हुनाले हामीले अमल गरेको जीवनशैलीको मान्यता विज्ञानसम्मत नै हो भन्ने पुष्टि हुन्छ । आज बढी नै प्रचलनमा आएका ‘लक डाउन’, ‘क्वारेन्टाईन’, ‘स्यानिटाईजिङ्’, ‘सोसल डिस्टान्सिङ्’, नमस्कारको अभिवादन आदिले यस्तै अर्थ बुझाउँछ ।
हिन्दू संस्कारको पहिचान पाईसकेको भोजनशैलीका यी खानेकुरा एकसाथ खाँदा स्वास्थ्यमा असर देखिनेबारे आयुर्वेदले सचेत गराउँछ, जसलाई आज पनि जीवनशैलीको रुपमा पालन गरेको देख्न सकिन्छ । जस्तो, घ्यू र मह समान मात्रा मिलाएर नखानू, यसले मिर्गौला, कलेजो र मुटुलाई खराबी गर्छ । त्यसैगरी एकसाथ मह, दही, रक्सी र भलायो सेवन नगर्नु, एकसाथ दूध र सतुवा नखानू ।
खीर र खिचडी, खीर–दूग्ध परिकार र माछा वा मासु, एकसाथ दूध र दही, भूइँकटहर र जामुनजस्ता फलफूल र दूध–कोदो, मुङ, मास, गहत, जस्ता अन्न र दूध–मूला र दूध, काँचो केराको तरकारी र दही, कुखुराको मासु र दही, माछा–मासुसँग मह, गुड–तिल–दूध– मूला, मास र अङ्कुरित अन्न, माछासँग दूध, मूलाको साग र मख्खन, परेवाको मासु र प्याज, मासको दाल वा मासका परिकार र सख्खर नखानू भन्दछ – आयुर्वेदले ।
तामा, पित्तल र काँस्यको भाँडोमा घ्यू राख्दा विषाक्त प्रभाव उत्पन्न हुने, पाकेको रुख कटहर खाएको दश घण्टासम्म पान, सूर्ति तथा अन्य चूना मिसिएको खानेकुरा, वा पाकेको कटहर धेरै खाएको अवस्थामा चूना लगाएको खानेकुरा, खाली पेटमा आँप, चिल्लो आहार खाएपछि चिसो पानी पिउनु हानीकारक, तातोपानी उचित भन्ने ज्ञान हामीलाई हिन्दु संस्कारसँग आउने आयुर्वेद ज्ञानले दिएको छ ।
भनाईको आशय, हिन्दु दर्शन र आयुर्वेदले प्रतिपादन गरेको जीवनशैली नै हामीले अपनाएको वैज्ञानिक जीवनपद्धति हो, तर यसको अभ्यास वैज्ञानिक मान्यताका साथ हुनुपर्छ, अन्धविश्वास वा रुढीवादी ढङ्गले हुँदैन । अन्धविश्वास, अतिशयोक्ति र भ्रमले हिन्दु धर्म र यसबाट प्रेरित जीवनशैलीलाई असर गरेको छ ।
महाभारतमा एउटा संवाद छ । विदुर युधिष्ठिरलाई सोध्छन्, “जंगलमा ठूलो डढेलो लाग्यो भने कुनकुन जनावर सुरक्षित रहन्छन् ?
” युधिष्ठिरको जवाफ आउँछ, “ठूलो आगलागी भयो भने निडर र स्वतन्त्र भएर घुमफिर गर्ने हात्ती, बाघ, सिंह, एकदमै चलफिर गर्ने मृगजस्ता ठूला भनिएका जनाबरहरू आगोमा पोलिने छन् । संकटमा दुलाभित्र बस्ने मुसा, सर्पजस्ता साना प्राणी जोगिन्छन् ।
युधिष्ठिरको जवाफ आउँछ, “ठूलो आगलागी भयो भने निडर र स्वतन्त्र भएर घुमफिर गर्ने हात्ती, बाघ, सिंह, एकदमै चलफिर गर्ने मृगजस्ता ठूला भनिएका जनाबरहरू आगोमा पोलिने छन् । संकटमा दुलाभित्र बस्ने मुसा, सर्पजस्ता साना प्राणी जोगिन्छन् ।
आगो थामिएपछिमात्र ती बाहिर निस्कन्छन् र शान्तिपूर्ण जीवन बिताउन पाउँछन् ।” अहिले कोरोना भाईरसको महामारीमा अपनाईएको लक डाउनमा पनि यही प्रवृति लागू हुन्छ ।
जो अतिआत्मविश्वास, हठ, हेल्चेक्राईँ र घमण्ड गर्छ, तिनलाई छिटो संक्रमण हुने अवश्यम्भावी छ । जो लकडाउन र क्वारेन्टाईनको नियम पालन गर्छ, ऊ निश्चय नै सुरक्षित रहन्छ ।
हरेक महिना रजश्वला हुने युवा वा प्रौढावस्थाकी महिला, त्यो अवधिभरि उनलाई नछुने, उनले पनि आफ्ना तत्काल उपयोगका वस्तुबाहेक अन्य वस्तु नछुने, अलग सुत्ने–बस्ने, अलग भाँडाकुँडामा खाने, मध्यपश्चिम र सुदूर पश्चिमको समाजमा त घरबाहिर अलग्गै (छाउपढी) बस्नुपर्ने चलन छ, जो परम्परागत क्वारेन्टाईन हो । पानीको पर्याप्तता नहुनु तथा स्यानिटरी प्याड तथा अन्तर्वस्त्रको अभावका कारणले अलग बस्ने चलनलाई धार्मिक प्रयोजन र अन्धविश्वासका रुपमा अपनाउन थालियो ।
रजश्वलाको मूख्य चारदिनको अवधिमा महिलाको शरीर शिथिल हुने, शारीरिक श्रम बढी भयो भने बढी रक्तस्राब (ब्लिडिङ्) हुने, मानसिक रुपमा पनि त्यो बेला अलि मुड–अफ र आक्रामक हुने मानसिकता देखिन्छ । त्यसैले त्यो बेला विश्रामको जरुरत पर्ने भएकोले रजश्वलाको अभ्यास आयुर्वेदले सिकाएको हो । तर क्वारेन्टाईनको वैज्ञानिक स्वास्थ्य चेतनालाई बङ्ग्याएर गलत अर्थमा बुझ्न थालियो, छाउपडी अन्धविश्वासपूर्ण विकृत चलन भयो । यसले गर्दा हिजोका समाधानका उपाय आज समस्याका रुपमा लिईयो ।
हामीकहाँ सुत्केरी महिलालाई २२ दिनसम्म क्वारेन्टाईन र किटाणुशोधन उपायका साथ राख्ने गरिन्छ । गाईगोठमा संक्रामक रोग वा ब्याधीयुक्त कुनै जिवाणु हुँदैनन् भन्ने आयुर्वेदको मान्यतालाई गलत अर्थमा अपनाउने हुँदा मध्यपश्चिम र सुदूरपश्चिमका समाजमा छोराछोरीलाई जन्म दिन आज पनि सुत्केरीलाई गाईगोठमा राख्ने अभ्यास गरिन्छ, जो आजको सुविधाजनक अवस्थामा पुरातन वैज्ञानिक पद्धति कलंकित भएको छ ।
गाउँमा बिफर, झाडाबान्ता, रुघाखोकी (ईन्फ्लूएन्जा) आदिजस्ता ठूला महामारी चल्दा मध्यपश्चिम र सुदूरपश्चिम समाजका मानिसहरू ‘देवी गाउँ पसिन्, त्यसैले जोगिनुपर्छ’ भनी घर छोडेर जंगल पस्छन् । महामारीबाट बच्न क्वारेन्टाईनको अर्थमा यसलाई बुझेको भए वैज्ञानिकता मानिन्थ्यो, तर महामारीमा देवीदेवता देख्ने हुँदा चेतना अन्धविश्वासतिर गयो, जसबाट अन्य विकृति, विसंगति र कलंक देखाप-यो ।
मानिसको भोजन–समय संवेदनशील क्षण हो भनी हिन्दू संस्कारमा मानिएको छ । यस्तो बेलामा रोगब्याध र किटाणुबाट बच्न क्वारेन्टाईन र स्टेरिलाईजेशनको विधि अपनाउन आयुर्वेदले सल्लाह दिन्छ ।
खोपको विकास नभएको र रोगब्याध तथा महामारीको विगविगी भएको पुरानो जमानामा खानेशैलीमा अपनाईने पवित्रता र क्वारेन्टाईन स्वास्थ्यरक्षा र प्रतिरोधात्मक उपचारको अनिवार्य वैज्ञानिक उपायका रुपमा लिईन्थ्यो ।
त्यसैले अघिपछि लगाएका लुगाहरूमा विषाणु वा किटाणु हुने जोखिमको कारण त्यस्ता लुगा फुकालेर खाने बेलामा मात्र प्रयोग गर्ने विशेष एप्रोनको रुपमा धोती फेर्ने, कसैले आफ्नो भोजन आफैँ बनाउने (स्वयंपाक्य), अघिपछि कुनै अपवित्र चिज नपकाएको र खाना बनाएर खाएपछि अलग ठाउँको प्रदूषणमुक्त पवित्र रातोमाटोले सफासँग पोत्नुपर्ने विशेष चुलोमा पकाउने र खाने चलन चलाईयो । तर कालान्तरमा यो विशुद्ध वैज्ञानिक भोजनविधिले जातपात, धर्म, मानिसमा ठूलोसानो हेलाहोचो र भेदभावका रुपमा कलंकमय र सीमित भयो ।
आफ्ना दिवंगत प्रियजनको अन्तिम विदाईको संस्कारमा अपनाईने हिन्दु काजकिरिया पनि मूख्यतः क्वारेन्टाईन र किटाणुशोधनको प्रक्रियामा आधारित छ । मृत्यु भएको आफ्नो प्रियजनको अपरिभाषित रोगसँग संसर्ग हुनपुगेका छोराछोरीले शारीरिक दूरी कायम गर्दै १२÷१३ दिन कसैलाई नछोई अलग बस्नुपर्ने बच्नुपर्ने उपाय अपनाईएको हो ।
पवित्र मनका लागि पवित्र शरीर र पवित्र वातावरणमा पवित्रता धारणका साथ गरिएको विधि पितृसमक्ष पुग्छ भन्ने श्रद्धापूर्ण विश्वास हो । यो कुनै जातीपातीको बडप्पन, शान र असमानताका लागि अपनाईएको थिएन । जसले पालन गर्नुपर्ने हो आज उनीहरूको अल्पबुद्धिले विकृत भयो ।
मानवीय अस्तित्वको लागि ब्रम्हाण्डको ज्ञान, स्वस्थ जीवनको लागि पञ्चतत्वको संरक्षण र स्वच्छता, वातवरणीय (हिमाल, नदी, वृक्ष आदि) को सुरक्षा, नियमित आहार–विहार, चेष्टा, व्यायाम, शौच, स्नान, शयन, जागरण आदि गृहस्थ जीवनका लागि उपयोगी शास्त्रोक्त दिनचर्या, रात्रिचर्या र ऋतुचर्याको पालन गर्नु, संकटजन्य गतिविधिबाट बच्ने उपाय, विवेक तथा ध्यानपूर्वक काम गर्ने शैली, इंद्रियलाई काबुमा राख्नु, शारीरिक क्षमताको विचार गरेर मात्र कुनै काम गर्नु, मल–मूत्र आदिको परित्यागमा स्वास्थ्योचित विधि अपनाउनु, काम, ईष्र्या, द्वेष, लोभ, अहंकार आदिबाट बच्ने, सदाचारको अनुपालन, जलवायुका दोष, सूर्य वा चन्द्रग्रहणजस्ता सौर्यमण्डलका गडबडी, महामारिमा अपनाउने उपायको अवलम्बन आदि नै हाम्रा संस्कार र जीवनचर्याका आधारभूत विशेषता हुन् ।
स्वास्थ्यविज्ञान मानिने आयुर्वेदबाट हिन्दू धर्मशास्त्रले संस्कृतिका रुपमा अनुयायीहरूलाई निर्देश गरेको हो । हाम्रा संस्कार, दिनचर्या तथा जीवनशैली हिन्दू दर्शन तथा संस्कारमा आधारित र त्यो संस्कार आयुर्वेदद्वारा निर्देशित एवं स्वास्थ्यसंहिताबाट अनुप्राणित छ ।
यसलाई नबुझेर धर्म र पाप, जातीगत उचनीच वा बडप्पनजस्ता कुरीतिको रुपमा अपनाईन थालेपछि विवादास्पद, बहिस्कार र निषेधको अवस्था आयो ।
लेखकबाट थप :
धर्मनिरपेक्षता, भ्रम र यथार्थ !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया