चन्द्रमणि गौतम- आज बैशाख २५ गते, बुद्ध जयन्ती, प्राचीन कपिलबस्तु राज्यका राजकुमार जो पछि भगवान गौतम बुद्धका नामले विश्वभरि चिनिए ।
‘एशियाका ज्योती’ भनिने उनका संसारमा सबभन्दा धेरै र ठूलठूला मूर्ती बनाइएको छ । हेगस्थित अन्तरराष्ट्रिय न्यायालयको भवनमा पनि उनको मूर्ती सजाइएको छ । दरबारको उत्तराधिकारी राजकुमार सिद्धार्थले राजपाट त्यागेर बुद्धत्व आर्जन गरे । उनी बैशाख पूर्णिमाका दिन जन्मे । सोही तिथिमा बुद्धत्व प्राप्त गरे । सोही तिथिमा ८० वर्षको उमेरमा आज भारतमा पर्ने कुशिनगरमा महापरिनिर्वाण (देहान्त) भए । उनको मृत्यु भीक्षाटनमा पाएको दूषित खानाबाट फूड प्वाइजनिङ्बाट भएको विश्वास गरिएको छ ।
यो वर्ष २५६४ औँ जयन्ती हो । इशापूर्व ५६३÷४८०–४८३÷४०० उहाँको जीवनकाल हो । बुद्धको शिक्षा पूर्वमा इन्डोनेशियादेखि पश्चिममा अफगानिस्तानसम्म उत्तरमा जापानदेखि दक्षिणमा श्रीलंकासम्म सबभन्दा सशक्त प्रभाव आज पनि विद्यमान छ । भारतले बुद्ध भारतमा जन्मेका हुन् भनी संसारभरि प्रचार गरिरहेको छ । यसबारे भारतीयहरू कुतर्क गर्छन्, “सिद्धार्थ गौतम पो आजको नेपालमा जन्मेका हुन्, तर उनले पाएको बुद्धत्व त भारतमै जन्मेको हो ।”
बुद्धका मूख्य ‘३२ लक्षण’ थिए रे ! उनले शाक्य परम्पराअनुसार बिहे गर्नुअघि रणकौशल तालिम लिएका थिए । सुगठित शरीर, सुन्दर अनुहार, लामालामा कान, नीला आँखा, तेज स्मरण शक्ति, अद्वितीय चिन्तनशक्ति आदि ३२ गुण बताइएको छ । भगवान बुद्धका उपदेश विश्वभरि निर्विवाद र श्रद्धाका साथ पढिन्छ । मुसलमानहरू पनि बुद्धलाई यथोचित श्रद्धा गर्छन् । संसारमा सबभन्दा धेरै र सबभन्दा ठूला मूर्तीहरू बुद्धकै छन् ।
२०४० सालमा रहस्यवादी दार्शनिक आचार्य रजनीश आफ्ना २०० अनुयायीसहित काठमाडौँ आएर सोल्टी होटलमा बसे । पत्रकार भेटघाटमा उनले भने “तिमी नेपालीहरू बेवकुफ हौ । भारतले बुद्ध भारतमा जन्मेको प्रचारबाजीलाई पनि चूप लागेर सुनिरहन्छौ ।”
भगवान गौतम बुद्धसँग जोडिएको संसारको प्रख्यात तीर्थस्थल, लुम्बिनीको बारेमा चर्चा नगरी बुद्धको विषयले पूर्णता पाउन सक्दैन । लुम्बिनीको चर्चा गर्दा तीन अविष्मरणीय व्यक्तित्वबारे चर्चा नगरी त्यसले पनि पूर्णता पाउँदैन– १) राष्ट्रसंघका पूर्वमहासचिव ऊ–थान्ट, २) लुम्बिनी गुरूयोजनाका डिजाईनर जापानी केन्जो टाङ्गे र ३) इतिहासमा मौर्य सम्राट अशोकका नामले प्रख्यात तथा बुद्धधर्मलाई दक्षिण र दक्षिणपूर्वी एशियामा फैलाउने महापुरुष ।
ऊ थान्ट
२०२४ बैशाखमा तत्कालीन राष्ट्रसंघका महासचिव उ थान्त (बर्मेली राष्ट्रियता) ले नेपालको भ्रमण गर्दा लुम्बिनीलाई संसारकै तीर्थ केन्द्रका रुपमा विकसित गर्ने प्रस्ताब राखे । २०२६ सालमा युएन्डीपीले सो प्रस्ताबको अनुगमन गर्दै पहिले १३ देश र पछि १६ देश सदस्यको रुपमा सम्मिलित लुम्बिनी अन्तर्रा्ष्ट्रिय विकास समिति (International Committee for the Development of Lumbini,ICDL) गठन भयो ।
राष्ट्रसंघका तेस्रो महासचिव उ थान्ट (१९९०९–१९७४) बर्मेली राष्ट्रियताका कुटनीतिज्ञ हुन् । दोस्रा महासचिव ड्याग ह्यामरसोल्डको अफ्रिकामा हवाई दुर्घटनामा निधन भएको ६ हप्तापछि, उनले १९६१ देखि १९७१ सम्म राष्ट्रसंघ महासचिवको कार्यभार सम्हाले । उनलाई तेस्रो कार्यकालका लागि पनि प्रस्ताब आएको थियो तर उनले इन्कार गरे । १९६२ मा क्युबाको क्षेप्यास्त्र तैनातबारे सोभियत संघ सम्बद्ध काण्डमा उनले अमेरिकी राष्ट्रपति जोहन एफ. केनेडी र सोभियत नेता निकिता ख्रुश्चेभका बीच मध्यस्थता गरी सम्झौतामा पु-याए । फोक्सोको क्यान्सरले उनको निधन भयो ।
केन्जो टाङ्गे
केन्जो टाङ्गे (१९१३–२००५) प्रख्यात जापानी वास्तुविद (आर्किटेक्ट) हुन् । यिनले आर्किटेक्टमा सबभन्दा प्रतिष्ठित पुरस्कार तथा सम्मान पाएका थिए । सन् १९७८ मा लुम्बिनीस्थित बुद्ध जन्मस्थलको गुरुयोजना (मास्टर प्लान) उनैको सिर्जना हो ।
राष्ट्र संघका तत्कालीन महासचिव उ थान्टले लुम्बिनी गुरुयोजनाका लागि गम्भीरतापूर्वक चासो लिएपछि उनैको सल्लाहमा यी विश्व प्रख्यात आर्किटेक्टलाई लुम्बिनीको मास्टर प्लान तयार गर्न नेपाल सरकारले जिम्मा लगायो । उनले सो गुरुयोजनाका लागि करिब १३ सय विघा जमिन अधिग्रहण गर्नुपर्ने सल्लाह दिएका थिए ।
नेपाली योजनाकारका हातमा यो काम आएको भए उनीहरूले धेरैमा काठमाडौँको टुँडिखेल जति पनि जमिन अधिग्रहण गर्थे कि गर्दैनथे ।
२०२९ सालमा जापानी परामर्शदाता तथा डिजाइनर केन्जो टाँगेले वर्तमान लुम्बिनीको गुरुयोजना तयार पार्न शुरु गरे र २०३५ सालमा पूरा गरे । यो गुरु योजनाले ५ वर्गमल क्षेत्र लिएको छ ।
यिनले हिरोशिमा राष्ट्रिय शान्ति उद्यानको गुरुयोजना (१९४९) बनाएपछि अन्तर्रा्ष्ट्रिय ख्यातीमा आएका हुन् । शुरूमा स्विस आधुनिकतावादी ले कर्बुजरबाट प्रभावित भए पनि जापानी परम्परागत कलासँग आधुनिक वास्तुकलाको फ्युजन गर्नथालेपछि यिनको ख्याती बढ्दै गएको हो ।
नगर विकासका विषयमा विश्वविद्यालयको अध्ययन गरेका टाङ्गेले दोस्रो विश्वयुद्ध पछिको पुनर्निर्माणमा ठूलो प्रभाव छोडेका थिए । टोक्यो तथा युगोस्लाभियाको स्कोपिए नगरहरूको पुनर्योजनामा पनि यिनले काम गरे । इटलीको नेपल्स्स्थित प्रख्यात सेवा केन्द्र, टोक्यो ओलम्पिक एरेना, पाकिस्तानको सर्बोच्च न्यायालय, ओसाका प्रदर्शनी स्थल आदि आकर्षणका केन्द्रहरु यिनले निर्माण गरेका थिए । ताइवान र सिंगापुरमा पनि यिनले यस्तै कलात्मक र आकर्षक निर्माणको जिम्मा लिएका थिए ।
रिबा स्वर्ण पदक, अमेरिकन इन्स्टिच्युट अफ आर्किटेक्टस् को स्वर्ण पदक, फ्रेन्च राष्ट्रिय स्वर्णपदक, प्रिज्कर वास्तुकला पुरस्कार, ओलम्पिक डिप्लोमा अफ् मेरिट आदि यिनले पाएका केही प्रख्यातीसूचक पदक तथा सम्मान हुन् । टोक्योस्थित आफ्नै घरमा हृदयाघात भएर ९१ वर्षमा उनको निधन भयो ।
सम्राट अशोक
‘एशियाका ज्योति’ भगवान गौतम बुद्ध (ई.पू.५६३र४८०–४८०र४००) लुम्बिनी (आधुनिक नेपाल) मा जन्मेको सर्वप्रथम यकिन गर्ने मौर्य साम्राज्यका सम्राट अशोक हुन् । लुम्बिनीको अशोक स्तम्भ त्यसमा ब्राम्ही लिपीमा लेखिएको ब्यहोरा त्यसैको प्रमाण हो । अशोक स्तम्भमा लेखिएको छ, “जब राजा देवानाम्प्रिय प्रियदर्शिनलाई बीस वर्षअघि अभिषेक गरिएको थियो, तब उहाँ स्वयं यहाँ (लुम्बिनीमा) आउनुभयो र पूजा गर्नुभयो, किनभने बुद्ध शाक्यमुनीको जन्म यहीँ भएको थियो । उहाँले घोडा कुँदिएको ढुङ्गा बनाउन लगाउनुभयो, जो वरदान प्राप्त यहीँ जन्मनु भएको देखाउनका लागि हो । उहाँले लुम्बिनीको गाउँलाई करमुक्त बनाउनु भयो, र आफ्नो उपजको आठौँ अंशमात्र बुझाउँदा हुने बनाइदिनु भयो ।” सोही अशोक स्तम्भमा १३औँ वा चौधौँ शताब्दीतिर रिपु मल्लले ‘ॐ मणि पद्मे हूँ’ थप्न लगाए ।
सम्राट अशोक (ई.पू.३०४(२३२) चन्द्रगुप्त मौर्यको नाती तेस्रो मौर्य सम्राट थिए । उनको शासनकाल (ई.पू.२६८(२३२) हो । कलिङ्ग (आधुनिक उडिसा, भारत) को लँडाईं (ई.पू.२६५ मा अन्त) मा भएको नरसंहारले उनलाई विक्षिप्त बनाएपछि उनी त्यसैबेला लुम्बिनी आएर अशोकस्तम्भ खडा गर्नुका साथै बुद्ध धर्म अँगालेर मौर्य साम्राज्यभर यसको प्रचारप्रसार गरे ।
मूर्तीपूजा र बलिप्रथाको पुरातन नेपालमा बुद्ध जन्मभूमि झाडी र जङ्गलले छोपेको उपेक्षित र बेमतलबको अथाह स्थानका रुपमा थियो । भारतको औपनिवेशिक शासनका ब्रिटिशहरूलाई सन् १८१६ (बि.सं. १८७२) मा सुगौलीको सन्धी गर्दासम्म यो तथ्य थाहा थिएन । थाहा हुँदो हो त सो सन्धी गर्दा लुम्बिनीलाई नेपालसँग रहन दिने थिएनन् ।
बुद्धलाई चिनाउने काम प्राचीन कालमा मौर्य सम्राट अशोकले गरे । भारतका अन्य मौर्य सम्राटहरूले पनि गरे । आधुनिक कालमा बुद्ध जन्मभूमिको पहिलो उत्खनन् खड्ग शम्शेरले एक जर्मन वैज्ञानिकका साथ गरेका हुन् । त्यसपछि राष्ट्र संघका महासचिव ऊ थान्टले राष्ट्र संघबाट लुम्बिनीका लागि आवश्यक प्रारम्भिक कार्यक्रम अगाडि सार्नुका साथै विश्व प्रसिद्ध जापानी डिजाइनर केन्जो टाङ्गेलाई लुम्बिनी विकासको गुरूयोजना बनाउन लगाए । जापानका दशौँ सामाजिक संस्थाहरूले बुद्धका उपदेशहरू प्रकाशित गरी संसारभरि पुर्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया