प्रधानमन्त्री रिसाएपछि नाका निरिक्षणका लागि गृहको टोली नागढुङ्गामा

काठमाडौं । मन्त्रिपरिषद् बैठकमा लकडाउन खुकुलो भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएपछि गृह मन्त्रालय र नेपाल प्रहरीका उच्च अधिकृतहरुको टिम काठमाडौं जिल्ला प्रवेशद्वार नागढुंगा पुगेको छ ।

नाकाको निरीक्षण गर्न आज (मंगलवार) साँझ गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी प्रमुख आईजीपी ठाकुरप्रसाद ज्ञवाली, उपत्यका प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेल, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीलगायतको टिम नागढुंगा नाकामा चेकजाँच बारे जानकारी लिन त्यहाँ पुगेको हो ।

नाकाबाट लुकिछिपी उपत्यका भित्रिने तथा आवश्यक कामबिना सवारीसाधन चलाउने गरेको पाइएपछि गृहमन्त्रालय सहितको टोली निरीक्षणमा निस्किएको हो ।

यस अगाडि पनि डिआईजीपी विश्वराज पोखरेल आफ्नो टोली सहित निरिक्षणको लागि त्यहाँ पुगेका थिए । आज भने उक्त टोली निरिक्षण गर्दै धादिङसम्म पुग्ने बताइएको छ ।

यस अघि वडाको सिफारिसमा समेत गाडी रिजर्भ गरेर नागढुंगा नाकामा आउने र त्यहाँ झरेर जंगलको बाटो हुँदै काठमाडौं भित्रने गरेको भन्दै स्थानीयले चन्द्रागिरी नगरपालिकाका मेयरसहितको टोली गुहारेका थिए ।

त्यसपछि मेयर स्वयं नै नाकामा पुगेर चेकजाँच कडाई गर्न निर्देशन दिँदै समन्वय गर्न नगरपालिका तयार रहेको बताएका थिए । गृहमन्त्रालय श्रोतका अनुसार अब लकडाउनमा कडाई गर्न प्रधानमन्त्री स्वयंले निर्देशन दिएका थिए ।

मंगलवार मात्रै नेपालमा ७४ जना कोरोना संक्रमित पुष्टि भएका छन् । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २०८ पुगेको छ ।

त्यस्तै ३४ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् । भारतमा संक्रमितको संख्या बढेसँगै नेपालमा पनि तीव्र गतिमा संक्रमित बढीरहेका छन् ।

खुल्ला सिमाना नेपालको लागि सबैभन्दा ठूलो चुनाति भएको कुरा पुष्टि भएको छ ।

यसअघि प्रकाशित :

नेपालमा एकैदिन ७४ जनामा कोरोना भेटियो, फेरि थपिए १७ जना

बारामा अनिश्चितकालिन ‘कर्फ्यू’ जारी, सबै पास खारेज !

बढेको बढ्यै कोरोना संक्रमित, सबै सवारी पास रद्ध !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?