जापान र हङकङमा बस्दै आएका नेपालीलाई चार्टड फ्लाइट मार्फत फर्काइने

काठमाडौं । जापान र हङकङमा अध्ययन वा अन्य कामको शिलशिलामा बस्दै आएका तर लकडाउनका कारण नेपालमा रहेका नेपालीहरुलाई चार्टड फ्लाइट मार्फत पठाइने भएको छ ।

शुक्रवार बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिले उक्त निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए ।

सचिव विडारीले लक डाउनका कारण जापान जानबाट रोकिएका ६ सय र हङकङको आइडी प्राप्त नागरिकलाई स्वास्थ्य परीक्षण, अध्यागमन प्रकृया पुरा गरी पठाउने निर्णय भएको बताए ।

त्यस्तै समितिले शुक्रवार स्वास्थ्य क्षेत्रका विभिन्न विज्ञहरुसँग छलफल पनि गरेको छ । अहिलेको अवस्था र लक डाउनको मोडालिटी परिवर्तन गरी कसरी जनजीवन सहज बनाउन सकिन्छ भन्ने विषयमा विज्ञहरुसँग छलफल भएको हो । छलफलमा विज्ञहरुले परीक्षण, कन्ट्रयाक्ट ट्रेसिङको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनको व्यवस्थापन राम्रोसँग गर्नुपर्ने सुझाव दिएका छन् । आत्तिनुपर्ने अवस्थामा नभएपनि सचेत हुनुपर्ने, विदेशबाट आउनेहरुको सवालमा सम्बन्धित स्थानीय तहहरुमा क्वारेन्टाइनको उचित व्यवस्थान गरी ल्याउनुपर्ने सुझाव पनि दिइएको नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?