काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन थप निर्णय गरेको छ ।
जेठ २ गते बसेको जिल्ला प्रशासनको बैठकले पास बिना काठमाडौं प्रवेश गर्ने सवारी तथा मानिसहरुलाई थप कडाई गर्ने निर्णय गरेको हो ।
आजको बैठकले एम्बुलेन्स, शव बाहन, औषधि तथा स्वास्थ्य सामग्रीहरु, सबै प्रकारका औद्योगिक कच्चा पदार्थ र तयारी मालवस्तु, पेट्रोलियम पदार्थ, ग्याँस, सबै प्रकारका खाद्य वस्तु, पशुपंक्षीजन्य आहारा, माछामासु, तरकारी, फलफूल, निर्माण सामाग्री बोकेका सवारी साधनहरु पास बिना परिवहन हुने र ति बाहेक अन्य सवारी साधनहरु र पैदल यात्रुलाई काठमाडौं प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।
काठमाडौंका भित्री तथा बाहिरी सडक र गल्लीहरुमा अनावश्यक भीड हुने गरेकोले त्यसो नगर्न र यदि अटेर गरे सुरक्षाकर्मीले प्रचलित कानून बमोजिम काम कारवाहीका लागि नियन्त्रण गर्न सक्ने निर्णय भएको जनाएको छ ।
साथै प्रशासनले सवारी पास आवश्यक पर्ने व्यक्ति तथा संस्थाहरुले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सम्पर्क राख्न अनुरोध गरेको छ ।
साथै आजको बैठकले यस अगाडि जारी गरेका पहेँलो रङको सवारी पास समेत खारेज गरेको छ ।
उक्त बैठकले निर्माण सामग्री बोकेको गह्रौं सवारी साधनहरु बेलुका ८ देखि विहा ६ बजेसम्म चल्न सक्ने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया