कहाँबाट आएका थिए सिरहाका पहिलो कोरोना संक्रमित ?

काठमाडौं ।  सिरहामा कोरोना संक्रमण देखिएका ३० वर्षीय पुरुष ६६ दिन अघि विदेशबाट आएको खुलेको छ । शनिवार कोरोना संक्रमण देखिएका ती पुरुष सखुवा नन्कारकट्टी गाउँपालिका वडा नं १ मौवाहीका हुन् ।

उनी गत फागुन २८ गते मलेसियाबाट नेपाल आएको र १४ दिन गाउँपालिकाको क्वारेन्टाइनमा बसेको त्यहाँको स्थानीय प्रशासनले जनाएको छ । सिरहामा कोरोना संक्रमण पहिलोपटक देखिएसँगै प्रदेश नं २ का सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

यो समाचार तयार पार्दासम्म प्रदेश नम्बर २ का जिल्लाहरु पर्सामा ९१, सर्लाहीमा २, सप्तरीमा १, धनुषामा ४, बारामा ३, रौतहटमा ३ र महोत्तरीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

६६ दिन अघि विदेशबाट आएका उनलाई कसरी कोरोना संक्रमण देखियो भन्ने खुल्न सकेको छैन् । साथै उनको सम्पर्कमा आएका सबैको कन्ट्याक टे्रसिङको काम भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।
उनमा कोरोना संक्रमण देखिएसँगै आम मानिसमा त्रास बढेको छ । जोखिम थप नफैलियोस भन्नका लागि गाउँ नै सील गर्ने तयारी भइरहेको छ ।

आज मात्रै नेपालमा ९ जनामा कोरोना संक्रमण देखिएको छ । आज थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको छ । भने ३६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका र उपचाररत सबैको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?