काठमाडौं । नेपालमा कोरोनाको कारण १ जनाको मृत्यु भएको छ ।
ज्यान गुमाउनेमा सिन्धुपाल्चोककी २९ वर्षीया महिला हुन् ।
नेपालमा कोरोना बाट मृत्यु हुने पहिलो नेपाली उनै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनी गत बैशाख २३ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएकी थिइन् । बैशाख २४ गते सुत्केरी भएपश्चात २५ गते डिस्चार्ज भएर घर फर्किएकी थिइन् ।
उनलाई ज्वरो, श्वासप्रश्वासमा समस्या भएपश्चात सिन्धुपाल्चोककै स्थानीय अस्पतालमा थप स्वास्थ्य उपचार गराइएको थियो । स्वास्थ्य अवस्था थप जटिल भएपछि धुलिखेल अस्पताल ल्याउँने क्रममा बाटोमा मृत्यु भएको थियो ।
उनको कोरोनाको कारण या अन्य कारण मृत्यु भन्ने पुष्टि गर्नका लागि शनिवार नै स्वास्थ्य मन्त्रालयले अनुसन्धान गर्न विज्ञ टोली धुलिखेल अस्पताल पठाएको थियो । अनुन्धान पश्चात उनको कोरोनाको कारण नै मृत्यु भएको शनिवार साँझ पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै शनिवार साँझ नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका कोरोना संक्रमित धनुषा निवासी २५ र ६५ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ भने ३६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया