कोरोनाबाट मृत्यु भएकी महिलाको दाहसंस्कार गरियो

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको दाहसंस्कार गरिएको छ । आजै साँझ पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको छ ।  सुरक्षास्रोतका अनुसार उनको पशुपतिको विद्युतीय शवदाहगृहमा शनिबार राति दाहसंस्कार गरिएको हो ।

नेपालमा कोरोना बाट मृत्यु हुने पहिलो नेपाली उनै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनी गत बैशाख २३ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएकी थिइन् । बैशाख २४ गते सुत्केरी भएपश्चात २५ गते डिस्चार्ज भएर घर फर्किएकी थिइन् ।

उनलाई ज्वरो, श्वासप्रश्वासमा समस्या भएपश्चात सिन्धुपाल्चोककै स्थानीय अस्पतालमा थप स्वास्थ्य उपचार गराइएको थियो । स्वास्थ्य अवस्था थप जटिल भएपछि धुलिखेल अस्पताल ल्याउँने क्रममा बाटोमा मृत्यु भएको थियो ।

उनको कोरोनाको कारण या अन्य कारण मृत्यु भन्ने पुष्टि गर्नका लागि शनिवार नै स्वास्थ्य मन्त्रालयले अनुसन्धान गर्न विज्ञ टोली धुलिखेल अस्पताल पठाएको थियो । अनुन्धान पश्चात उनको कोरोनाको कारण नै मृत्यु भएको शनिवार साँझ पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै शनिवार साँझ नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका कोरोना संक्रमित धनुषा निवासी २५ र ६५ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ भने ३६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस् : मन्त्रालयले भन्यो-कोरोनाबाट १ जनाको मृत्यु

साङ्केतिक तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?