काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी गरेको लकडाउनको आज ५६ दिन पुगेको छ । गत चैत ११ गतेदेखि सरकारले लकडाउन गरेको छ । लामो समय सम्म लकडाउन हुँदा जनवजीवन प्रभावित भएको छ । अत्यावस्यक बाहेकका सबै सेवा बन्द भएका छन् । गत साता सरकारले आर्थिक जीवनमा असर परेको भन्दै लकडाउनलाई केही खुकुलो पार्ने र उद्योग तथा कार्यालयहरु खोल्न दिने निर्णय गरेको थियो ।
तर देशभर संक्रमितको संख्यामा वृद्धि भएपछि सरकारले लकडाउनलाई फेरी कडाई गरेको छ । सरकारले लकडाउनको समय अवधि फेरी १५ दिन थप गरी जेठ २० गते सम्म पुर्याएको छ । यस अघि तोकिए अनुसार आज (सोमबार) मध्यरात पछि लकडाउन सकिदै थियो ।
सोमबार काठमाडौं उपात्यकाका विभिन्न ठाउँमा पुग्दा लकडाउनको पालना भएको पाइएको छ । सुरक्षाकर्मीले चोकचोकमा बसेर सवारी साधनको चेकजाँचलाई कडाई पारेको छ । अत्यावस्यक सेवाका बाहेकका सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको देखिन्छ । यस्तै मानिसहरुको आवागमन पनि न्यून छ । सडकका विभिन्न ठाउँमा नेपाली सेनाले समेत चेकजाँच गरेको छ । नेपाली सेनाको पोशाक दुरुपयोग भएको पाइएपछि नेपाली सेनाले पनि चेकजाँच सुरु गरेको हो ।
उपत्यकाका मूख्य सडकमा अत्यावस्यक सेवाका सवारी साधनहरु सञ्चालनमा आएपनि भित्रि सडकमा भने खासै सवारी साधनको आवागमन देखिदैन् । केही अत्यावस्यक खाद्य वस्तुका पसलहरु खुलेका छन । मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर उपभोग्य सामग्री किनमेल गरेको देख्न सकिन्छ ।
आज (सोमबार) बिहान नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा संक्रमितको संख्या ३०४ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज थपिएका कोरोना संक्रमितहरु रौतहट इशनाथ नगरपालिका निवासी २, ३, ६ र ९ का २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष तथा रौतहट माधवनारायण नगरपालिका निवासी २८ वर्षीया महिला रहेकी छन् ।
त्यस्तै बारा करैयामाई ५ निवासी ३८ वर्षीय पुरुषलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
यो पनि पढ्नुहोस् : थप ९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित ३०४ पुगे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया