काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानी फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गरेका छन् ।
संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नसँगै उनले दोहोर्याएर भारतीय अतिक्रमणको पनि कडा शब्दमा जवाफ दिँदै भने, ‘सत्यमेव जयते कि सिंहमेव जयते’ ?
सांसदको प्रश्नको जवाफमा उनले भने “नयाँ नक्सा पारित भइसकेको छ । अब प्रकाशित हुन्छ । हामी ठोस रूपमा कूटनीतिक प्रयास लिनेछौं । त्यो भूभाग समेटेर नयाँ नक्सा तयार गर्नेछौं, भारतले हाम्रो भूमि बेकारको अकुपाई गरेर आफ्नो बनाएको छ । यो विषय सेलाउँन दिइने छैन । कूटनीतिक पहलबाट फिर्ता ल्याइनेछ । अब लिम्पियाधुरा, कालापानी, लिपुलेकका विषय सेलाउन दिइने छैन, भूमि फिर्ता लिने अठोटका साथ यो अगाडि बढाइनेछ ।”
नक्सा सार्वजनिक र सीमा विवादको कुरालाई अगाडि बढाउनको लागि सबैको ऐक्यवद्धता, सहयोग आवश्यक पर्ने पनि बताए । साथै क्रिया प्रतिकृया गर्दै आफूले भारतसँग क्रिया प्रतिकृया गरि कुटनीतिक तवरले सीमा समस्या सल्ट्याउन चाहेको पनि बताएका छन् ।
उनले भने, “यसको लागि सबैको ऐक्यवद्धता चाहिन्छ । सबैको सहयोग चाहिन्छ । वादविवाद, क्रिया प्रतिक्रिया पछि गरौँला । म भारतसँग यो कुरा कुटनीतिक तवरले सल्ट्याउने काम छिट्टो होस् भन्ने चाहन्छु ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया