कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन कसरी गरीन्छ ? परिवारले टाढैबाट हेर्न पाउँछन्, छुन पाउँदैनन् !

काठमाडौं । विश्वभर स्वास्थ्य चुनौतिको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड-१९’ को महामारीबाट बच्न नेपालमा लकडाउन नीति अपनाईएतापनि हालसम्म ४ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आजमात्रै नेपालमा कोरोना संक्रमणका कारण १ जनाको ज्यान गएको छ ।

तपाईलाई लाग्न सक्छ, कोरोनाको कारण मृत्यु भएकाहरुको शव कसरी व्यवस्थापन गरीन्छ ?

कोरोना भाइरस ‘कोभिड १९’ बाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्न सरकारले यसअघि नै कार्यविधि बनाइसकेको छ। सोही कार्यविधिअनुसार सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको शव व्यवस्थापन गरिएको थियो । अब आजका मृतकको पनि सोही कार्यविधी बमोजिम अन्तिम संस्कार गरिनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधिमा मृत्यु भएका व्यक्तिको अन्तिम कर्म अन्य रोगी मृतकको जस्तो हुँदैन । अर्थात् परिवारले उनलाई टाढैबाट हेर्न पाउँछन् तर छुन वा अन्तिम संस्कार गर्न पाउँदैनन् ।

कार्यविधिअनुसार कोरोनाबाट मृत्यु भएकाको शव उठाउनुअघि शव वाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य प्रयोग गर्नुपर्छ ।

त्यस्तै मृतकको अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रुपमा पन्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई लगाउनुपर्छ भने मृतकको शवलाई कम चलाउने र शवमा लागेका पाइप, केथेटरलगायत सामग्री सतर्कतापूर्वक हटाउनुपर्ने हुन्छ ।

त्यस्तै मृतकलाई अन्तिम संस्कार गर्ने घाटसम्म लान साधारण शव वाहनको प्रयोग गर्न सकिएपनि सकेसम्म शवलाई छिटो अन्तिम संस्कार गर्ने ठाउँमा पुर्याउनपर्ने हुन्छ ।

६० वर्ष उमेर कटेका व्यक्ति र दीर्घ रोगीलाई कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको नजिकै जान दिनु नदिने, अन्तिम संस्कार गर्दा सकभर शव नछुने तथा कोरोनाबाट मृत्यु भएकाको पोष्टमार्टम सामान्यतया गर्न नपर्ने गरेपनि सावधानी अपनाएर मात्रै गर्ने कार्यविधिमा उल्लेख छ ।

कोभिड-१९का कारणले मृत्यु भएका व्यक्तिको सामान्यतया पोस्टमार्टम गर्न नपर्ने पनि कार्यविधीमा छ । यदि पोष्टमार्टम गर्नुपरेमा मृतकको फोक्सो तथा अन्य अंगहरुमा जीवाणु जिउँदै हुनसक्ने हुनाले होसियारी अपनाएर गर्नुपर्ने उल्लेख रहेको छ । पोस्टमार्टम गरे यथेष्ट भेन्टिलेसनको व्यवस्था भएको कोठामा न्यून स्वास्थ्यकर्मीको उपस्थितिमा आवश्यक पीपीई प्रयोग गरेर गर्न सकिने कार्यविधिमा उल्लेख छ ।

शवको कुनै भागबाट रक्तश्राव भइरहेको भए त्यस भागलाई होसियारीपूर्वक बन्द गरेर सुरक्षित हुनुपर्छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

तेस्रो मृतक गुल्मीका शिक्षक

प्रदेश नम्बर ५ मा दोश्रो पटक कोरोना संक्रमितको मृत्यु भएको छ । गुल्मीका संक्रमित ४१ वर्षीय पुरुषको रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए ।

गम्भीर अवस्थामा भेज्टिलेटरमा उपचार भइरहेका उनको बिहीबार बिहान मृत्यु भएको हो । साथै उनको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।

गुल्मी मदाने गाउँपालिकाका वडा नं-६ निवासी ती पुरुषमा शुरुमा ज्वरो आउने तथा टाउको दुख्ने समस्याका कारण रुपन्देहीको क्रिमसन अस्पताल भर्ना भएका थिए ।

उपचारको क्रममा उनमा कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिएपछि पिसिआर परीक्षणको लागि प्रादेशीक जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । र परीक्षणका क्रममा कोरोना पाजेटिभ देखिएको थियो ।

दोस्रो मृतक बाँकेका

बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु कोरोना भाइरसको संक्रमणबाट भएको पुष्टि भएको थियो । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको कोरोना भाइरसको संक्रमणबाटै मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जेष्ठ ३ गते बिहान ६ बजे एक्कासी स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टाइनमै उनको मृत्यु भएको थियो ।

पहिलो मृतक सिन्धुपाल्चोककी सुत्केरी महिला

गत जेष्ठ ३ गते शनिबार सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो । उनी गत बैशाख २३ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएकी थिइन् । बैशाख २४ गते सुत्केरी भएपश्चात २५ गते डिस्चार्ज भएर घर फर्किएकी थिइन् ।

उनले गत २४ गते बच्चालाई जन्म दिएकी थिइन् । त्यसपछि सिन्धुपाल्चोकको घरमा बस्दै आएकी उनमा अचानक ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । त्यसपछि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । कोरोनाको आशंकाकमा उनको स्वाब परिक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको दाहसंस्कार जेष्ठ ३ गते साँझ पशुपति आर्यघाटमा गरिएको थियो । उनको पशुपतिको विद्युतीय शवदाहगृहमा शनिबार राति दाहसंस्कार गरिएको थियो ।

कोरोनाका कारण उनको मृत्यु पछि उनका श्रीमान र परिवारका अन्य सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । यसको मतलब उनीहरुमा कोरोना देखिएन । मृतक महिलाका श्रीमान, छोरा, आमा र बहिनीको नमुना संकलन गरिएकोमा उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । धेरैले नवजात शिशुको स्वास्थ्यमा चिन्ता गरेका थिए । उनको पनि धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको छ । सिन्धुपाल्चोकको प्रशासनको समन्वयमा उनीहरुलाई घरमा लगिने, त्यहाँ लगेर १४ दिन क्वारेन्टाइनमा राखिने र त्यसपछि फेरि पीसीआर गरिने तयारी छ ।

त्यस्तै, उनको मृत्यु भएकै धुलिखेल अस्पतालबाट ओखलढुङ्गा पुगेका चार जनालाई क्वारेन्टाइनमा राखिएको छ । काभ्रेको धुलिखेल अस्पतालमा शनिवार कोरोनाबाट सुत्केरी महिलाको मृत्यु भएपछि सोही अस्पतालमा उपचार गराएर आएका चार जनालाई क्वारेन्टाइनमा राखिएको हो । उनीहरु धुलिखेल अस्पतालबाट शनिवार दिउँसो एम्बुलेन्समार्फत ओखलढुङ्गा पुगेका थिए । क्वारेन्टाइनमा पठाइएकामा सिद्धिचरण नगरपालिका–५ मा बस्दै आएका सोलुखुम्बुको नेचासल्यानका एक बिरामी, उनका भिनाजु, माइजू र एम्बुलेन्स चालक रहेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?