काठमाडौं । श्रीमद्भगवद्गीता कर्म मार्गमा संलग्न रहन प्रोत्साहन र प्रेरणा दिने महत्वपूर्ण ग्रन्थ हो । यसले कर्म योगमा बारेमा विस्तृत वर्णन गरेको छ र निष्काम तथा भक्तिप्रधान कर्मयोगमा बढी जोड दिएको छ ।
हामीले सामान्य अर्थमा भन्नुपर्दा कुनै काममा संलग्न रहनु कर्मयोग हो, तर श्रीमद्भगवद्गीताले फलेच्छारहित निष्काम कर्म गर्नमा जोड दिएको छ ।
स्वार्थ त्यागेर निष्काम भावले अरुको सेवामा समर्पित भई संसारकै कल्याण र भलाईका लागि कर्म गर्नु नै कर्म योग हो ।
कर्मफलको आसक्ति त्यागेर नित्यतृप्त र निराश्रय भई निष्काम कर्म गर्नाले मनुष्य संसारबाट माथि उठ्दछ ।
यहि नै कर्म योगको निचोड पनि हो । शुभाशुभ सबै कर्मको फल परमेश्वरमा समर्पण गर्नु पनि निष्काम कर्म योग नै हो ।
श्रीमद्भगवद्गीताको दोस्रो अध्यायको ४७ स्लोकमा लेखिएको छ ।
कर्मण्यवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।।
कर्म गर्नु मनुष्यको अधिकार हो र कर्मफल उसको अधिनमा छैन र उसको अधिकारको कुरो होईन । त्यसैले कर्मफलको हेतू वा कारण बन्नु हुदैन र कर्म गर्दा त्यसप्रतिको आसक्ति,आकांक्षा र कामना परित्याग गर्नुपर्दछ ।
कर्म नगरि निष्क्रिय रहन पनि गीतोक्त कर्मयोगले स्विकार्दैन । श्रीमद्भगवद्गीता भन्दछ– “मा ते सङ्गस्त्वकर्मणि” अकर्ममा अर्थात् काम नगरि निष्क्रिय रहने कुरामा आशक्ति नरहोस् ,कर्म गरेरै बस्नु पर्ने कुरामा जोड दिएको छ ।
श्रीमद्भगवद्गीताको अनुसार जब काम गर्ने व्यक्तिमा कर्मफल प्रतिको चाहना रहन्छ ,त्यहाँ कतृत्वभाव रहेको हुन्छ ।
यसबाट उसको अभिमान,आशक्ति र अहंकार पैदा हुन्छन् अनि उ कर्तृत्वका अभिमानबाट छुट्कार पाउन सक्दैन र बन्धमा पर्दछ ।
श्रीमद्भगवद्गीता अठारौँ अध्यायको १७ औँ श्लोकले बताउँछ ,जसका अहंकार र ममताका भावनाहरु छैनन् ,जो सदा सन्तुष्ट भई समग्र कामनाहरु त्यागेर कर्म गर्दछ ।
जसको वुद्धि पनि लिप्त हुँदैन,उसले जस्तो सुकै कर्म गरेपनि उ कर्म बन्धनमा पर्दैन ।
कर्कलाको पातको पानीझैँ त्यस्तो व्यक्तिको कर्मको छोईछिटो हुदैन, उ ओबानै रहन्छ त्यो नै स्थितप्रज्ञ योगी हो ।
श्रीमद्भगवद्गीता कर्मयोगको पक्षपाति छ ,यसले मानिसलाई लोकहित,लोककल्याण र लोकलाई मार्गप्रदशनको लागि कर्म गर्न प्रत्साहन गर्दछ र निरन्तर कर्ममा लागिरहन प्रेरणा दिन्छ ।
निरन्तर कर्म गर,कर्म गरेनौँ भने आफ्नो जीवन निर्वाह गर्न पनि अशम्भव हुन्छ ।
रणभूमिमा पुगेका अर्जुन बन्धुविनाशको शोक र मोहबाट ग्रसित भई युद्ध नगर्ने मनस्थितिमा पुग्दा श्रीकृष्णबाट व्यक्त गरिएको गीतोपदेशले कर्तव्यविमूढ अर्जुनको विचारमा परिवर्तन ल्याई अन्यायको विरुद्ध संघर्षको लागि कर्तव्य कर्ममा संलग्न हुने प्रेरणा प्रदान गर्दछ ।
त्यसैले चारौँ अध्यायको बीसौँ श्लोकको अर्जुनको मनमा परिवर्तन ल्याउन भगवान कृष्ण आज्ञा गर्नुहुन्छ ।
त्यक्त्वा कर्मफलासङ्गं नित्यतृप्तो निराश्रय: ।
कर्मष्यभिप्रवृतोऽपि नैव किञ्चित्करोति स: ।।
कर्मफलको चाहना र आशक्ति त्यागेर नित्यतृप्त र निराश्रय बनी कर्तव्य कर्म गरियो भने केहि पनि गरेको ठहर्दैन र कर्म बन्धनमा परिदैन ।
त्यसैले तिमी निष्क्रिय रहन सुहाउँदैन र कर्मफल प्रति चासो नराखि आफ्नो कर्तव्यकर्म गर । श्रीमद्भगवद्गीताको अनुसार कर्म,अकर्म र विकर्मको भेदले ”गहना कर्मयो गति” कर्मको गति अत्यन्त गहन छ ।
असल नियतले गरिने काम कर्म हो । खराब वा नराम्रो काम विकर्म हो । केही नगरी वस्नु विकर्म हो । तर कोहि केही नगरि निष्क्रिय रहन सक्दैन ।
कसैले केही गर्दिन भने पनि प्रकृतिका गुणहरुले काम गरिरहेकै हुन्छन् र प्रकृतकै अधिनमा मानिसका सबै ईन्द्रियहरु आफ्नो आफ्नो कर्ममा स्वतः लागीरहेकै हुन्छन् । कुनै मानिस जब शरीर,वचन र मनले तल्लीन भई कुनै कर्म गर्न लाग्दछ ।
त्यसबखत त्यो कार्य सिद्ध गर्न पाँच घटकहरुले काम गरिरहेको हुन्छन् ति हुन् अधिष्ठान (आधार जहाँ कर्म गरिन्छ), कर्ता (कर्म गर्ने), करण(साधन वा उपकरण), चेष्टा (विविध प्रयत्न) र दैव वा भाग्य (जो मानविय शक्तिभन्दा पृथक हुन्छ) ।
श्रीमद्भगवद्गीताले कर्मसन्यास (कर्मको परित्याग) भन्दा कर्मफल प्राप्तिको आकाङ्क्षाको परित्यागमा जोड दिईएको छ र सबै कर्मको फलको परित्यागलाई नै त्याग मानेको छ । यज्ञ,दान,तपस्या र ईश्वरको उपासनारुप कर्मलाई परित्याग गर्न नमिल्ने कर्मयोग मानेको छ ।
यसरी श्रीमद्भगवद्गीताले कर्मयोगका विविध पक्षका विशेषता देखाउदै फलेच्छारहित निष्काम कर्ममा निरन्तर संलग्न रहन प्रोत्साहित गर्दछ । ।
ज्यो. दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया