भानु दाहाल
झाडिभित्र एक थुङ्गा फुलेको गुलाफजस्तो छोरो
बुहारी लिन गएको, अझै आइपुगेको छैन ।
अब हरेक साँझ बत्ती बालिनेछन्,
ढोका उज्यालो हुनेछ र मन लाग्नेछ घरै बसिरहूँजस्तो ।
स्त्रीको ममतामय वासनाले घर न्यानो हुनेछ ।
छोरो बुहारी लिन गएको छ ।
मानबहादुर विश्वकर्मा
एकछिन आरन छोडेर
हर्ष, उमङ्ग र खुशीहरूसँग आगनमा बालन नाच्छ
छोरो बुहारी लिन गएको छ ।
एक्कासी
आरनमा आगो कसरी निभ्यो ?
या आँखामा के को छायाँ हो धमिलो ?
बलेसीमा छोरोको लाश लडेको छ
मानिसहरू के भन्दै छन् ?
‘उच्चजातसँग प्रेम गर्नु यस्तै घातक हुन्छ ।’
मानबहादुर चिच्यायो
‘ए उच्च जात !
अभाव, दुःख, कष्टका पिरामिड उठाएर
मानिस–मानिस वीच उपेक्षाका दरार बनाएर
तिमीलाई कुन मोक्ष प्राप्त हुन्छ ?
देखाइदेओ बाटो
दलितको लागि मात्र झुल्किने जुन तारा कहाँ छ ?
बेग्लै चल्ने हावा कहाँ छ ?
दलितको लागि मात्र बग्ने नदी कहाँ छ ?
ए, उच्च जात !
सारा दलितहरूको आत्मा शान्तिको लागि
छोरोको लाश बोकेर म त्यहाँ जानेछु ।
तिम्रा लागि
आरन भन्दा रापिला प्रश्नहरू छन्
घन भन्दा गह्रौं घृणा छ
भाटी भन्दा पुरानो दर्द छ ।
ए, उच्च जात !
फलाम गल्ने यो आगोमा
पग्लिएन तिम्रो दोषी आत्मा
तरवार बनाउने मेरो सिपले
काटिएन कहिल्यै असमानताको पर्खाल
दुष्मन मार्ने हतियार बनाउँनै मै हुँ
तर मार्न सकिनँ तिम्रो संर्किणता ।
भन ए उच्च जात !
कहाँ छ दलितका लागि छुट्टै संसार
मेरो आरन बोकर म त्यहाँ जानेछु ।
संयोगवश्
मानबहादुरकै आँगन भएर
उसकै आवाज हराउने गरी नारा घन्किरहेको छ–
स्टप किलिङ दलित !
स्टप डिस्क्रिमिनेशन !
अन्तरजातिय प्रेमको सम्मान गर !
तर
मानबहादुर प्रश्न गर्छ–
‘के यि नाराहरुले अव अरु नवराजहरुको हत्या रोकिन्छ ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया