काठमाडौं । श्रीमद्भगवद्गीता ज्ञान योग र ध्यान योगको अतिरिक्त भक्तियोगको रहस्य समेतलाई प्रकट गर्ने विलक्षण ग्रन्थ हो ।
गीताको आदि,मध्य र अन्त्य समग्रमा प्रायः यी तीनै योग वा पक्षहरुको सम्मिश्रण पाईन्छ ।
समस्त कामनाहरु परित्याग गरेर नित्यतृप्त एवम् निराश्रय र निःस्पर्श भई आफ्नो स्वरुपमा स्थित हुनु ज्ञानयोग हो,यसैलाई व्राह्मी स्थिति भनिन्छ ।
निःस्वार्थ भावले निस्काम कर्म गर्नु कर्मयोग हो । परमेश्वरप्रति अगाथ प्रेम राखेर गरिने समर्पण भाव नै भक्तियोग हो ।
यसबाट नवधा भक्तिको भावना प्रकट हुन्छ र भक्तजन परमेश्वरका भजन,किर्तन सेवा गरेर भगवानको सच्चा भक्त बन्न सक्दछ ।
भगवद्गीतामा निष्काम कर्म योग र भक्तियोग पृथक तत्व नभएर दुबै एक अर्काका परिपूरक छन् र दुबैमा अन्योन्याश्रित सम्बन्ध छ ।
निष्काम भावले सम्पन्न गरिने कर्म कर्मयोग हो भने त्यो शुभाशुभ कर्म परेमेश्वरमा अर्पण गर्नु भक्तियोग हो ।
श्रीमद्भागवद्महापुराण जस्तै भगवद्गीता पनि एक भक्तिप्रधान ग्रन्थ भएकोले यस भित्र पाईने कर्मयोग र ध्यानयोग,ज्ञानसम्बन्धी रहस्यहरु पनि भक्तिको धारबाट अलग रहन सक्दैनन् ।
भगवान श्रीकृष्णले कर्म गर्दा फलेच्छाको कारण नवन,ममा चित्त लगाई अनाशक्त भई समर्पण भावले कर्तव्यकर्म गर,त्यसैबाट परमसिद्धि प्राप्त हुन्छ भनि व्यक्त गर्नु भएका अभिव्याक्तिहरुले यसको पुष्टि गर्दछन् ।
भगवान श्रीकृष्ण आज्ञा गर्नुहुन्छ ।
सर्वधमान् परित्यज्य मामेंक शरणम् वज्र ।
अहं त्वा सर्वभापेभ्यो मोक्षयिष्यामि मा शुचः ।।
अरु समग्र कुरा त्यागेर मेरो शरणमा पर । म समस्त पापबाट छुटाई मोक्ष गर्नेछु । भगवद्गीतामा परेमेश्वर प्राप्तीका विविध उपायहरु देखाईएका छन् , कसैले परमेश्वरलाई आफ्नै हृदयमा ध्यानयोगद्धारा देख्दछन् र कोही ज्ञानयोग र कर्मयोग द्धारा ।
ज्ञानयोग र भक्तियोग दुबै मार्ग ईश्वर प्राप्तिकै साधन हुन् । ज्ञानमार्गका साधकहरु अव्यक्त एवम् निर्गुण निराकार व्रह्मको उपासना गर्दछन् भने भक्तियोगका साधकहरु प्रायःसाकार परमेश्वरको ।
भगवद्गीताको १२ औँ अध्यायले सामान्य मानिसका लागि अव्यक्त व्रह्मको उपासना पद्धति ज्यादै कठिन र क्लेशदायक एवम् दुःख कर पनि छ भनेर बताईएको छ ।
ज्ञानमार्गका उपासकहरुले कठोर तपोमय अनुशासनमा रहेर परव्रम्मको साक्षत्कारमा प्रयत्नरत रहनुपर्दछ र यस मार्गका साधकले सफलता पाउन सबै ईन्द्रियहरु नियन्त्रण गरेर अनिर्देश्य एवम् अनिर्वचनिय व्रह्मको उपासना गर्नुपर्दछ ।
यस्तो प्रयत्नबाट पनि चित्तको चञ्चलताले अव्यक्तमा मन स्थिर रहन सक्दैन । त्यसैले निगुर्ण निराकार व्रह्मको उपासना–पद्धति अत्यन्त कष्टकर छ र नपढेका वा अज्ञानि व्यक्तिका लागि झन् दुष्कर छ । तर भक्तिमार्गको उपासना पद्धति भने अत्यन्त सुगम र सरल छ ।
यस मार्गमा शिक्षित,पण्डित,ज्ञानी, विद्वान व्यक्तिदेखि लिएर अशिक्षित र अज्ञानी सबै भक्तजन अट्न सक्ने हुँदा भक्तियोगको मार्ग सहज र फराकिलो छ ।
भक्तियोग भगवद्गीताको एउटा प्रमुख पक्ष हो । प्रायःयसको कुनै पनि अध्याय भक्तिरहित छ भन्न सकिँदैन ।
यसको प्रारम्भ,मध्यभाग र अन्त्य सर्वत्र भक्तिले नै छाएको छ । छैटौँ अध्यायको अन्तिम श्लोकमा भनिएको छ – समस्त योगीहरुमा त्यही श्रेष्ठ योगी हो,जो भक्तिभावद्धारा मेरो भजन गर्दछ, र भगवद्गीताको अन्तिममा श्रीभगवान कृष्ण आज्ञा गर्नुहुन्छ हे अर्जुन तिमी मेरो भक्त बनेर मेरो पूजा गर,मलाई नै नमस्कार गर ।
सबै कुरा छोडेर मेरै शरणागत होऊ,म तिमीलाई सबै पापबाट मुक्त गर्दछु । यहि नै भगवद्गीतामा पाईने शरणगतिरुप भक्तिभावको सर्वोच्च अभिव्याक्ति र अनुपम चित्र हो ।
भगवद्गीताको बाह्रौँ अध्यायले भक्तिमार्गको विशेषता र भगवद्भक्त पुरुषहरुको विशेष लक्षणहरुको शसक्त एवम् सारगर्भित ज्यादै मार्मिक चित्र प्रश्तुत गरेको छ । मानव सेवा,भगवद् ,उपसना,त्याग,दया,करुणा,आज्ञाकारिता,आत्मसमर्पणभाव जस्ता कुराहरु भक्तिभावमा पाईने विशेष गुण हुन् ।
भगवद्गीताका अनुसार प्राणीमात्रमा द्वेष नगर्ने, सवैमा मैत्रीभाव राख्ने,प्राणीहरुमा दया र करुण देखाउने,ममता र अहंकार नभएको,दुःख सुखमा समभाव राख्ने,सदा सन्तुष्ट रहने,जितेन्द्रिय,दृढ निस्चयी,आफ्नो मन वुद्धि परमेश्वरमा नै समर्पण गर्ने महापुरुष नै सच्चा भक्त हो ।
यस्ता भक्तको ह्दय,अभिलाषा र कामनारहित हुनुपर्दछ र यस्ता भक्तजनले भय,हर्ष,उद्वेग,अमर्ष आदिबाट प्रवाहित नभनी अहंकार,अभिमान,द्वेष र वैरभाव आदिको त्याग गर्नुपर्दछ ।
ज्यो.दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया