म्याग्दीका विद्यालयमा पाठ्यपुस्तक वितरण

गलेश्वर । हिमाली जिल्ला म्याग्दीका विद्यालयले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थीलाई पाठ्यपुस्तक वितरण शुरु गरेका छन् ।

जनक शिक्षा सामग्री केन्द्रको पोखरा, शिक्षा तथा समन्वय एकाइ म्याग्दी र जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ जिल्ला शाखाले सबै सामुदायिक विद्यालयको कक्षा १–१० सम्मका पाठ्यपुस्तकहरु उपलब्ध गराउन थालेको छ ।

महासङ्घको जिल्ला शाखाले स्थानीय तहमा पाठ्यपुस्तकको डिपो स्थापना गरी विद्यालयलाई पुस्तक वितरणको व्यवस्थापन मिलाएको हो । आवश्यक सबै विषयको पाठ्यपुस्तकहरु विद्यालयमा पठाइसकिएको शिक्षा तथा समन्वय एकाइका प्रमुख दलबहादुर थापाले बताए ।

हालसम्म जिल्लाको ९० प्रतिशतभन्दा धेरै विद्यालयहरुमा पाठ्यपुस्तक पुगिसकेको र वितरण शुरु भएको महासङ्घका निवर्तमान अध्यक्ष ठाकुरप्रसाद शर्माले जानकारी दिए ।

सङ्घीयताको कार्यान्वयनसँगै कक्षा १ देखि ५ सम्म पालिकाहरुले स्थानीय पाठ्यक्रम समेटिएको विषय निर्माण गरी अध्ययन तथा अध्यापनको तयारी थालेका छन् । जिल्लामा सञ्चालित विद्यालयहरुमा विद्यार्थीको उत्तीर्ण दरको तथ्याङ्कका आधारमा कक्षागत रुपमा पाठ्यपुस्तकको व्यवस्था गरिएको छ । जिल्लामा कूल दुई सय ३८ वटा विद्यालय सञ्चालनमा छन् ।

खरको छाना विस्थापित

म्याग्दीको बेनी नगरपालिकाले नगर क्षेत्रभित्रका आर्थिक रुपमा विपन्न ९४ घरपरिवारको खरको छाना विस्थापित गरेर टिनको छाना फेरिदिएको छ ।

चालू आर्थिक वर्ष २०७६/७७ को वार्षिक नीति, कार्यक्रम तथा बजेटमार्फत विपन्नको घरघरबाट खरको छाना हटाएर जस्तापाताले छाना छाउन सहयोग गरेको हो ।

नगरपालिकाले ‘ड्रिम प्रोजेक्ट’ का रुपमा अगाडि बढाएको कार्यक्रमअनुसार बेनपा–३, भकिम्लीमा मात्रै कूल ६१ जना विपन्नको घरपरिवारमा खरको छाना हटाएर टिनको छानाले छाएको वडाध्यक्ष पदमबहादुर पुनले जानकारी दिए । ती मध्ये २१ एकल महिला रहेको छन् ।

वर्षौंदेखि खरको छानामुनि कष्टपूर्ण दिन बिताइरहेका नगरपालिकाअन्तर्गत विभिन्न ठाउँमा रहेका विपन्न घरधुरीमा नगरपालिकाले पूर्ण अनुदानमा जस्तापाता फेरिदिएको हो । छाना जडान भएसँगै राहत मिलेको स्थानीयवासीले बताएका छन् । नगरपालिकामार्फत नमूना योजनाका रुपमा टिनको छाना छाउने कार्यक्रम ल्याएपछि जनता उत्साहित भएको उनको भनाइ छ ।

खरले छाएको छानोबाट बर्खायाममा पानी चुहिएर समस्या भोग्दै आएका नगर क्षेत्रभित्रका आठवटा वडामा चालू आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गरिएको थियो । नगरपालिकाभित्र करीब एक सय घरधुरीमा खरको छाना हटाएर जस्तापाता उपलब्ध गराउने गरी तथ्याङ्क सङ्कलन गरी जस्तापाताले खरको छाना विस्थापित गरिएको छ ।

प्रतिव्यक्ति न्यूनतम २० देखि ५५ हजार रुपैयाँसम्म अनुदान उपलब्ध गराइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले नगरपालिकाको १० वटा वडामा विपन्नको घरधुरीमा खरको छाना हटाएर सुरक्षित बसोबास व्यवस्थापनका लागि कार्यक्रम अगाडि सारिएको बताए ।

वडामार्फत सङ्कलन गरिएको विवरणअनुसार प्राविधिकले स्थलगत अनुगमन गरी आवश्यक लागत तयार गरेपछि मात्रै जास्तापाता उपलब्ध गराएकाले वास्तविक पीडितले नै राहत पाएको नगरपालिकाले दाबी गरेको छ । आउँदो आर्थिक वर्षमा पनि विपन्नको घरमा खरको छाना हटाएर टिन राख्ने कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ ।

समुदायमा दलित, असहाय, विपन्न परिवारलाई वडास्तरबाट समेत जस्तापाता छाउने कार्यमा सहयोग गरिएको छ । जस्तापाता खरीद र ढुवानीमा नगरपालिकाले बजेट प्रदान गरेको छ । घर छाउने काम घरधनी आफैँले गरेका छन् । खरको छाना हटाएर टिनको छानाले छाएपछि विपन्न परिवार खुशी देखिएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?