सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रस्तुत गरेको आव २०७७र७८ बजेटमाथि छलफल शुरु भएको छ ।
कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको १४औँ बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले राजश्व र व्यय अनुमानसहितको आगामी आवको बजेट छलफलका लागि सभासमक्ष प्रस्ताव गरेसँगै बुधवारदेखि बजेटमाथि छलफल शुरु भएको हो ।
छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेपाल काँग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारले ल्याएको बजेटमा चिन्ता बढी र चिन्तन कम भएको टिप्पणी गरे। बजेट महामारी, भोकमरीका लागि ठीकै भए पनि रोजगारी शङ्का देखिएको नेता शाहीले तर्क गरे ।
“कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले आगामी आवका लागि ल्याएको दुई अर्ब ७७ करोड रुपैयाँ बजेट स्वागतयोग्य र प्रशंसनीय छ”, उनले भने, “यसले यहाँका नागरिकको दीर्घकालीन स्वास्थ्य उपचारमा सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।”
बजेट कविताजस्तो भएको टिप्पणी गरेका उनले यसलाई अर्थशास्त्रीय ढङ्गबाट प्रस्तुत गर्न आग्रह गरे ।
जनप्रतिनिधि र उनका परिवार उपभोक्ता समिति बस्न नपाउने भन्ने कुरा निकै राम्रो भएको जनाउँदै नेता शाहीले ठूला पार्टीका जिल्ला, गाउँ कार्यसमिति सदस्य र तिनका परिवारका सदस्यलाई पनि प्रतिबन्ध लगाउन सरकारलाई सुझाए । त्यस्तै, सदस्य हिमबहादुर शाहीले सभा सदस्यले दिएका सुझाव ग्रहण गरेर अगाडि बढ्न अनुरोध गरे ।
सत्तापक्षका प्रदेशसभा सदस्य देवी ओलीले, कौशिला खत्रीले समानीकरण र राजश्व बाँडफाँटमा यस प्रदेशका महिलालाई बजेटको पाँच प्रतिशत विनियोजन गर्नुपर्नेमा जोड दिए ।
सदस्यद्वयले प्रत्यक्ष र समानुपातिक सदस्य भनेर विभेद नगर्न सरकारलाई आग्रह गरे । प्रदेशसभा सदस्य अमरबहादुर थापा र पदमबहादुर रोकायले सरकारले ल्याएको बजेट अपेक्षित भएको जनाउँदै यसको प्रभावकारी कार्यान्वयन ध्यान दिन सुझाएका थिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया