एसईई नतिजा असार ३० गतेसम्म बोर्डमा पठाउन निर्देशन

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्यांकनबाट निकालिएको नतिजा आगामी असार ३० गतेसम्म परीक्षा नियन्त्रण कार्यालयमा पुर्‍याउन राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण राकिएको एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधि मार्फत नतिजा सार्वजनिक गर्ने निर्णय सरकारले गरेको थियो ।

बोर्डले भनेको छ, ‘शिक्षा विकास तथा समन्वय इकाईहरूले विद्यालयबाट प्राप्त प्राप्ताङ्क विवरण र मूल्याङ्कन समितिद्वारा प्रमाणित गरी पठाइएको प्राप्ताङ्क तालिका भिडाई, प्रयोगात्मक र सैद्धान्तिक अंक भरे नभरेको, पूर्णाङ्कअनुसार मिले नमिलेको तथा विवरण प्राप्त भएका विद्यार्थीहरूको राजस्व दस्तुर बुझाए नबुझाएको यकिन गरी तीनैप्रति प्रमाणित गरी सफ्टकपि अपलोड गर्ने र मूल्याङ्कन समितिद्वारा प्रमाणित गरी पठाएको प्राप्ताङ्क तालिकाको एक प्रति विद्यालय कोडको क्रम मिलाई असार ३० गतेभित्र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा छिटो साधनद्वारा पठाउनु पर्नेछ’ ।

गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षका लागि एसईई सञ्चालन नगर्ने निर्णय गरेपछि विद्यालयका प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक र सम्बन्धित माध्यमिक तहका शिक्षकहरूमध्ये नियुक्तिका आधारमा सबैभन्दा ज्येष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्याङ्कन समितिलाई मूल्याङ्कनको अधिकार दिइएको थियो ।

देश भरका विद्यालयहरूले भने असार २० गतेभित्रै शिक्षा विकास तथा समन्वय इकाईमा पठाउनु पर्नेछ ।
साथै विद्यालयहरूले ‘माध्यमिक शिक्षा परीक्षा कक्षा १० को विद्यार्थी मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७’ को आधारमा नतिजा तयार पार्नुपर्नेछ ।

उक्त मूल्यांकन समितिले तयार पारेको आन्तरिक मूल्यांकनको नतिजाको आधारमा नै बोर्डले प्रमाणपत्र विध्यार्थीहरुलाई उपलव्ध गराउँनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?