आईएफसीबाट २५ मिलियन डलर भित्र्याउँदै एनएमबि बैंक, कुन कुन क्षेत्रमा खर्च गरिन्छ ?

काठमाडौं । एनएमबि बैंकले दुई वर्षका लागि आईएफसीबाट २५ मिलियन अमेरिकी डलर बराबरको कर्जा भित्र्याउने भएको छ । कोरोनाका कारण समस्यामा परेका साना तथा मझौला व्यवसायको प्रवद्र्धनका लागि उक्त रकम खर्च गरिने बैंकले जनाएको छ ।

विदेशी वित्तीय संस्थाबाट नेपालमा लगातार यसखालको कर्जा भित्र्याउनेमा एनएमबी बैंक अग्रस्थानमा रहँदै आएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृत सुनील केसीका अनुसार आईएफसीबाट प्राप्त हुने उक्त कर्जाले प्राथमिकता प्राप्त क्षेत्रहरु, साना तथा मझौला कर्जा र सौर्य परियोजनालगायत नवीकरणीय ऊर्जाको प्रवद्र्धनमा सहयोग पुग्नेछ ।

उक्त कर्जा भित्र्याउनेसम्बन्धी द्विपक्षीय सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत केसी र आईएफसीका कार्यवाहक आवासीय प्रतिनिधि सन्तोष पाण्डेले हस्ताक्षर गरेका छन् । विशेष गरी नेपालको ऊर्जा तथा साना र मझौला उद्योगको प्रवद्र्धन र विकासमा एनएमबी बैंकले उल्लेख्य लगानी गर्दै आएको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र रही कृषि, ऊर्जा र पर्यटनको क्षेत्रमा निरन्तर लगानी गर्दै आएको बैंकले कोरोनाका कारण समस्यामा परेका क्षेत्रलाई विशेष प्राथमिकतामा राखी कर्जा विस्तार गर्ने योजना अगाडि सारेको छ । आईएफसीबाट लिइएको कर्जासमेत नयाँ उद्यमीको खोजीमा परिचालन गरिने प्रमुख कार्यकारी अधिकृत केसीले राससलाई जानकारी दिए ।

आईएफसीबाट लगातार कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक एनएमबी भएको छ । उक्त वैदेशिक लगानी कोरोनापछिको अवस्थामा वाणिज्य बैंकलाई प्रदान गरिएको पहिलो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?