चिनामा चन्द्रमा कमजोर छ भने यसरी चम्काउनुहोस् भाग्य !

काठमाडौं । चन्द्रमालाई सौम्य ग्रहका रूपमा लिइन्छ । चन्द्रमालाई राज्यमा रानीको पद प्राप्त छ भने उच्च पोष्ट तथा कार्यकारी पदको कारक मानिन्छ । बारमा सोमवार, कर्कट राशि, रोहिणी, हस्ता र श्रवण नक्षत्रको स्वामी चन्द्रमा हो ।

चिना तथा कुण्डलीमा चन्द्रमाको महादशा जा मंगलको दशा चलेको छ भने सज्जनहरुको सङ्गत हुन्छ, मन मनोरञ्जनमुखी हुन्छ, भावुकता र प्रेमको उदय हुन्छ, घरमा शुभ तथा मांगलिक कार्यहरु हुन्छन् , शत्रुमाथि विजय हुन्छ र घरजग्गा तथा सवारी साधनको कारोबार हुन्छ,घरमा लक्ष्मीको आगमन हुन्छ ।

त्यस्तै तपाईको जन्मकुण्डलीमा चन्द्रमाको शुभ प्रभाव बढाउनु छ र अशुभ प्रभाव निवारण गर्नु छ भने तलका उपायलाई अवलम्बन गर्दा राम्रो हुन्छ ।

१ – चन्द्रमाको शुभत्व प्राप्त गर्न जुनेली रातमा (शुक्लपक्षको अष्टमीदेखि कृष्णपक्षको सप्तमीसम्म) राती चन्द्रप्रकाशमा हिँडडुल गर्ने र अबेरसम्म जागा रहने गर्ने बानीको विकास गर्नुपर्दछ । तर रातीको समयमा घरको छेउछाउमा मात्र घुमफिर गर्नुपर्छ, तर लामो दुरीको यात्रा गर्नुहुन्न ।

२ – तपाईको बेड (सुत्ने ओछ्यान) मा चन्द्रमाको प्रकाश वा किरण छिर्ने हुनुपर्छ ।

३ – घर वरपर फोहोर, फोहोर तरल पदार्थ, प्रदूषण हुनुहुँदैन । अर्थात घरवरिपरिको वातावरण सफा राख्नुपर्दछ ।

४ – रोहिणी, हस्ता वा श्रवण नक्षत्र अथवा सोमवार वा पूर्णिमाका दिन परेको वर्षाको पानी सेतो काँचको बोतलमा भरी ओछ्यानको सिराने भागमा सधैँ राख्ने व्यवस्था गरेमा पनि चन्द्रमाको दुष्प्रभाव शान्त हुन्छ ।

५ – वर्षमा एक पटक कुनै तीर्थस्थल वा तलाउ, सरोवर आदिमा गई स्नान गर्ने बानीको विकास गर्नुपर्दछ ।

सोमवार र औँसी वा पूर्णिमाका दिन दूध, दही वा दुग्धजन्य पक्वान्नको सेवन गर्नुहुँदैन । त्यसै गरि प्रत्येक दिन प्रातःकालमा सेतो फूल फुल्ने बोटबिरुवाको फेदमा शुद्ध जलले सिञ्चन गर्नु पर्दछ ।

८ – चन्द्र ग्रहको ऊर्जा प्राप्त गर्न दैनिक रुपमा माताजीको आशीर्वाद प्राप्त गर्ने र प्रातःकालमा भगवती लक्ष्मीको आराधना गर्ने बानी विकसित गर्नु पर्दछ ।

९ – प्रत्येक सोमवार भगवान् शिवको आराधना गरी प्रत्येक महिनाको पूर्णिमाका दिन कुनै सधवा स्त्रीलाई दही वा खीर खान दिएमा पनि लाभ हुन्छ ।

१० – सोमवारको व्रत लिएर मङ्गलवारका दिन बिहानै सेतो कपडा, चामल, सेतो पक्वान्न, दही, सेतो कपडा आदि सेतो पदार्थको दान गर्नुपर्छ ।

११ – प्रत्येक सोमवारका दिन शिवालयमा गई शिवलिङ्गमा पञ्चामृतले स्नान गर्नुपर्दछ ।

१२ – चन्द्रमाको शान्तिका निमित्त पञ्चगव्य, बेलगिरी, गजमद, शंख, सिपी, सेतो चन्दन, स्फटिक आदि जलमा राखेर त्यस जलले स्नान गर्दा शुभ फल प्राप्त हुन्छ ।

१३ – भगवान् शिवजीको पूजा, आराधना, व्रत, तीर्थका माध्यमबाट पनि चन्द्रमाको अनीष्ट निवारण हुन्छ ।

१४ – पूर्णिमाको नियमित व्रत वा प्रदोषको व्रतबाट पनि चन्द्रमाको दुष्प्रभावलाई कम गरी शुभ प्रभावलाई बढाउन सकिन्छ ।

यी व्यवहारिक उपाय सबै वा कुनै इच्छानुसार प्रयोग गर्न सकिन्छ र चन्द्रमाको दुष्प्रभाव निवारणका निमित्त गरिने उपाय सर्वप्रथम सोमवार का दिन, चन्द्रमाका नक्षत्र (रोहिणी, हस्ता र श्रवण) वा चन्द्रमाको होरामा अवलम्बन गरेमा बढी शुभफल प्राप्त हुन्छ ।

चन्द्रमा ग्रहको वैदिक र तान्त्रिक शान्तिविधि

चन्द्रमाको आराधनाका लागि पूजा लगाउँदा रूद्राभिषेक र हवनको आयोजना गरी मुख्यदेवताको विशेष पूजा, नवग्रह पूजा, तलका मध्ये कुनै मन्त्रको तोकिएको सङख्यामा जाप र दानसामाग्री दान गर्ने वैदिक विधान छ

मुख्यदेवता – त्रिपुरारि भगवान् शङ्कर ।

वैदिक मंत्र – ॐइमं देवा असपक्त्न ℧ सुवध्वं महते क्षत्राय महते ज्यैष्ठाय महते जानराज्यायेन्द्रस्येन्द्रियाय । इमम्ममुष्य पुत्रम्ममुष्यै पुत्रमस्यै विश एषवोऽमी राजा सोमोऽस्माकं व्राह्मणाना ℧ राजा ।

पुराणोक्त मन्त्र – ॐ दधिशङ्खतुषाराभं क्षीरोदार्णव सम्भवम् । नमामि शशिनं सोमं शम्भोर्मुकुटभूषणम् ।।

चन्द्र गायत्री मन्त्र – ॐ अमृताङ्गाय विद्महे कला रूपाय धीमहि तन्नो सोमः प्रचोदयात् ।

तन्त्रोक्त बीज मन्त्र – ॐ श्रां श्रीं श्रौं सः चन्द्रमसे नमः ।

लघु बीज मन्त्र – ॐ सों सोमाय नमः ।

चन्द्रमालाई अर्घ्य दिने मन्त्र – क्षीरोदार्णवसम्भूत अत्रिगोत्रसमुद्भव । गृहाणार्घ्यं शशांकेदं रोहिण्या सहितो मम ।।

चन्द्रमाको जापको संख्या ११०००

चन्द्र रत्न – चन्द्र ग्रहको अशुभता हटाउन ४ क्यारेट मोती रत्न चाँदीको औँठी बनाई दाहिने हातको कान्छी औँलामा धारण गर्नुपर्दछ ।

चन्द्रमाको दान सामाग्री – घिउ, सेतो कपडा, सुन, मोती, शङ्ख, दही, चाँदी, श्रीखण्ड, कपूर, चामल, जनै, सेतो चामर, सेतो साँढे ।

चन्द्र यन्त्र – चन्द्रमाको शुभफल प्राप्त गर्न चन्द्रमाको होरामा चाँदीको पत्रमा चन्द्र यन्त्र खोप्न लगाई अथवा अष्टगन्धले भोजपत्रमा लेखेर विधिवत् प्राणप्रतिष्ठा र पूजा गरी घाँटीमा वा दाहिने हातको पाखुरामा धारण गर्नुपर्छ ।

ज्यो.दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?