ठप्प छ चुरा पोतेको व्यापार, व्यापारी भन्छन्- ‘परिवार कसरी पाल्ने ?’

काठमाडौं । विगतका वर्षमा साउन महिना शुरु भएसँगै भरिभराउ हुने इन्द्रचोक र असन क्षेत्रका चुरा पोतेका पसलमा अहिले चहल पहल देखिदैन ।

काठमाडौंको मुख्य र पुरानो व्यपारिक स्थानका रुपमा रहेको ती क्षेत्रका चुरापोतेका पसलमा महिलाको चहलपहल छैन । बन्दाबन्दीले अन्य व्यापार व्यवसायमा जस्तै त्यहाँको चुरा पोतेको व्यापारमा पनि असर पुर्‍याएको छ । खरिद गर्ने मानिस आउनै छाडेपछि पसल खोलेर कुरेको मात्र भएको व्यापारी सविर अहमद बताउँछन् । उनी प्रश्न गर्छन्, “व्यापार नै छैन कसरी परिवार चलाउने ?” मल्ल कालदेखिको पुख्र्यौली पेशा धान्दै आएका उनी इतिहासमा कहिल्यै यस्तो अवस्था नआएको जिकिर गर्छन् ।

पोतेको व्यापार गर्दै आएका उनी विगतका वर्षमा मानिसको अत्याधिक भिडभाड हुने गरेको स्मरण गर्छन् । उनी भन्छन्, “अब व्यापार कहिले सामान्य अवस्थामा आउने हो, पत्तै छैन ।” विवाहको लगनमा मात्र पोतेको व्यापार भएको अहमदले बताए । उनी जस्तै त्यहाँका अर्का चुरा व्यापारी सुस्मिता चौधरीको दिनचर्या पनि उस्तै छ । विगतका वर्षमा दैनिक झण्डै ५० हजारको व्यापार हुने गरेकामा अहिले एक हजारको पनि व्यापार नहुने गरेको बताउछन् । “व्यापारले घरभाडा जुटाउन पनि मुस्किल छ”, उनले भने । सङ्क्रमणको डरले मानिसको सङ्ख्यामा कमी आएको उनको ठम्याइ छ । बन्दाबन्दीमा सामान कम आउने भएकाले मूल्य पनि केही वृद्धि भएको उनले बताए । जोखिम मोलेरै पसल खोले पनि दिनभर यसै बस्नुपर्ने अवस्था रहेको चौधरीको दुखेसो छ ।

व्यापार नभएका कारण परिवार धान्नै मुस्किल भएको अर्का व्यापारी आलोक मल्लले जानकारी दिए । उनी भन्छन्, “दैनिक उपभोग्य वस्तुको मूल्य बढेको बढै छ, ऋण गरेर चल्नुपर्ने अवस्था छ ।” यस्तै अवस्था आए भोकभोकै मर्नुपर्ने स्थिति आउने उनको बुझाइ छ । सङ्क्रमणको नाममा मनपरीतन्त्र बढेको उनको आरोप छ । “जनताप्रति सरकार उत्तरदायी छैन भने गणतन्त्र आउनुको के अर्थ ?”, उनको प्रश्न छ । कोरोनासँगै समाजमा मनोवैज्ञानिक त्रास बढ्दै गएको उनी बताउँछन् । राजनीतिक खिचातानीलाई छाडेर सरकारले जनताको अवस्थालाई बुझी नयाँ विकल्प खोजी हाल्नुपर्ने अवस्था रहेको उनको सुझाव छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?