काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो डिजिटल फस्ट बैंक बन्ने रणनीति अनुरुप कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे सुचारु गरेको छ ।
बैंकले अन्तर्राष्ट्रिय गेटवे प्रदायक कम्पनी Cybersource Inc. को गेटवे प्रणाली नेपालमा भित्र्याउँदै इच्छुक मर्चेन्टहरूका लागि जुनसुकै राष्ट्रिय तथा अन्तर्राट्रिय बैंकद्वारा प्रदान गरिएको कार्डहरूमार्फत भुक्तानी प्राप्त गर्न सक्ने प्रणाली सुचारु गरेको हो ।
अमेरिकाको बहुराष्ट्रिय कार्ड कम्पनी VISA को प्रमुख लगानी रहेको यस Cybersource Inc. को गेटवे प्रणाली यस बैंकले नेपालमा पहिलोपटक ल्याएको हो । अमेरिका, चीन, भारत लगायत एशिया, युरोप र अफ्रिकाका विभिन्न देशहरूमा प्रयोग भइरहेको यो गेटवे प्रणाली आफ्नो उच्च सफलता दर र निर्वाध भुक्तानीका लागि विश्वजगतमा प्रतिष्ठित छ ।
यस सुविधामार्फत ठूलो संख्यामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड प्रयोगकर्ताहरूसँग देशमा रहेका विभिन्न मर्चेन्टहरूले व्यवसायिक सम्बन्ध कायम गरी सोझै आफ्नो एन आई सी एशिया बैंक खातामा भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
यस सुविधाले विशेषगरि अनलाइन प्लेटफर्ममा आधारित E-commerce, Travel and Tours, हवाई उड्डयन, युटिलिटी सेवा प्रदायक, भुक्तानी सेवा प्रदायक, पर्यटन व्यवसायी, एडभेन्चर तथा मनोरञ्जन, हस्तकला लगायतका व्यवसायीहरूलाई भुक्तानी प्रणालीमा नयाँ आयाम थप्ने विश्वास लिएको बैंकले जनाएको छ ।
नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्कलाई टेवा पु-याउँदै बैंकले आफ्नो डिजिटल फस्ट बैंक बन्ने दीर्घकालीन रणनीति अन्तर्गत विभिन्न डिजिटल प्रविधि र सेवा प्रदान गर्दै अग्रपंक्तीमा रहिआएको बैंकले जनाएको छ । यस पेमेन्ट गेटवे प्रविधिमार्फत बैंकले आफ्ना मर्चेन्ट तथा सम्पूर्ण ग्राहकहरूलाई प्रदान गर्दै आएको डिजिटल सेवालाई थप प्रगाढ बनाएको छ । यस गेटवे प्रणालीबाट हालका लागि VISA Card मार्फत कारोबार गर्न सकिने छ भने बैंकले निकट भविष्यमै Mastercard, UnionPay लगायतका कार्डमार्फत समेत कारोबार गर्न सकिने तयारी गरिरहेको बैंकले जनाएको छ ।
बैंकका अनुसार डिजिटल फस्ट बैंक बन्ने आफ्नो दीर्घकालीन रणनीति अनुरूप ग्राहकहरूको संख्यामा विस्तार गर्ने लक्ष्यलाई मुर्तरूप दिँदै गत आर्थिक वर्षमा मात्रै ४ लाख ८४ हजार नयाँ ग्राहक संख्या थप्न सफल भइ कुल २२ लाख ग्राहकहरूमाझ यस बैंकले सेवा विस्तार गर्न सफल भएको छ ।
बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २२ लाख भन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया