अत्यावश्यक सेवा नरोक्न र एटिएममा प्रशस्त नगद राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई अत्यावश्यक सेवा नरोक्न तथा एटीएममा प्रशस्त नगद राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

देशमा कोरोना संक्रमणको दर बढ्दै गएको अवस्थामा आज राति १२ बजेबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । भने कतिपय जिल्लामा लकडाउन नै गरिएको छ ।

जसबाट सर्वसाधारणहरुलाई समस्यमा पर्न सक्ने भन्दै बुधबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले बैंकहरूलाई एटिएम मेसिनमा पर्याप्त नगद राख्न र त्यसको निगरानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न स्थानमा निषेधाज्ञा जारी भएको अवस्थामा स्थानीय प्रशासनको आदेशको पालन गर्दै बैंक तथा वित्तीय संस्थालाई न्यूनतम बैंकिङ सेवा सुचारु गर्न गराउन समेत राष्ट्र बैंकले आग्रह गरेको छ ।

कोरोना जोखिम न्यूनिकरणको लागि राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने कारोबारको सुनिश्चितता गरी आफ्ना ग्राहकहरुलाई सकेसम्म विद्युतीय माध्यमबाट कारोबार गर्न सूचित गराउन बैंकहरुलाई निर्देशन दिएको छ ।

अत्यावश्यक आपूर्ति सुनिश्चितता गर्न ड्राफ्ट, टीटी, प्रतितपत्र, ग्यारेन्टीजस्ता कारोबार सञ्चालन हुने व्यवस्था मिलाउनु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार बैंकहरूले सम्बन्धित स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि आलोपालो गरी न्यूनतम कर्मचारीबाट न्यूनतम शाखा खोलेर नगद भुक्तानी तथा जम्मा, बैंक ट्रान्सफर, चेक क्लियरिङजस्ता सेवा सुरु गर्न बैंकहरूलाई केन्द्रीय बैंकले निर्देशन दिएको जनाइएको छ ।

त्यस्तै खुला गरिएको शाखाको विवरण तथा सम्पर्क व्यक्तिको फोन नम्बर बैंकहरूले आफ्नो वेबसाइटमा अध्यावधिक गर्नुका लागि समेत राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ । भने बन्द रहने शाखाको मूल ढोकामा सर्वसाधारणले देख्ने गरी खुल्ने वैकल्पिक शाखाको विवरण टाँस गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?