कर्मचारी बाटामै रोकिएपछि बैंकको सेवा प्रभावित

काठमाडौं । गए रातिबाट जारी भएको निषेधाज्ञाका कारण बैंकहरुको सेवा प्रवाहमा समेत समस्या देखिएको छ ।

प्रहरीले अनावश्यक घर बाहिर निस्किने सर्वसाधारणसँगै बैंकका कर्मचारीहरुलाई समेत बाटोमै रोकेपछि सेवा प्रभावित भएको हो ।

सरकारले बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयमा न्यूनतम कर्मचारी राखेर सेवा सञ्चालन गर्न प्रशासनले भनेपनि बैंकका कर्मचारीलाई प्रहरीले बाटोमै रोकेपछि सेवा प्रभावित भएको हो ।

सरकारले न्यूनतम कर्मचारीको उपस्थितिमा न्यूनतम शाखा खोल्न अनुमति दिए पनि बैंक जान हिँडेका बैंकका कार्मचारीलाई बाटोमा रोकेको बैंकर्स संघले जनाएको छ ।

मुख्य कार्यालयमा बढीमा १० प्रतिशत कर्मचारीले सेवा दिने र सीमित ठाउँमा मात्रै शाखाहरु खोल्ने सहमति भएपनि प्रहरीले बाटोमै कर्मचारी रोकेपछि सेवा नै दिन सक्ने अवस्था नभएको संघले जनाएको छ ।

कर्मचारीहरु बाटोमा रोकिएपछि बैंकहरुको सेवा प्रवाहमा समस्या देखिएको छ । बैंकहरुले मुख्य गेट नै बन्द गरेका छन । जसका कारण ग्राहकहरु गेट बाहिर उभिएका छन । सिमित मात्रामा मात्रै बैंकका शाखाहरु खुला हुने सूचना पाएका ग्राहकहरु टाढा टाढाबाट आएर बैंकका गेट बाहिर उभिएर बसेका हुन् ।

बौद्ध जोरपाटीबाट प्रभु बैंकको मुख्य कार्यालयमा सेवा लिन आएका बलराम श्रेष्ठले महामारीको बेला टाढाबाट आउँदा पनि सेवा नपाउँदा दुःख भएको बताए ।

काठमाडौंमा ५ वटा शाखामात्रै खुला हुने जानकारी साथीमार्फत पाएको उल्लेख गर्दै उनले सबैभन्दा नजिक पर्ने मुख्य कार्यालय भएकाले आएको बताए ।

बैंकले कर्मचारीहरुलई बाटोमै रोकेका कारण कार्यालयहरु बन्द भएको जानकारी आफूलाई दिएको उनले बताए । भोली समेत कार्यालय खुल्ने नखुल्ने एकिन नभएको जानकारी आफूले पाएको उनले बताए ।

प्रशासनसँग काठमाडौं जिल्लामा ५, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी आठ वटा शाखा खोल्नदिने सहमति भएपनि त्यसो नभएको संघको भनाइ छ । प्रहरीले अनावश्यक रुपमा बाहिर निस्किनेलाई होल्डमा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?