कर्णाली । कर्णालीमा कोरोना महामारीको जोखिम बढ्दै गएपछि नियन्त्रणमा लिन सकस भएको छ ।
पछिल्लो समयमा जुम्ला जिल्ला यसबाट बढी प्रभावित भएको छ । कोरोना संक्रमितको संख्या बढ्दो अवस्थामा पुगेपछि जिल्लामा तीन दिनदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । बिहीबार प्रमुख जिल्ला अधिकारीसहित त्यहाँका उद्योग व्यवसायी, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी गरी सात जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले जुम्लामा त्रास फैलिएको छ ।
जिल्ला प्रशासनका कार्यालयले यसअघि नै जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट जिल्ला समन्वय समितिसहित यहाँका आठैवटा स्थानीय तहका जनप्रतिनिधि, प्रहरी र नागरिकलाई विभिन्न ठाउँमा हुने अनावश्यक भेला, जमघट, भिडभाडलाई रोक्न अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए ।“जिल्लामा कोरोना सङ्क्रमणको अवस्थालाई भयावह हुन नदिन र नागरिकको जीउधनको सुरक्षा गर्न निषेधाज्ञा जारी गरिएको छ”, उनले भने, “मास्क लगाउन, अनावश्यक भिडभाड नगर्न र भौतिक दूरी कायम गरी घरायसी कामकाज गर्न अनुरोध गर्दा पनि नागरिकहरु अनुशासित भएको पाइएको छैन ।”
यद्यपि प्रशासन कार्यालयले गरेको निर्देशन र स्थानीयस्तरमा आफूहरुले दिएको सुझाव यहाँका नागरिकहरुले वास्ता नगरेको तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढाले जानकारी दिए । उनले भने, “यस महामारीमा कुनै पनि भिडभाड, जमघट र पैठ (मेला) नगर्न भनेर प्रेस विज्ञप्ति, सचेतनाका कार्यक्रमका साथै सूचना जारी गरिएको छ तर पनि यस्ता कार्यहरु रोकिएका छैनन् ।”
साविकको कर्णालीमा मष्टो मान्ने संस्कृतिले कोरोना सङ्क्रमणको प्रकोपमा पनि यहाँका नागरिकहरु संयमित भएको पाइँदैन । जिल्लाको तातोपानी, तिला, हिमा गाउँपालिकाका विभिन्न स्थानमा रहेका थानमा (मन्दिर) दैनिक पैठ (मेला) रोकिएनन् । यस समयमा सबैभन्दा बढी पैठ हिमा गाउँको जोगीवाडा, बाँजागाड, मच्च, ऐडावाडा, बड्की र देवारगाउँमा लागेको जनाइएको छ ।
तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले कोरोनाको प्रकोपमा थान (मन्दिर) पुजारीलाई सामान्य पूजाआजा गर्न भनिए पनि मेला लगाएका अनावश्यक मान्छेको भीड गरेको बताए । प्रेस विज्ञप्ति जारी गरेर सूचनाका साथै निर्देशन नमाने कारवाही गर्ने चेतावनी दिइएको उनले जानकारी दिए ।
प्रशासनले भेला, गोष्ठी नगर्न, भौतिक दूरी कायम गर्न, धार्मिक मेला नगर्न अनुरोध गरेको छ । यद्यपि पछिल्लो समयमा कोरोना सङ्क्रमणका कारण धार्मिक मेला बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धाँमीले जनशक्ति नै कमी भएकाले धार्मिक गतिविधि नियन्त्रण ल्याउन नसकिएको बताए।
जिल्लाको विभिन्न स्थानमा गरिएका मेलाले कोरोना सङ्क्रमणको डर भएको सरोकारवाला बताउँछन् । यस विषम परिस्थितिमा मेला, भेला गर्नु जो कोहीका लागि हानि हुने र सबै नागरिकले अनुशासित भएर सरकारको निर्देशन पालना गर्नुपर्ने नागरिक समाजका संयोजक राजबहादुर महतको भनाइ छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया