काठमाडौँ, २३ फागुन – गत शनिबार दिवंगत हुनुभएका भिक्षु धर्मपाल महास्थवीरको विधि विधानअनुसार आज अन्त्येष्टि गरिएको छ ।ललितपुरस्थित शाक्यसिंह विहारका प्रमुख धर्मपालको पार्थीव शरीर विहारबाट शवयात्रा गरी शंखमूल घाटमा थेरवादी बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।पार्थिव शरीरमा विभिन्न दलका नेतागण, श्रीलंका, म्यान्मा र थाइल्याण्डका राजदूतलगायतले श्रद्धाञ्जलि दिनुभयो । अन्त्येष्टिमा सहभागी हुन थाइल्याण्डबाट केही विशिष्ट भिक्षुसमेत आउनुभएको थियो ।अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रेय महास्थवीर, महासचिव भिक्षु कौडण्य महास्थवीर, चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी महास्थवीरलगायतले मृत आत्माको चिर शान्तिको कामना गर्दै पाठ (महापरित्राण वाचन) गर्नुभएको थियो ।अखिल नेपाल भिक्षु महासंघको व्यवस्थापनमा भएको अन्त्येष्टिमा भिक्षुहरूले सामूहिक दागबत्ती दिनुभएको थियो ।लामो समयसम्म बौद्ध दर्शनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धनमा क्रियाशील भिक्षुको ६२ वर्षको उमेरमा अर्वुद रोगका कारण निधन भएको थियो । अखिल नेपाल भिक्षु महासंघका पूर्वकेन्द्रीय सदस्यसमेत रहनुभएका धर्मपालले करिब पाँच दशकदेखि बौद्ध साहित्यको प्रचारप्रसारमा भूमिका निर्वाह गर्नुभएको थियो ।थाइल्याण्ड सरकारले उहाँलाई ‘च्रखु’ पदवीसमेत प्रदान गरेको थियो । उक्त पदवी तीन नेपाली भिक्षुले मात्र प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया